चाँदनी आचार्य
घोडाघोडी (कैलाली), पुस १७ गते । कैलालीको घोडाघोडी नगरपालिकामा नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा खेलकुद समितिको आयोजनामा वडा नम्बर १० पहलमानपुरमा रहेको कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता बुधबारदेखि सुरु भएको हो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” मूल नारासहित सुरु भएको कार्यक्रमको उद्घाटन नगर प्रमुख खडकबहादुर रावतले गर्नुभयो । उद्घाटन कार्यक्रममा नगरप्रमुख रावतले विद्यार्थीको शारीरिक, मानसिक र भौतिक विकासका लागि खेलकुदको आवश्यकता रहेको बताउनुभयो । हरेक वर्ष पालिकाले यस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दैआएको समेत उहाँले उल्लेख गर्नुभयो ।
नगरपालिकाले खेल क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै उहाँले यस क्षेत्रका खेलाडीहरूले राम्रो प्रदर्शन गरेर जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पालिकाको नाम राख्न सफल भएको बताउनुभयो ।
पुस १२ र १३ गते आधारभूत तहको अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता विभिन्न पाँच क्लस्टरमा सञ्चालन गरी पुस १७ गतेदेखि नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता पुस २० गतेसम्म सञ्चालन हुने बताइएको छ । नगरस्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगितामा नगरभित्रका २४ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, दौड र एथलेटिक्स लगायतका खेलहरू सञ्चालन हुने समितिका अध्यक्ष धनबहादुर बमले बताउनुभयो ।