लीलाधर वली
घोराही, पुस १९ गते । बायो ग्यास सञ्चालनका लागि फोहोर नपाउँदा घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा स्थापना भएको बायो ग्यास प्लान्ट समस्यामा परेको छ । करिव २२ करोड बढी खर्च गरेर बायो ग्यास प्लान्ट स्थापना भएपनि ग्यास उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ फोहोर नपाउँदा सञ्चालनमा समस्या हो ।
ग्यास प्लान्ट पूर्ण रुपमा सञ्चालनका लागि दैनिक २५ टन फोहोर आवश्यक पर्ने भएपनि अहिले चारदेखि पाँच सय केजी मात्र फोहोर उपलब्ध हुने गरेको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठ बताउनुहुन्छ ।
प्लान्ट सञ्चालनका लागि आवश्यक पर्ने फोहोर उपलव्ध नहुँदा निर्माण सम्पन्न भएर पनि सञ्चालन गर्न कठिनाई भएको म्यानेजर श्रेष्ठ बताउनुहुन्छ । चारदेखि पाँच सयसम्म संकलन हुने ग्यासले परिक्षणका रुपमा सञ्चालन गर्न ठिक्क हुँदा उपभोक्तालाई वितरण गर्न नसकिएको बताउनुहुन्छ । फोहोरबाट ग्यास उत्पादन गरेर उपभोक्ताको घरसम्म पुर्याउने उद्देश्य अनुसार करौतीडाँडामा दुई हजार घनमिटरको ग्यास प्लान्ट स्थापना गरिएको छ ।
तर अहिले प्लान्टका लागि आवश्यक कच्चा पदार्थ संकलन हुन सकेको छैन । फोहोर पर्याप्त मात्रामा उपलब्ध भएमा पहिलो चरणमा सात सय ५० घरमा ग्यास पु¥याउने उद्देश्य भएपनि फोहोर नहुँदा परीक्षणका रुपमा ग्यास उत्पादन गरिरहेको बताउनुभयो ।
ग्यास प्लान्ट तीन बर्षअघि २०७८ चैत १९ गते घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले अघिल्लो कार्यकालमा उद्घाटन गर्नुभएको थियो । ग्यास प्लान्ट उद्घाटन भएपछि ग्यास पाउने आशामा रहेका स्थानीयले ग्यास अझैसम्म पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।
ग्यास प्लान्ट स्थापना भएपछि सस्तोमा ग्यास पाउने बताएपनि अहिलेसम्म ग्यास पाउन नसकेको घोराही–१६ सर्रा निवासी गीता चौधरी बताउनुहुन्छ । घर नजिकै प्लान्ट स्थापना भएपनि अहिलेसम्म ग्यास पाउन नसकेको भन्दै उहाँले भन्नुभयो, "बायो ग्यास प्लान्टका कर्मचारीलाई सोध्दा अब हुन्छ भन्नुहुन्छ तर अहिलेसम्म ग्यास पाउन सकेका छौं ।"
वैकल्पिक उर्जा प्रवर्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबिच २०७५ मङ्सिर ५ गते सम्झौता भएको थियो । सहमति अनुसार बायो ग्यास उत्पादनका लागि घोराही उपमहानगरपालिकाले जग्गासँगै फोहोर उपलव्ध गराउने, वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले ४० प्रतिशत र नेपाल उर्जा विकास कम्पनीले ६० प्रतिशत लगानी गर्ने सहमित भएको थियो । सहमित अनुसार उपमहानगरपालिकाले तीन बिगाह बढी जग्गा उपलब्ध गराएपनि फोहोर उपलव्ध गराउन सकेको छैन ।
ग्यास प्लान्ट सञ्चालनका लागि आवश्यक पर्ने गोबरका लागि पशुपालन गर्ने प्लान्टले तयारी गरेपनि जग्गा उपलव्ध नभएको म्यानेजर श्रेष्ठ बताउनुहुन्छ । पशुपालनका लागि करौतीडाँडामै जग्गा उपमहानगरपालिकासँग जग्गा माग गरिएको भएपनि नपाएको उहाँले बताउनुभयो । उद्योगका लागि आवश्यक पर्ने फोहोर पशुपालन गरेर जुटाउने तयारीमा रहेको भन्दै प्लान्ट म्यानेजर श्रेष्ठले भन्नुभयो, "पशुपालन गरेर गोबर सङ्कलन गर्ने ग्यास प्लान्ट सञ्चालन गर्ने अबको योजना बनाएका छौँ तर काम हुन सकेको छैन ।"
ग्यास प्लान्टका लागि आवश्यक पर्ने कच्चा पदार्थ बंगुरपालनमा जाने भएपछि प्लान्ट सञ्चालनमा समस्या देखिएको छ ।