• २० पुस २०८१, शनिबार

‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा लागेका छौँ: मुख्यमन्त्री लामा

blog

मेलम्ची नगरपालिका–९ स्थित गुफाडाँडामा आयोजित पाँचौँ जलवायु दिवसलाई सम्बोधन गर्नु हुदैं मुख्यमन्त्री बहादुर सिं लामा । तस्बिर: चित्र

चित्र मिजार

सिन्धुपाल्चोक, पुस १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विकसित मुलुकले नेपाललाई जलवायु परिवर्तनमा पुर्‍याएको क्षतितर्फ बागमती सरकारको ध्यानाकर्षण भएको बताउनुभएको छ । मेलम्ची नगरपालिकाद्धारा पर्यटकीय नगरी गुफाडाँडामा आयोजित पाँचौँ जलवायु दिवसलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री लामाले विकसित राष्ट्रले औद्याेगीककरणका विकास क्रममा कार्बन उत्सर्जनले नेपाल जस्ता मुलुकलाई गम्भीर असर पुगेकोले असर न्यूनीकरणमा बागमती प्रदेश सरकार गम्भीर भएर लागिरहेको बताउनुभएको छ ।

मेलम्ची नगरपालिका–९ स्थित २ हजार दुई सय ५० मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउन बागमती प्रदेश सरकार लाग्ने उहाँले बताउनुभयो  मेलम्ची नगरपालिकाले गुफाडाँडालाई जलवायु परिवर्तन अध्ययन केन्द्रमा विकास गर्नुपर्ने, विकसित राष्ट्रले उत्सर्जन गरेका कार्बनले नेपाललाई पुर्‍याएको असरको क्षतिपूर्ति पाउनुपर्ने, गुफाडाँडामा २०७५ सालबाट सुरु भएको जलवायु सम्मेलनको दिनलाई विश्व मान्यता दिइनुपर्नेमा नगरप्रमुख आइतमान तामाङले नेपाल सरकार, बागमती प्रदेश सरकार समक्ष प्रस्ताव पेस गर्ने निर्णय भएको बताउनुभएको छ । 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामालगायतले नेपाल र सिन्धुपाल्चोकमा जलवायु परिवर्तनका असरले बर्सेनि विपदले जनधनको क्षति भइरहेको औँल्याउनुभएको छ । बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डा.गङ्गादत्त नेपालले जलवायु परिवर्तनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जलवायु परिवर्तनले पुर्‍याएको असर र न्यूनीकरणका उपायका बारेमा उहाँले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त दिवसमा विद्यार्थीहरुले विभिन्न झाँकीलगायतका विभिन्न प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा हजारौँको उपस्थिति थियो ।