• २० पुस २०८१, शनिबार

रसालीको ‘परदेशीको मन’

blog

तानसेन समाचारदाता

तानसेन, पुस १८ गते । सर्जक राजु रसालीद्वारा लिखित ‘परदेशीको मन’ कवितासङ्ग्रह विमोचन गरिएको छ । पुस्तकको दलित समुदायका अगुवा सूर्यप्रकाश दर्नालले तानसेनमा आयोजित एक कार्यक्रममा विमोचन गर्नुभयो ।

विमोचित कवितासङ्ग्रहमा ५१ वटा शीर्षकमा कविता समावेश छन् । विदेशका भोगाइ, प्रदेशीको जीवनका पीडा, मातृभूमिको मोह, परिवार र समाजप्रतिको उत्तरदायित्वलाई कवितासङ्ग्रहमा कविले प्रस्तुत गर्नुभएको छ । रसालीले २१ औँ शताब्दीमा पनि नेपाली समाज छुवाछुत, जातीय विभेद जस्ता मुद्दामा  अल्झिएकाले त्यसले समाज विकासमा नकारात्मक प्रभाव पारेको अनुभूति कवितामार्फत राख्नुभएको छ ।

दर्नालले कवि रसालीको साहित्यिक यात्रामा यस कवितासङ्ग्रहले उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । साहित्यकार गणेश नेपालीले यो कवितासङ्ग्रह सीमान्तकृत समुदायको न्याय र समानताको पक्षमा केन्द्रित रहेको उल्लेख गर्नुभयो ।