• २३ पुस २०८१, मङ्गलबार

भूकम्प प्रभावित विपन्नलाई अनुदान

blog

नगद अनुदानबाट बाख्रापालन गर्दै दार्मा गाउँपालिकाका भूकम्पपीडित । तस्बिर :प्रतीक इच्छुक शर्मा

सल्यान समाचारदाता

सल्यान, पुस २२ गते । नेपाल रेडक्रस सोसाइटीले सल्यानको दार्मा गाउँपालिकाका भूकम्पपीडितका लागि जीविकोपार्जन कार्यव्रmम सञ्चालन गरेको छ । भूकम्प प्रभावित विपन्नका लागि जीविकोपार्जनमा सहयोग पु-याउने उद्देश्यले ससर्त अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।

जीविकोपार्जन कार्यक्रम अन्तर्गत गाउँपालिकाका ६ वटा वडाका १९३ घरपरिवारलाई प्रतिव्यक्ति ५० हजार रुपियाँका दरले नगद अनुदान प्रदान गरिएको रेडक्रस सोसाइटी सल्यानका कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अनुदान कार्यक्रम अन्तर्गत लाभग्राहीले कुल ९६ लाख ५० हजार रुपियाँ प्राप्त गर्ने छन् । पहिलो किस्तामा प्रतिव्यक्ति २५ हजार वितरण भइसकेको छ भने दोस्रो किस्ताका लागि अनुगमन प्रव्रिmया जारी रहेको उहाँले बताउनुभयो । अनुदान प्राप्त गर्ने लाभग्राहीले विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । 

बाख्रापालनमा १२८ जना, भैँसीपालनमा ३७, सिलाइकटाइमा आठ, किराना पसलमा सात, आरन उद्योगमा चार, कुखुरापालनमा चार, कुटानी पिसानीमा दुई, खाजानास्ता होटलमा एक, तरकारी खेतीमा एक र तरकारी तथा फलफूल पसलमा एक जना संलग्न भएका छन् । भूकम्पपीडित दार्मा गाउँपालिका–५ का वीरेन्द्रप्रकाश खड्काले जीविकोपार्जन कार्यक्रमले राहत भएको बताउनुभयो । उहाँका अनुसार पीडित परिवारले आयआर्जनको काम पनि सुरु गरिसकेका छन् । सोही वडाका पदमी कामीले किराना पसल सुरु गरेको र त्यसबाट आफूलाई आयआर्जनका लागि सहयोग पुगेको जानकारी दिनुभयो । 

भूकम्प प्रभावितलाई प्रदान गरेको रकमबाट बाख्रापालन गर्ने किसानले रकमबाट तीन वटासम्म बाख्रा किन्ने तथा गोठ र खोर आफैँले बनाउने छन् भने भैँसीपालन गर्ने किसानले केही रकम आफूले थपेर लैनो भैँसी किन्नुपर्ने छ । कार्यक्रम संयोजक तामाङले भूकम्प प्रभावितले पेसा व्यवसायमा सहयोग होस् र जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले ससर्त अनुदान रकम प्रदान गरिएको बताउनुभयो ।

रेडक्रसको यो पहलले विपन्न किसानलाई आत्मनिर्भर बन्न र आफ्नो जीविकोपार्जन सुधार गर्न मद्दत पुगेको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार अनुगमन गरेर भूकम्प प्रभावितमध्ये पनि अति विपन्न परिवार छनोट गरेर यो कार्यव्रmममा जोडेको जनाउनुभयो । भूकम्पले धेरैको घरबास गुमेकाले क्षतिपूर्तिस्वरूप यो कार्यव्रmम सञ्चालनले उनीहरूको आयआर्जन र पेसा व्यवसायमा ठुलो सहयोग पुगेको अध्यक्ष केसीले बताउनुभयो । 

भूकम्पबाट दार्मा गाउँपालिकामा चार हजार ८० जना सर्वसाधारणको घरमा क्षति पुगेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसमबहादुर वलीले भूकम्पबाट ३६ विद्यालय, नौ स्वास्थ्य संस्था, दुई वडा कार्यालय, १२ खानेपानी, सिँचाइ र सडक गरी ५९ वटा सार्वजनिक संरचनामा आंशिक क्षति पुगेको बताउनुभयो ।