• २४ पुस २०८१, बुधबार

फोनिजका कोषाध्यक्ष गुरुङ युकेमा सम्मानित

blog

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का सङ्घीय कोषाध्यक्ष लाला गुरुङ सम्मानित हुनुहुँदै ।

लन्डन, पुस २३ गते । तमु समाज युकेले जनवरी ४ मा भव्यतासाथ तमु ल्होछार २०८१ मनाएको छ । यो वर्ष मुप्री ल्होलाई बिदाइ गर्दै सप्री ल्होलाई स्वागत गरेर तमु समुदायले ल्होछार मनाएको हो । सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का सङ्घीय कोषाध्यक्ष लाला गुरुङ सम्मानित हुनुभएको छ । 

सन् २००७ मा स्थापना भएको सो सस्थाले हरेक वर्ष लन्डनमा ल्होछार भव्यताकासाथ मनाउँदै आइरहेको छ । नयाँ पुस्तालाई गुरुङबारे आफ्नो भाषा, कला, संस्कार, संस्कृतिबारे सचेत गराउन र पुस्तान्तरण गर्न गुरुङ परम्पराअनुसार ल्होछार मनाउँदै आइरहेको समाजका पदाधिकारीले जनाएका छन् । यस्ले सामुहिक भोजन स्यों कइ खान्छौ केही अग्रजहरूसँग भेट्छौ सम्मान गर्छौ  र केही मनोरञ्जन लिन्छौं यस्ले संस्थालाई अझ बलियो बनाएको संस्थापक चित्रबहादुर गुरुङले बताउनुभयो।

लन्डन ह्यरो सेन्टरमा आयोजित ल्होछार कार्यक्रममा संस्थाका अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अथिती काउन्सिलर मोहमेद बट, विशेष अतिथि काउन्सिलर जित रानाभाट रहनुभएको थियो । कार्यक्रम नेपाल र बेलायतको राष्ट्रिय गानबाट सुरु गरिएको थियो । संस्थाका अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र प्रमुख अतिथि मोहमेद बटले पानसमा बत्ती बाली कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । 

सो अवसरमा संस्थाका आजीवन सदस्य र उच्चशिक्षा हासिल गरेका सदस्यहरूलाई सम्मान गरिएको थियो । समाजमा उत्कृष्ट समाज सेवा गरेबापत सम्मानित हुनु भएका व्यक्तिहरूमा लेख गुरुङ (सल्लाहकार), नारायणसिङ गुरुङ (सल्लाहकार), कमल गुरुङ (सल्लाहकार), ओमकार गुरुङ (निवर्तमान युवा अध्यक्ष), लक्षमी गुरुङ (सदस्य), शिवकुमार गुरुङ (निवर्तमान अध्यक्ष र सल्लाहकार), कन्याप्रसाद गुरुङ (पूर्व उपाध्यक्ष तथा सल्लाहकार), तमु सञ्चारकर्मी सङ्घका अध्यक्ष तथा फोनिजका कोषाध्यक्ष लाला गुरुङ हुनुहुन्छ । 

सम्मानितहरूलाई दोसल्ला, फेटा, फूल र ताम्रपत्रले सम्मानित गरिएको थियो । सो अवसरमा नेपालबाट आएका कलाकारहरूले दोहोरीमा नचाउनुभएको थियो ।