• २३ पुस २०८१, मङ्गलबार

खुम्बुको विकासमा प्रतिबद्धता

blog

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पर्यटनको मूल आधार हो । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विसं २०१० मा सगरमाथाको सफल आरोहण गरेपछि नेपालको पर्यटनको विश्व बजारमा प्रसार भयो । सगरमाथा क्षेत्रका कारण नेपालमै बाह्य पर्यटनको ढोका खुल्यो । बाह्य पर्यटक काठमाडौँ ओर्लिएर जिरी हुँदै सगरमाथा पदयात्रामा जाने प्रचलन बढ्यो । संसारले माउन्ट एभरेस्ट भनेर चिन्ने सगरमाथाको आधार शिविरसम्म पदयात्रा गर्न पाउँदा आनन्द प्राप्त गर्नेहरू संसारभरि छन् । सबैले सगरमाथाको शिर चुम्न सक्दैनन् तर आधार शिविरसम्म पुग्न पाउँदा पनि आफूलाई भाग्यमानी ठान्छन् तथापि त्यहाँ पुग्न अझै पनि सजिलो भने छैन । 

सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने खुम्बु क्षेत्रमा नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका अनेकौँ सुन्दर पर्यटकीय गाउँबस्ती छन् । कतिपय हिमाली ससाना उपत्यकामै सुन्दर गाउँ रहेका छन् । खुम्बु क्षेत्रले चर्चित त्यस भेगको लुक्लामा दशकौँपहिले हिलारीकै सहयोगमा विमानस्थल निर्माण भएपछि विकासले नयाँ आयाम आरम्भ गरेको थियो । अब बिस्तारै सडक पूर्वाधारसमेत खुम्बु क्षेत्रमा पुग्न थालेको छ । सडक पूर्वाधारसँगै खुम्बु क्षेत्रको विकासमा सरकारको ताजा प्रतिबद्धताले विकट हिमाली क्षेत्रका बासिन्दामा खुसी छाएको छ । पर्यटन विकासका आयाम बढ्न अब झनै सजिलो हुने देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिका पुग्नुभयो । पालिका केन्द्र चौँरीखर्क जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ उद्घाटन गर्न पुगेका प्रम ओलीले त्यस क्षेत्रकै समग्र विकासप्रति सरकारको प्रतिबद्धता जनाउनुभयो । उहाँले उद्घाटन गरिएको सडक चाँडै कालोपत्रे हुने विश्वास दिलाउनुभयो । सो क्षेत्र तेन्जिङ नोर्गे शेर्पा, पासाङल्हामु शेर्पालगायत ३० औँ पटक सगरमाथा आरोहण गर्ने अनेकौँ साहसीको जिल्लासमेत हो । पर्वतारोहणका साहसीको जिल्ला भएको भन्दै प्रधानमन्त्रीले अब यस क्षेत्रको विकास र प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । हुन पनि सोलुखुम्बुको उत्तरी क्षेत्र संसारकै विकट मानिए पनि यताका वर्षहरूमा सडक पूर्वाधारको पहुँचतर्फ उन्मुख छ । शनिबार उद्घाटित सडक खुम्बु पासाङल्हामु गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको हो । खुम्बु पासाङल्हामु–१, खरीखोलाबाट वडा नं. २ को सुर्केसम्म ट्र्याक खोल्न सुरु भएको २५ किलोमिटर सडकका लागि करिब १६ करोड रुपियाँ लागेको छ । सडकमा जलविद्युत् आयोजनाले समेत साझेदारी गरेका छन् ।

विशेष गरी विदेशी पर्यटक देख्न सकिने खुम्बु क्षेत्र पुग्न अब सडकमार्गबाट बिस्तारै सजिलो हुँदै छ । लुक्लामा विमानस्थल भए पनि सीमित यात्रु बोक्ने ससाना विमान मात्र अवतरण हुन्छन् । दिनमै दर्जनौँ विमानले उडान भरे पनि केही सय पर्यटकले मात्र सेवा पाउँछन् । पैदल यात्राबाट माथिल्लो खुम्बु क्षेत्र पुग्न अहिले पनि धेरै दिन हिँड्नु पर्छ । लुक्लाबाट सगरमाथा शिविर पुग्न दुई तीन दिन नै लाग्छ र सिजनमा पर्यटकको अधिक चाप हुन्छ । पर्यटनसँगै सोलुखुम्बुमा जलसम्पदाको पनि अपार सम्भावना छ । त्यस जिल्लामा दर्जनौँ जलविद्युत् आयोजना विभिन्न चरणमा अगाडि बढिरहेका छन् । कतिपय आयोजना सम्पन्न भई केन्द्रीय विद्युत् प्रसारण लाइनमा जडानसमेत भइसकेका छन् । कतिपय आयोजना आरम्भिक चरणमा छन् । ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ का निम्ति पनि पालिकाले स्थानीय जलविद्युत् आयोजना सिल्क पावर र दुधकोशी छैटौँसँग लागतमा साझेदारी गरेको छ ।

वास्तवमा खुम्बु क्षेत्र पुग्ने सडक पूर्वाधारमा जलविद्युत् आयोजनाको साझेदारीको अब्बल अभ्यास देखिएको छ । पर्वतीय क्षेत्रमा सडक निर्माण सस्तो लागतमा बन्दैन । थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत १० करोड ५२ लाख रुपियाँमा निर्माण सम्पन्न भएको हो । साझेदारीका व्रmममा ५० प्रतिशत लगानी गाउँपालिका र बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको हो । खरीखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने छ करोड १४ लाख रुपियाँको लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको थियो । सदरमुकाम सल्लेरीबाट ६४ किमी उत्तरमा रहेको सुर्के कुनै बेला अति दुर्गम थियो । अब भने बिस्तारै सडक पहुँचमा पुगेको छ । सडक खुलेसँगै हिजोआज दैनिक बस, सुमो र बोलेरोले यात्रुलाई राजधानी काठमाडौँलगायतबाट सुर्केसम्म पु¥याउन सक्ने भएका छन् । सुर्केबाट लुक्ला विमानस्थल एक घण्टाको पैदल दुरीमा पर्ने हुँदा अब लुक्ला विमानस्थललाई पनि सडक यातायातबाट जोड्न सकिने सम्भावना नजिक आएको छ ।