राष्ट्रिय एकता बिकाउ नारा हो । राष्ट्रिय एकताको नाममा धेरै राजनीति गरिएको छ । युद्ध र सङ्ग्राम लडिएका छन् । राष्ट्रिय एकताका आधार समयसापेक्ष अवधारणा हो । कुनै दिन एउटा वंश, नश्ल वा परिवारको शासनलाई राष्ट्रिय एकताको आधार मानिन्थ्यो । जब विभिन्न मानव समुदाय (कबिला) ले समाज र राज्य स्थापना गरे, त्यसबखत आआफ्ना राज्यको विस्तार र अखण्डता नै राष्ट्रिय एकताको आधार बन्यो । समय सन्दर्भसँगै सामाजिक सिद्धान्त बने, त्यस्ता सिद्धान्तमा परिमार्जन तथा संशोधन हुँदै आए । नयाँ राजनीतिक सिद्धान्तले राष्ट्रिय एकताका लागि नयाँ नयाँ आधारको पहिचान ग-यो । यस्ता आधारमा विविधता र नवीनता खोज्न थाले । पछिल्ला अवधारण अनुसार राष्ट्रिय एकताको पहिलो आधार जनता, जनताको विविधता, पहिचान, त्यस्ता विविधता र पहिचानको राष्ट्रिय अनुमोदनलाई भन्न थालियो । भाषा, संस्कृति, परम्परा र हामीको भावना (वी फिलिङ) राष्ट्रिय एकताको आधार भए । जनतामा हुने भावनात्मक सामीप्यता भौगोलिक अखण्डाताभन्दा राष्ट्रिय एकताको धेरै गुना बलियो आधार मानियो ।
विश्वमा जब सैनिक, तानाशाह, अधिनायकवादी र अनुदार शासक थिए, त्यतिखेर राष्ट्रिय एकताको आधार कठोर थिए तर प्रजातन्त्रले व्यक्तिलाई नै राज्य हो भन्यो । त्यसैले तानाशाह तथा अधिनायकवादीले माटो अर्थात् सीमालाई राष्ट्रिय एकताको पहिलो आधार बताएर यसैका लागि द्वन्द्व तथा लडाइँ गरे । जनतामा राष्ट्रिय एकताका भ्रम छरे तर प्रजातन्त्रले माटो मात्र होइन मान्छे (जनता) मनलाई राष्ट्रिय एकताको पहिलो सर्त वा आधार बनायो । मान्छेको जात, समुदाय, उसको भाषा, संस्कृति धर्म आदि विविधता राष्ट्रिय एकताका आधार बन्दै आए । १७ औँ १८ औँ शताब्दीका राज्य र शासकहरूले सबैभन्दा धेरै राजनीति र लडाइँ माटो अर्थात् सीमाका लागि गरे राष्ट्रिय एकताको नाममा तर प्रजातन्त्रको उदयसँगै राष्ट्रिय एकताका अवधारणा, आधार, आवश्यकता र औचित्यमा नूतन बुझाइ स्थापित भए । राष्ट्रिय एकता र यसका आधारहरू समयसापेक्ष अवधारण भएकाले १७ औँ, १८ औँ शताब्दीमा राष्ट्रिय एकतालाई जसरी बुझिएको थियो आज पनि त्यसरी नै बुझ्नु पर्छ भनियो भने बौद्धिक–बन्धनमा परिन्छ ।
सिद्धबाबा पहाड (सिवालिक क्षेत्र) मा पाइएको रामापिथेकसलाई मानव जातिको प्राचीनतम पुस्ता मान्ने हो भने नेपालमा एक करोड वर्षअघिदेखि मानव बसोबास रहेको पुष्टि हुन्छ । मानव बसोबास क्रमशः समाज र राज्यमा परिणत भएका प्रमाणहरू केलाउँदा नेपालको राष्ट्रिय एकताका आधारलाई त्यति नै वर्ष पहिलेको आँखाबाट हेर्नु पर्छ । नयपाल, नेःपाल, निपाल जे भनिए पनि यो देशको प्राचीनताबारे तर्क, वितर्क गर्नु आवश्यक छैन । यसरी हेर्दा प्राचीनता र निरन्तरता कुनै दिन नेपालको राष्ट्रिय एकताका आधार थिए । धार्मिक ग्रन्थ, किंवदन्ती, परम्परा नै त्यतिखेरका राष्ट्रिय एकताका आधार थिए । आधुनिक कालमा प्रवेश गर्दा नेपालको एकीकरण नै नेपाली राष्ट्रिय एकताको पहिलो आधार भयो । राष्ट्रिय एकताका आधार परिवर्तनशील तथा समयसापेक्ष हुने भएकाले एकीकरणको अढाई सय वर्षपछि यसका आधारमा विविधता खोज्न सकिन्छ । भौगोलिक एकताका अतिरिक्त राष्ट्रिय एकताका अधार सांस्कृतिक, भाषिक, धार्मिक सामाजिक, आर्थिक, मनोवैज्ञानिक बन्न गएका छन् । एकताका लागि एउटै पहल र परिणाम पूर्ण नहुने भएकाले समय अनुसार यसलाई फराकिलो अर्थमा बुझ्नु पर्छ । कुनै दिन विविधतालाई विभाजनको कारण भनेर बुझिन्थ्यो तर आज विविधतालाई एकताको अर्थमा बुझिन्छ । बुझ्नु पर्छ । विविधताको व्यवस्थापन नै एकताको प्रक्रिया हो भन्ने अग्रगामी विचारले नै एकतालाई फराकिलो बनाउने हो ।
कुनै दिनका सनकले दौरा–सुरुवाललाई राष्ट्रिय एकताको आधार देखेन । दौरा–सुरुवाल मात्र होइन, भोटो–कछाड, धोती–पाइजामा र खब्बुलाई पनि राष्ट्रिय एकताको आधार बनाउनुपर्ने विचार निःसृत गर्नुपर्नेहरूले नै दौरा–सुरुवालमा सामन्तवादी रबाफ देखे । योभन्दा तन्नम मानसिकता केही हुन्छ ? पहिरन राष्ट्रिय एकताको आधार हो तर एउटै मात्र पहिरन नभएर बहुपहिरन नै राष्ट्रिय एकताका आधार हुन् भनेर बृहत दृष्टिकोण राख्नुपर्नेका चिम्टी चिन्तनहरू राष्ट्रिय एकता बाधक देखिएका छन् । इतिहासप्रति आलोचक हुन सकिन्छ तर अन्यायी हुनुहुँदैन । नेपालका कुनै कालखण्डका सरकारहरू राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) मनाउने सन्दर्भमा पनि स्पष्ट भएनन् । अनुदार देखिए । यसले नेपाली राष्ट्रिय एकताका आधार कमजोर गरेको स्पष्ट नै छ ।
एकताका नयाँ नयाँ आधारहरू खोज्न सकिन्छ । सक्नु पर्छ । सत्ताको भन्दा आमनेपालीको सोच यति उर्वर छ कि आज जनताकै कारण छठ र ल्होसार राष्ट्रिय एकताका आधार बन्दै छन् । प्रजातान्त्रिक विचार, मुलुकको समृद्धि, समाजवाद जस्ता अवधारणा राष्ट्रिय एकताका नयाँ आधार बन्दै छन् । हिजो एकताका लागि पक्ष विपक्षमा मानिस विभक्त थिए तर आजको राष्ट्रिय एकताको आधार गरिबीविरुद्धको लडाइँ बन्नु पर्छ । यसका लागि पक्ष विपक्षमा विभक्त हुनु आवश्यक छैन । एकताका सन्दर्भमा आजका जस्ता विचार विगतमा थिएनन् भन्नुको अर्थ विगतलाई सरापेर वर्तमानलाई सपार्न सकिँदैन भन्नेमा स्पष्ट हुनु पर्छ । इतिहासप्रति प्रतिशोध र प्रतिबुझाइ पाल्नु राष्ट्रिय एकताको बाधक हुनेछ । विश्व साम्राज्यवाद र विस्तारवादको छायाबाट नेपाललाई सुरक्षित गर्न गरिएका योगदान, छरपस्ट नेपाललाई एकताको सूत्रमा बाँध्ने अभियान, दुई ढुङ्गाबिचको तरुल भएर बचे, बचाइएका ऐतिहासिक योगदान नै आज हामी नेपाली हुनुको गर्व हो । यिनै नै राष्ट्रिय एकताका आधार थिए र छन् । राष्ट्रिय एकता भन्नु कुनै ठोस अवस्थाभन्दा पनि प्रक्रिया हो । विभिन्न प्रक्रिया र तìवको मिश्रणबाट एकता प्राप्त गर्न सकिन्छ । यसैलाई राष्ट्रिय एकता भन्नु पर्छ । यस्ता प्रव्रिmया तत्कालको आवश्यकतामा पनि निर्भर गर्छ र यी प्रक्रिया सबैका लागि सधँैका लागि एउटै हुनु पर्छ भन्ने पनि हुँदैन ।
राष्ट्रिय एकताका चुनौतीहरू सामना गर्नु वर्तमान पुस्ताको दायित्व हो । एकताको सबै काम पृथ्वीनारायण शाह वा उनका वंशले गरिदिएका छन् भन्ने सोच्नु गलत हुने छ । पछिल्ला दशकदेखि कतिपय नेपाली युवा काम र मामको खोजीमा बाध्यतावश बिदेसिनु परेको छ । हाम्रा श्रमशक्ति विदेशलाई हराभरा बनाउन सक्रिय छ तर हाम्रो राष्ट्रिय उत्पादनमा त्यस्तो शक्तिलाई जोड्न सकिएको छैन । आर्थिक रूपमा कमजोर देशका नागरिकले आफूमाथि आर्थिक असद्ररक्षा देख्छ । जब व्यक्तिले आफू र आफ्नो राष्ट्रलाई कमजोर ठान्छ स्वाभाविक रूपमा उसको राष्ट्रिय एकताका आधार कमजोर हुन्छ । प्रजा मोटा भए दरबार बलियो हुन्छ भन्नुको तात्पर्यलाई यही सन्दर्भमा राष्ट्रिय एकताको आधार हो भनेर बुझ्नु पर्छ । एकताका विभिन्न विचार तथा आधार हुन्छन् । गान्धीले अहिंसाबाट मात्र राष्ट्रिय एकता बन्छ भने । यस अर्थमा हिंसालाई भौतिक हिंसा मात्र भन्नु भएन । कसैका पहिचानको उपेक्षालाई पनि हिंसा भन्नु प-यो । कसैलाई मूल प्रवाहीकरण गर्न सकिएन भने पनि त्यसलाई एक प्रकारको हिंसा भन्नु प-यो । यसै गरी विशिष्ट राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले जनतालाई नै राष्ट्रिय एकताको आधार र सर्त मान्दै आएनु भयो । जनता भनेको उसको स्वत्व, हो पहिचान हो, उसको आकाङ्क्ष हो भनिरहनु पर्दैन ।
गरिबी, अपराध, अन्याय, बहिष्करण राष्ट्रिय एकताका चुनौती हुन् । यस्ता चुनौती चिरेर राज्यका सुविधा, अवसर र प्रतिफलमा कुनै पनि व्यक्ति सहभागी हुने पाउने निरन्तरको प्रव्रिmया नै राष्ट्रिय एकता हो । त्यसैले बुझ्नु पर्छ । राष्ट्रिय एकता भनेको कुनै ठोस र निश्चित अवस्था नभएर त्यस्तो अवस्था प्राप्त गर्ने प्रव्रिmया हो । यस्तो प्रव्रिmया टुङ्गिँदैन । जनताको अवश्यकता चेतना र सहभागितामा एकताको प्रव्रिmयालाई निरन्तर गर्न सकिन्छ । राष्ट्रिय एकता भावनात्मक बुझाइ हो । यो बढी भावनात्मक र स्वत्वसँग सम्बन्धित हुन्छ तर आधुनिक राष्ट्रिय एकता सपना जस्तो अमूर्त र भावनात्मक मात्र हुन सक्दैन । यो प्राविधिक कुरा पनि हो । देशमा उपलब्ध सेवा र अवसर गरिबीका कारण उपभोग गर्न नसक्ने नागरिकले राष्ट्रिय एकताको कुन तहमा आफूलाई पाउँछ ? यस्तो अवस्थामा उसले आफूमाथि देशको स्वामित्व र दायित्व खोज्न सक्छ । यसर्थ राष्ट्रिय एकता भनेको सूत्र, मन्त्र वा भावनामा खेल्ने अमूर्त खेल मात्र हुन सक्दैन । विविधताको व्यवस्थापन प्रव्रिmया पनि राष्ट्रिय एकताको आधार भएकाले यसले सबै क्षेत्रका व्यक्तिहरूलाई एउटै समग्रतामा एकताबद्ध गर्दछ ।
आजका दिन राष्ट्रिय एकताका आधार र चुनौतीको पहिचान गरेर राष्ट्रिय एकतालाई थप प्रवर्धन गर्न सकिन्छ । सक्नु पर्छ । मधुपर्क