गजेन्द्र गुरुङ
खजुरा, पुस १८ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको १९ वर्ष बित्दा २१ अर्ब ५५ करोड रुपियाँ खर्च भइसकेको छ । ४१ प्रतिशत मात्र भौतिक काम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०६१–६२ मा स्थापना भई आर्थिक वर्ष २०६२–६३ बाट भौतिक निर्माणको काम सुरु भएको १९ वर्षपछि आर्थिक वर्ष २०८१–८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१.७९ प्रतिशत भौतिक प्रगति भएको छ ।
आव २०६१–६२ मा ७ अर्ब ४५ करोड अनुमानित लागतबाट सुरु भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीन पटक लागत अनुमान संशोधित हुँदै ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ । २०६४ मङ्सिर ३ गते पहिलो पटक लागत संशोधन गरेर १२ अर्ब ८० करोड पुराइएको थियो ।
त्यसपछि क्रमशः २०७१ भदौ ८ गते २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिम पटक आर्थिक वर्ष २०८९–९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर ५२ अर्ब ८९ करोड रुपियाँ पुर्याइएको छ ।
आयोजना सुरु भएदेखि चालु आवको मङ्सिर महिनासम्ममा २१ अर्ब ५५ करोड रुपियाँ खर्च हुँदा बित्तीय प्रगति ४०.७६ प्रतिशत रहेको छ । भौतिक प्रगति ४१.७९ प्रतिशत मात्र पुगेको हो । चालु आवका लागि १ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन भएकोमा हालसम्म २३ करोड रुपियाँ खर्च भएको छ ।
सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको कुल ४२ हजार ७६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाले जनाएको छ ।
४२ हजार ७६६ हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको बताउनुहुन्छ अयोजनाका इन्जिनियर विनेश श्रेष्ठ । श्रेष्ठका अनुसार पश्चिमी मूल नहरको ४५.२५ किलोमिटरको निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३.५० किलोमिटरमध्ये ३७.६८ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ ।
३३ हजार ७६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टर जमिनमा सिँचाइ पुगेको र नौ हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको इन्जिनियर श्रेष्ठले बताउनुभयो ।
पश्चिम तर्फका शाखा–उपशाखा–प्रशाखाहरुको करिब ६० प्रतिशत निर्माण काम सम्पन्न भएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजनाहरु सम्पन्न हुने चरणमा रहेका छन् ।
नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने कुल ४४० हेक्टर जमिनमध्ये हालसम्म केवल १७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालु आवमा मश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लगत इस्टिमेट सम्पन्न भई ठेक्का आह्वान भइसकेको आयोजनाले जनाएको छ ।
त्यसैगरी पूर्वी मूल नहरको नरैनापुरसम्मको एक्सटेन्सनसम्बन्धी कार्यहरु गर्न डिजाइन, वातावरणीय अध्ययन लगायतका कार्य सम्पन्न गरी ठेक्का व्यवस्थापनको तयारीमा रहेको, उपभोक्ता समितिहरु गठन गर्ने क्रममा रहेको, स्वीकृत गुरुयोजना अनुसार गुरुवागाउँ र अन्य शाखा नहर विस्तारको कार्य अन्तर्गत गुरुवागाउँ, अकलघरवा, पर्सेनीपुर, गोहावा, पिडारी शाखा नहरको निर्माण कार्य भइरहेको र करिब ६० प्रतिशत निर्माण काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
कार्यान्वयनमा समस्या
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएदेखि हालसम्म आउँदा विभिन्न समस्याले गर्दा पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । स्वीकृत गुरुयोजना विपरीत अत्यन्त न्यून बजेट विनियोजन हुनु, स्वीकृत गुरुयोजना अनुरुप निर्माण कार्य गर्नका लागि पनि स्रोत सुनिश्चित्ता लिनुपर्ने व्यवस्था र बहुवर्षीय ठेक्का सहमतिका लागि लामो समयसम्म कुर्नुपर्ने अवस्था हुँदा कार्यान्वयनमा समस्या आएको बताउनुहुन्छ इन्जिनियर श्रेष्ठ ।
त्यसैगरी सिँचित क्षेत्रमा बढ्दो शहरीकरण, जग्गा प्राप्ति कार्य यथाशीघ्र नहुँदा लागत बढ्दो, डुडुवा नहर निर्माणमा विलम्ब हुँदा नहर अतिक्रमण र ढलको रुपमा प्रयोग हुनु, शाखा नहरको कार्य तिब्ररुपमा भइरहँदा रोक्का भइसकेका नहरको जग्गाको मुआब्जा वितरणका लागि आवश्यक पर्ने बजेटमा अत्यन्तै न्यून बजेट विनियोजन हुँदा पनि कार्यान्वयनमा समस्या आएको उहाँले बताउनुभयो ।
श्रेष्ठका अनुसार बनेका योजना अनुसारको बजेट सोही आवमा नआउनु, झण्झटिलो प्रक्रिया हुनु लगायतका कारणबाट काम नियमित हुन नसक्दा पटक पटक म्याद थप गर्नु पर्ने वाध्यताका कारण पनि आयोजना कार्यान्वयनमा ढिलाइ हुने गरेको हो ।
छोटो समयमै सरुवा
आयोजना सुरु भएको १९ वर्षसम्म पुग्दा १५ जना आयोजना निर्देशक (कार्यालय प्रमुख) फेरिएका छन् । २०७८ साउनदेखि हालसम्म मात्र पाँच जना कार्यालय प्रमुखको सरुवा भएको छ । २०७८ साउन ५ गते सरुवा भई निमित्त आयोजना निर्देशकका रुपमा आउनुभएका रामप्रसाद अर्याल जम्मा चार महिना मात्र टिक्नुभयो । उहाँको मङ्सिर महिनामा सरुवा भयो त्यसपछि आयोजना निर्देशकका रुपमा डा. सन्तोष कैनी मङ्सिरको २० गते आउनुभयो ।
डा. कैनी आएको करिब ९ महिनापछि उहाँको अन्यत्र सरुवा भएपछि त्यस ठाउँमा रमेशकुमार सिंह २०७९ भदौ १५ गते आयोजना निर्देशकका रुपमा आउनुभयो । त्यसैगरी २०८० असोज ८ गते देवराज निरौलालाई पठाइयो । निरौलापछि २०८१ भदौ महिनामा गोपाल शर्मा आयोजना निर्देशकका रुपमा आउनुभयो ।
शर्माको पनि करिब तीन चार महिनापछि अन्यत्र सरुवा भयो । उहाँको ठाउँमा गत मङ्सिर महिनामा राजु आचार्य निमित्त आयोजना निर्देशकका रुपमा आउनुभएको छ ।
छोटो समयमा आयोजना प्रमुख (कार्यालय प्रमुख) को सरुवा हुँदा पनि आयोजना कार्यान्वयनमा समस्या आउने गरेको छ । सम्बन्धित मन्त्रालयका मन्त्री परिवर्तन हुँदा आयोजनाका प्रमुख समेत परिवर्तन हुने गरेका कारण पनि आयोजना प्रमुखले पूरा कार्यकाल बसेर काम गर्न नपाउँदा समस्या आउने गरेको छ ।
सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरबाट राप्तीसोनारीको वडा २, ८ र ९, कोहलपुरको १०, बैजनाथको ५ र ७ त्यसैगरी सोही अन्तर्गतको सिधनिया शाखा नहरबाट कोहलपुरको ७, डुडुवाको १, २, ३, ४ र ५ डुडुवा शाखा नहरबाट कोहलपुरको ८, १० र १५, जानकीको ६, नेपालगन्जको १३, १४, १५, १८, १९, २०, २१, २२ र २३ अकलगरहवा शाखा नहरबाट कोहलपुरको ६, १४ र १५ गोहवा उपशाखा नहरबाट वडा ९ र १५ मा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।
त्यसैगरी पर्सेनीपुर शाखा नहरबाट कोहलपुर १५, बैजनाथ ७, खजुरा ४, पिडारी शाखा नहरबाट बैजनाथ ४, गुरुवागाउँ शाखा नहरबाट बैजनाथ ५ र ७, खजुरा ५, ७ र ८, खजुरा उपशाखा नहरबाट जानकी ३, ४, ५ र ६, मानपुर उपशाखा नहरबाट जानकी ३ र ५, नेपालगन्जको १७ र १८ त्यसैगरी पूर्वी मूल नहरबाट राप्तीसोनारीको ३, ४, ५, ६ र ७, नरैनापुरको ४, ५ र ६ नम्बर वडाहरुमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ ।
राष्ट्रिय गौरवको आयोजना भएता पनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानुनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटो छरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइ आयोजनाका पदाधिकारीको भनाइ छ ।