• ७ असार २०८२, शनिबार

सभामुखबाट ध्यानाकर्षण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ७ गते । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर रोकिएको छ । प्रश्नोत्तरका क्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध कायमै राख्ने जनाएपछि अन्तिम समयमा प्रश्नोत्तर रोकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नोत्तरका लागि संसद् भवनसमेत पुग्नुभएको थियो । अवरोध भएपछि विशेष कारण भन्दै बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले प्रश्नोत्तर स्थगित गर्नुभएको हो । यसअघि जेठ ६ गते पनि प्रश्नोत्तर स्थगित भएको थियो । 

सम्भावित विरोधलाई लिएर सभामुख घिमिरेले सहजीकरणको प्रयास गर्नुभएको थियो । प्रश्नोत्तर सञ्चालनको सहयोगका लागि उहाँले रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलाई आग्रह गर्नुभएको थियो तर सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गरेको थियो । लगत्तै बसेको बैठकमा रास्वपाले अवरोध गरेको हो । 

शुक्रबार बैठक सुरु भएसँगै रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उठेर विरोध जनाउँदै समय माग गरेका थिए तर सभामुखले बस्न आग्रह गर्दै सोपछि मात्र समय दिने बताउनुभयो । रास्वपाले सांसदले समय नपाएको भन्दै होहल्ला गरेपछि सत्तापक्षका सांसदले पनि विरोध जनाएका थिए । नेकपा (एमाले) का दामोदर पौडेल र तारा लामाले सदनमा अनावश्यक विषयमा बोल्ने र शब्द चयनसमेत उचित नभएको भन्दै आपत्ति जनाएका थिए । 

यसअघि बैठक अवधिभर रोस्ट्रमसामु नाराबाजी गर्दै आएको रास्वपाले शुक्रबारदेखि भने संसद् बैठक बहिस्कार सुरु गरेको छ । 

नियमावलीको अवमूल्यन भयो 

संसदीय कारबाहीमा सहभागीका क्रममा सांसदबाट नियमावलीविपरीतका कार्य भइरहेको भन्दै सभामुख देवराज घिमिरेले नियमावली पालनका लागि आग्रह गर्नुभएको छ । पछिल्लो समय सदनको अवरोधका क्रममा लगाइएका नारा र त्यसमा भएका प्रतिवादसमेत प्रतिनिधि सभा नियमावलीको नियमविपरीत भएको भन्दै आलोचना भइरहेका बेला सभामुखले यस्तो बताउनुभएको हो । 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख घिमिरेले बैठकमा पालना गर्नुपर्ने नियम, छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमका साथै वक्ता सदस्यले बोल्ने क्रममा पालना गर्नुपर्ने नियमबारे ध्यानाकर्षण गराउनुभएको हो । 

मन्त्री नहुँदा छलफल रोकियो

विभागीय मन्त्री उपस्थित नहुँदा दुई मन्त्रालयको वार्षिक बजेटको छलफल रोकिएको छ । शुक्रबार छ वटा मन्त्रालयको छलफल तोकिए पनि दुई मन्त्रालयको छलफल सूचीबाट हटाइएको हो । युवा तथा खेलकुद र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल सूची हटाइएको हो । 

मन्त्रालयगत बजेट छलफल प्रारम्भ भएसँगै सभामुख घिमिरेले खर्च कटौतीको प्रस्ताव पेस गर्न सांसद अमरेशकुमार सिंहलाई समय दिनुभएको थियो । सिंहले धारणा राख्न सुरु नगर्दै कांग्रेस सांसद रामहरि खतिवडाले सबै मन्त्री नरहेको भन्दै छलफल स्थगित गर्न आग्रह गर्नुभएको थियो । यस्तै वक्ता सिंह र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले समेत मन्त्री नभएकोमा आपत्ति जनाएपछि सभामुखले दुई मन्त्रालयको छलफल स्थगित गर्नुभएको हो । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको शीर्षकमा छलफल भएको छ ।