काठमाडौँ, पुस २३ गते । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि कैलालीको धनगढीमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताको मिति र खेल तालिका सार्वजनिक गरेको हो ।
क्यानका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्नेछन् । माघ १२ गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा नौ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ क्लब छ । यस्तै समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छ ।
आर्मीले पहिलो पटक प्रधानमन्त्री कप खेल्न लागेको हो । समूहमा एक अर्कासँग खेलेपछि शीर्ष दुई सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ ।