• १६ भदौ २०८१, आइतबार

बिदाले पेट्रोलियम आपूर्तिमा समस्या

blog

काठमाडौँ, जेठ १० गते । हप्ताको दुई दिन सार्वजनिक बिदा हुँदा बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । सोमबार काठमाडौँ उपत्यकाका अधिकांश पम्पमा डिजल पेट्रोल भर्ने सवारीसाधनको लामो लाइन थियो । नेपाल आयल निगमले शनिबार र आइतबार डिपो बन्द गरेपछि पम्पमा अभाव भएको हो तर पेट्रोलियम व्यवसायीले भने निगमले इन्धन बिक्री कटौती गरेको आरोप लगाएका छन् । 

आफूहरूले माग गरेजति पेट्रोल, डिजल नपाएको व्यवसायीको गुनासो छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भन्नुभयो, “व्यवसायीले मागेजति पाएका छैनौँ, निगमले अभाव गरायो । मूल्य वृद्धि गर्न मनोवैज्ञानिक दबाब दिँदै छ, बजारमा आपूर्ति बिक्री सहज भएन भने असन्तुलन हुन्छ ।”  प्रधानका अनुसार निगमले दुई हजार किलोलिटर माग गर्दा एक हजार दुई सय किलोलिटर दिएकाले बजारमा अभाव देखिएको छ । 

नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको आपूर्ति कटौती नगरिएको जनाएको छ । आइतबार र सोमबारको सार्वजनिक बिदामा डिपो बन्द हुँदा अभावजस्तो देखिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अभाव हुनुपर्ने कुनै कारण छैन, आपूर्ति सहज छ । मागअनुसार सप्लाई भएको छ तर खै किन हो व्यवसायीले माग बढाएका छन् । त्यो हामीले दिएका छैनौँ, पहिले जति हो त्यति नै दिएका छौँ ।” 

सोमबार डिपो खुलेपछि सप्लाई गरिएकाले मङ्गलबार बजार सहज हुने निगमले जनाएको छ । पुराना पम्पमा भण्डारण क्षमता कम भएकाले पनि अभाव भएको निगमको दाबी छ । प्रवक्ता उपाध्यायले भन्नुभयो, “पेट्रोलियम पदार्थको खपत घटाउने नै सरकारको नीति छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढिरहेको छ नेपालमा पनि अझ बढ्छ, आयात घटेको छैन तर शनिबार र आइतबार बिक्री वितरण नभएर हो ।”    

मूल्य वृद्धि फिर्ता गर्न माग 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गरेको छ । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विज्ञप्तिमार्फत मूल्य वृद्धि फिर्ताको माग गर्नुभएको हो । क्रान्तिकारीले आयल निगम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

उपभोक्ता अधिकारकर्मीले पनि सातामै दुई पटक मूल्य वृद्धि गरिएको भन्दै तत्काल फिर्ताको माग गरेका छन् । उपभोक्तालाई थप आहात बनाउने गरी मूल्य वृद्धि गरिएको भन्दै विरोध गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले इन्धन मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गर्नुभयो । 

सार्वजनिक यातायातको भाडा बढ्ने 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा वृद्धि हुने भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले भन्नुभयो, “गाडीभाडा समायोजनको स्वचालित मूल्य समायोजन गर्ने निर्णय पहिल्यै भइसकेको छ । पेट्रोलियमको मूल्य बढेपछि के गर्ने भन्ने कुरा विभागमा रहेको कमिटीले काम गर्छ ।”

वैज्ञानिक भाडादरको स्वचालित प्रणालीअनुसार इन्धनको मूल्यमा पाँच प्रतिशत थपघट हुँदा भाडादर समायोजन गर्नुपर्ने व्यवस्था छ । सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजनका लागि पेट्रोलियम पदार्थको हिस्सा ३५ प्रतिशत राखिएको छ, जसअनुसार डिजलपेट्रोलको मूल्य वृद्धिलाई आधार मानेर भाडा समायोजन हुनेछ । यातायात व्यवस्था विभागले जेठ ३ गते सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो । 

Author

लक्ष्मण दर्नाल