गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १८ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा बन्दै गरेको २२०/१३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । मस्र्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण गरिएको ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित उक्त सबस्टेसन मङ्गलबार विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सबस्टेसन सँगै ८२ किलोमिटर लामो मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन पनि पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौँसम्म यो प्रसारण लाइन बनाइएको हो । मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो ।
मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मस्र्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौँको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको छ ।
मातातीर्थ सबस्टेसन गत वैशाखबाट सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मस्र्याङ्दी नदी कोरिडोरका जलविद्युत् आयोजनाको विद्युत् ल्याउन र देशको एकीकृत विद्युत् प्रणालीको भोल्टेज सुधार गर्न सहयोग पुग्ने बताउनुभयो । “आगामी जेठभित्र निर्माणाधीन मार्कीचोक–भरतपुर खण्ड सम्पन्न गरी भरतपुरतर्फ पनि विद्युत् पठाउन मिल्ने छ,” उहाँले भन्नुभयो ।
मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभन्ज्याङसम्म मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन आइपुग्छ । बाडभन्ज्याङमा त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनलाई एकआपसमा आबद्ध गरिएको छ । त्रिशूली र मस्र्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभन्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।