बृहत् नेपाली शब्द कोस पल्टाउँदा राउटे भनेको नेपालको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा फिरन्ता व्यवसाय भएको शिकारजीवी एक जाति, काठका भाँडा बनाई जीवनवृत्ति चलाउने र जङ्गलमा बस्ने मानव भनेर परिभाषा गरिएको छ । आफ्नो समुदायबाहेक अरूसँग घुलमिल नरुचाउने उनीहरूलाई भेट्दाको अनुभूति बेग्लै खालको छ ।
जुन समयमा रेडियो नेपालबाहेक समाचार सम्प्रेषणको दोस्रो माध्यम थिएन । सार्वजनिक रूपमा त्यतिखेरदेखि चर्चा बटुलेका मानव हुन्, राउटे । पछि, क्रमशः पत्रपत्रिका तथा टेलिभिजनको पर्दामा विशेष महत्वका साथ सार्वजनिक भए । यिनलाई अल्पसङ्ख्यक जाति पनि भनिन्छ । यसरी असामाजिक हिसाबको बसोबासका मानिसको रहनसहन र परम्परा कस्तो छ त । खेतीपाती नगर्ने, स्थायी घर बनाएर नबस्ने, बाँदरको मासु खाने । जीवनमा कहिल्यै सुकिलो मुकिलो हुने गरी ननुहाएका र फोहोरी प्रवृत्तिका मान्छे भनेर बुझेका हामीमध्ये कतिलाई लाग्दो हो, उनीहरूको जात हुँदैन । गोत्र हुँदैन । धर्म न संस्कार रित्ता भाँडा सम्झे पुग्छ । अझ, कतिपय सन्दर्भमा खुलेरै प्याच्च बोल्छौँ, फलानो त कस्तो राउटे स्वभावको हो । आफन्त साथीभाइ केहीसँग नमिल्ने । यस्तो व्यवहारले कसरी जीवन चल्छ तर होइन । उनीहरूको जात, धर्म, परिवार, समुदाय, संस्कार, संस्कृति, रीतिरिवाज अनि चालचलनसँगै परम्परा पनि छ ।
उनीहरूका पूर्खादेखिकै चलन हो, जङ्गलमा बस्ने । छाप्राको बास, त्यहीँ बच्चा जन्माउँछन् । राउटे महिला सुत्केरी बेथा खप्न अस्पताल जाँदैनन् । नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न न स्वास्थ्य चौकी नै धाउँछन् । उनीहरूको परम्परामा नयाँ सदस्यको आगमन बच्चा जन्मिसकेपछि दश दिनसम्म कसैले हेर्ने, छुने र बोलाउने गर्दैनन् । सुत्केरी आमा छाप्रोभित्रै कुनामा बस्ने चलन हुन्छ । उनीहरूको शास्त्र हुँदैन तर गोत्रचाहिँ हुन्छ । रास्कोटी, कल्याल र सोवंशी गरी तीन गोत्रमा विभक्त छन् । स–गोत्रीलाई छोरी दिँदैनन र बुहारी पनि ल्याउँदैनन् । भनौँ, राउटे समुदायमा गोत्र छुट्याएर मात्र बिहे गर्ने चलन छ । उनीहरू देउता मान्छन् । पूजाआजा गर्छन् । समुदायभित्रै धामी हुन्छ ।
लोपोन्मुख राउटे नेपालको एक मात्र भ्रमणशील जात हो । यहाँको वन सम्पदामा विशेषतः कर्णालीको गहनाका रूपमा चिनिने उनीहरूको अस्तित्व यतिखेर भने सङ्कटमा छ । अत्यधिक मदिरा सेवन, पोषणयुक्त खानाको कमी र नवजात शिशुको आगमनमा उचित हेरचाह नहुँदा कर्णालीको मात्रै नभएर नेपालकै गहनाको रूपमा परिचित उनीहरूको घट्दो जनसङ्ख्या खतरामा परेको हो ।
हुन त मदिरा सेवन राउटे समुदायको मौलिक विशेषता हो । शुभ अशुभ जुनसुकै कर्म गर्न मदिरा नभई हुँदैन । प्राप्त जानकारी अनुसार आदिमकालदेखि नै छाप्रोमा बचेकुचेको खानाबाट घरेलु मदिरा बनाएर सेवन गर्दै आएका उनीहरूको लत, पछिल्लो समय बजारमा पाइने थरीथरीका मादक पदार्थमा खिचिएको छ । परिणामतः उनीहरूको अस्तित्व मेटिनेको क्रममा छ । राउटेलाई दिइने सामाजिक सुरक्षा भत्ता (नगद पैसा) को कारण यिनीहरूको परम्परा नै परिवर्तन हुन थाल्यो । नेपाल सरकारले चौमासिक उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता जबदेखि बुझ्न थाले, कुनै दिन त्यसको सही सदुपयोग भएन । बरु फजुल खर्चको प्रभाव स्वास्थ्यमा ठुलो समस्या हुन गयो । जनही चार हजारका दरले हिसाब गर्दा एउटा परिवारले न्यूनतम एक लाख २५ हजारसम्म बुझ्छन्, स्थानीय पालिका मार्फत ।
भत्ता बुझ्दा हजारका नोटबाहेक चानचुन/खुद्रा लिन मान्दैनन् । पैसामा पल्केर होला परम्परागत कार्यमा लगाव छैन । कुर्सी, खाट, बेन्च, पिर्का, ठेकी, मदानीलगायत काठका भाँडाकुडा बनाउने सिप पनि लोप भएजत्तिकै छ । उनीहरूसँग उभिएर फोटो खिचौ न भन्दा कति पैसा दिन्छौ ? भनेर पहिला नगद कबुल गर्न लगाउँछन् । त्यो नगरेसम्म टसमस गर्दैनन् । उतिखेरको जमानामा राउटेले पैसा छोए पाप लाग्छ भन्थे । पैसाकै लोभमा परेर यति फजुल भए समुदायकै कुरा पहिला एक जना मुखिया (मैनबहादुर) को आज्ञा मुताविक चल्नेहरू यतिखेर तीन गोत्रका तिनै जना मुखिया छन् ।
२०७८ असोज २७ गते यता लामो समय शिशु जन्मिएका थिएनन् । दैलेखको महाबु गाउँपालिका–३ बाल्तडामा बसोबास गरिरहेका राउटे बस्तीमा निकै लामो ‘ग्याप’ पछि दुई शिशुको जन्म भयो । ४१ परिवारलाई सङ्ख्यामा जोड्दा १४१ जनामा दुई नयाँ सदस्यको आगमनले १४३ भए । पङ्क्तिकार स्वयम् त्यहाँ उपस्थित हुँदाको अवस्था हो यो । राउटे समुदायमा एकल महिलाले दोस्रो विवाह गर्न पाउँदैनन् । लाग्छ, यस प्रचलनका कारण पनि जनसङ्ख्या घट्दो दरमा छ ।
जन्म संस्कार मनाउँदा उनीहरू निकै रमाइलो गर्छन् । खुसीयाली छाएका बखत सबै जना एकै ठाउँमा जम्मा भएर बाजा बजाउँछन्, नाच्छन् । खसी काट्छन् । खाँदै रमाइलो गर्दै जाँदा नपुगे बाख्रा पनि बाँकी राख्दैनन् । सगुनको रूपमा प्रयोग हुने मदिरा छुट्ने कुरै भएन । बच्चाको नाम जुराउन पुरोहित चाहिँदैन । ठाउँ विशेषको आधारमा आफैँले नामकरण गर्छन् । पछिल्लो तथ्याङ्क अनुसार राउटेको सङ्ख्या १३८ रहेको छ । सोसेक नेपाल नामक संस्था राउटेसँग जोडिएको हुनाले उसको तथ्याङ्क अनुसार बाल मृत्युदर ६० प्रतिशतभन्दा बढी छ । अहिले २३ जना एकल महिला छन् । विवाह गर्न गोत्र फरक हुनुपर्ने मान्यता धेरै युवा अविवाहित छन् । चिसो मौसममा खुला आकाशमुनिको बास र सरसफाइमा कमी जीवन रक्षा कसरी हुन्छ ?
सरकारलाई लाग्दो हो उनीहरूलाई सामाजिक सुरक्षा भत्ता दिएकै छ । संसारमा पैसा नै सबैथोक होइन । नगद भनेको मात्र साधन हो । साधनलाई जसले सही किसिमबाट सञ्चालन गर्छन्, उनीहरूको जीवन सहज हुन्छ तर त्यही साधन जसलाई चलाउनै आउँदैन भने जनताले करबापत तिरेको त्यो पसिनाको मूल्य बालुवामा पानीबाहेक केही हुँदैन । सरकारी ढुकुटीको सही किसिमले उचित ढङ्गबाट सदुपयोग गर्नु राज्यको कर्तव्य हुन जान्छ ।
राउटे पनि आखिर मान्छे नै हुन् । मानवीय चोला भनेको बारम्बार नपाइने (नजन्मिने) हुनाले एकबारको जुनीमा आफू को हो र यस धर्तीमा किन आएँ भन्नेप्रति उनीहरूलाई किन सचेत गराइँदैन ? हुन त प्रश्न नै समाधान होइन । यद्यपि राउटेलाई देखाएर आफ्नो दुनो सोझ्याउनेको त्यहाँ ताँती छ । यी आँखाले देखेका कति कुरा मगजमा ताजै छन् । मानवीय सेवा भनेको आफ्नो निजी फाइदाका लागि गरिनु हुँदैन । जसको प्रतिफलबाट चराचर जगत्को कल्याण होस् । साँच्चै, सहयोगी सङ्घ संस्थाले राउटे समुदायको आवश्यकता अनुसार अघि बढेका भए सकारात्मक परिणाम आउँथ्यो ।
मदिराको उच्च सेवनको कारण घट्दो जन्मदर त्यसमाथि उचित किसिमले नवजात शिशुको हेरचाह नगर्नु र पोषणयुक्त खानपिनको कमी अनि चिसो भुइँमा बसाइँ सुताइ । युवादेखि वृद्धवृद्धासम्मले अकाल मृत्यु वरण गरिरहेका छन् । पहिला पहिला राउटे गिठा भ्याकुर, तरुल, पानीअमलालगायतका काँचाकचिला र जङ्गली कन्दमूलका भरमा बाँच्थे । त्यतिखेर उनीहरूको जनसङ्ख्यामा कमी थिएन ।
२०८० साल मङ्सिर तेस्रो हप्ता राउटे बस्तीमा नेपाल प्रहरी श्रीमती सङ्घले एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । सो अवसरमा डाक्टर छेउ पर्न नमान्ने, परिहाले आफ्नो दुःख बिराम के हो ? त्यसबारे खुलेर नबताउने दृश्यले मन कटक्क भयो । त्यहाँ धेरैको मुटुमा समस्या थियो । त्यस्तै, रक्तअल्पता उनीहरूको जीवनको अर्को चुनौती देखियो । रहरलाग्दा बालबच्चा र युवा युवतीलाई देखेर चुप रहन सकिनँ म ।
“समय परिवर्तनसँगै अब तपाईहरूले शिक्षा लिनु पर्छ । घरबार गरेर बस्नु पर्छ । आजका दिनदेखि यो चेतना विकास होस् । मान्छेको जीवन समुदाय विहीन हुनुहुँदैन” भनेर सम्झाइबुझाइ गर्दा मुखिया सूर्यनारायण भन्छन्, “हाम्रा अग्रज (बाउबाजे) ले जसरी जीवन बिताए हामी चाहिँ किन फरक हुने ? हामीलाई समुदाय किन चाहियो ? सहरमा किन बस्ने ? किन घर बनाउने ? पढाइलेखाइ गर्न पनि किन जरुरी ? त्यो आवश्यक छैन । हाम्रो गुनासो सामुदायिक वनले रुख काट्न दिएन तर सरकारले भत्ता दिएको छ, त्यही पैसाबाट आफ्नो गुजारा चलाउँदै छौँ ।” यतिखेर राउटे सिपलाई गाउँघरतिर अन्नसँग साट्ने चलन लोप मात्रै भएन, पैसा हातमा परिसकेपछि गाउँमा पसेर खसी बोकाको दाम उतारचढाव गर्ने उनीहरूको शैली कति जायज हो ? सम्बन्धित पक्षले ठहर्याउनु पर्ने बेला भएको छ । गाउँका नागरिक जो सामाजिक सुरक्षा भत्ता बुझ्दैनन्, सबै हुनेखाने मात्रै छन् त ? हुँदा खानेको दैनिकीमा त्यो हर्गतको परिणाम कति निरासाजनक होला ? देशमा अस्थिर राजनीतिको कारण कति नागरिक उदास भावमा भेटिन्छन् । यो आम नागरिकले बुझेको छ । उसो त राउटे समुदायका केटाकेटी मात्रै होइन, ठुलै मान्छे एक्लाएक्लै हिँड्दैनन् । मुखियालाई अभिभावक मानेका हुनाले नयाँ काम गर्नु पर्यो भने वा कतै जानुपर्दा या बास बदल्न मुखिया नै अघि सर्छन् । उनकै बोली आधिकारिक निर्णय हुन्छ ।
यिनीहरूका समुदायका बालबच्चा, वयस्क, युवा, अधबैँसे र वृद्धवृद्धालाई देख्दा माया लाग्यो । अनौठो त के भने बिरामी परेर मर्नु न बाँच्नुको अवस्थामा पुग्दा पनि अस्पताल जान मान्दैनन् । परम्परामा यति कट्टर छन्, भागी बिहा हुन्न रैछ, सबैको मागी बिहे । १५/१६ वर्षकी केटी २२/२३ वर्षको केटासँग लगन जुराउँदा रहेछन् । विधवा महिलाले पुनः बिहे गर्न नपाउने । महिलाको काम खाना पकाउने र दाउरा खोज्ने । आफ्नो समुदायभन्दा बाहिरका मानिससँग कुरा गर्न नरुचाउनाको कारण भाषागत समस्या छ ।
दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपास जङ्गल छेउ, पहाडको खोँच, नदीकिनार तथा टाकुरामा बसाइँ सरिरहने जातमा कसैको मृत्यु भएमा आफ्नो छाप्रोमा आगो लगाइ हिँड्छन् । मृतकको लासलाई बाँदर मार्न प्रयोग गर्ने जालीले बेरेर खाल्डो खनी पुरेर ठाउँ छोड्छन् । प्रत्यक्ष भेटपश्चात् उल्लेख गर्न मन लागेको कुरा घट्दो जनसङ्ख्याको क्रमलाई लोप हुनबाट बचाउन पोसिलो खानेकुरा र लत्ताकपडा उपलब्ध गराउनु पर्छ । दार्चुलाका राउटे कसरी समुदायमा मिले ? अब प्रदेश सरकारले राउटे समुदायलाई दिइने सहयोग आफूखुसी नभई एकद्वार प्रणालीबाट दिने व्यवस्था गर्नु पर्छ । उनीहरूको अस्तित्व रक्षाका लागि पनि नगद पैसा होइन, खाद्यान्न उपलब्ध गराउनु पर्छ । नगद लिइरहेका राउटेले असहज महसुस गर्लान्, उनीहरूलाई अस्तित्व रक्षाको अर्थबारे स्पष्ट बनाएर खाद्यान्न लिन राजी गराउनु पर्छ ।
पैसा भएपछि ऐसा बजारमा किन्न पाइने पत्रु र अस्वस्थ्यकर खानाको प्रभाव उनीहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको हो । हातमा पैसा नभएपछि अनियन्त्रित हुने गरी दारु कसरी पिउँछन् ? घरमा लोकल हिसाबले बनाएको मदिरालाई त्यागेर बाहिर बानी परेका उनीहरूको त्यो लत होइन, कुलत हो !