• २० पुस २०८१, शनिबार

प्रतिष्ठान संरक्षक परिषद्लाई निरन्तरता दिनुपर्ने सुझाव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १७ गते । तिलगङ्गा आँखा प्रतिष्ठानका पदाधिकारीले विद्यमान सञ्चालक समितिलाई नै विश्वविद्यालय स्थापना भएपछिको संरक्षक परिषद्मा निरन्तरता दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा उनीहरूले यस प्रकारको धारणा व्यक्त गरेका हुन् । छलफलमा राष्ट्रिय सभाका सदस्यहरूले विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पर्ने स्रोत र संरक्षक परिषद्को गठन तथा संरचनाबारे चासो व्यक्त गरेका थिए ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी छलफलमा संरक्षक परिषद्को गठन कसरी हुने भनी राखेको जिज्ञासामा प्रतिष्ठानका पदाधिकारीले विश्वविद्यालयमा परिणत भएलगत्तै प्रतिष्ठानको सञ्चालक समितिलाई नै संरक्षक परिषद्मा निरन्तरता दिनुपर्ने बताए । 

छलफलमा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले वर्षौंदेखि निःस्वार्थ सेवा गरिरहेका सञ्चालक समितिका सदस्यलाई सम्मानपूर्वक बिदाइका लागि समेत सो व्यवस्था गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनालले भन्नुभयो, “वर्तमान सञ्चालक समितिले निःस्वार्थ, कुनै खर्च नलिईकन हालसम्म सेवा गरेको छ । प्रतिष्ठानले आर्जन गरेको ख्यातिमा उहाँहरूको भूमिका सबैभन्दा बढी छ । ससम्मान बिदाइका लागि पनि उहाँहरूलाई विश्वविद्यालयको संरक्षक परिषद्मा एक कार्यकाल निरन्तरता दिनु पर्छ ।”

संरक्षक परिषद् विश्वविद्यालयको सर्वोच्च निकाय हुने विधेयकमा प्रस्ताव गरिएको छ । परिषद्मा अध्यक्षसहित १५ जना सदस्य रहने व्यवस्था गरिएको छ । मनोनीत सदस्यको पदावधि चार वर्षको हुने र पुनः मनोनयन हुन सक्ने विधेयकमा प्रस्ताव गरिएको छ । 

छलफलमा समितिका सदस्य डा. वेदुराम भुसाल, नारायणकाजी श्रेष्ठलगायतले समितिका सदस्यहरूले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक जग्गा, जनशक्ति, उपकरण, पूर्वाधार तथा सञ्चालक समितिको संरचनाबारे चासो व्यक्त गर्नुभयो । प्रमुख सञ्चालक अधिकृत पीताम्बर अधिकारीले कामको पहिचान र विश्वविद्यालयको नाम मात्रै नजोडिए पनि प्रतिष्ठानले विश्वविद्यालयले गरिरहेको अधिकांश काम आफ्नै व्यवस्थापनमा गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अस्पताल सञ्चालनमै छ । पठनपाठन भइरहेकै छ । पाठ्यक्रम तयार गर्न सुझाव दिएकै छौँ । अनुसन्धान कार्यक्रम चलाएकै छौँ । विश्वविद्यालयको ‘ट्याग’ मात्रै नभएको हो ।” ३१ वर्षअघि स्थापना भएको प्रतिष्ठानले हालसम्म ९० लाख ५८ हजार ३६२ जनालाई सेवा दिएको छ । पाँच लाख ५७ हजार २८४ जनाको आँखाको शल्यक्रिया गरेको छ । १४ हजार ३३८ वटा कोर्निया उपलब्ध गराउनुका साथै प्रत्यारोपण गरेको छ । प्रतिष्ठानबाट ७९० जनाले नेत्र विज्ञान/आँखा विशेषज्ञ तथा छात्रवृत्तिमा एमडी उपाधि लिएका छन् । २७४ वटा अनुसन्धान तथा विकासको उपलब्धि २८९ वटा जर्नलमा प्रकाशन गरिएका छन् । 

वित्तीय अधिकृत खनालले प्रतिष्ठान सञ्चितिमै रहेको र विश्वविद्यालय सञ्चालनका लागि राज्यमाथि बोझ नहुने दाबी गर्नुभयो । समितिका सदस्यले पूर्वाधार निर्माण तथा विश्वविद्यालय स्थापना गर्न आवश्यक पर्ने जग्गाबारे प्रतिष्ठानका पदाधिकारीलाई स्पष्ट पार्न आग्रह गर्नुभयो । 

प्रतिष्ठानले पशुपति विकास कोषसँगको समझदारीमा तिलगङ्गा क्षेत्रमै जग्गा भाडामा लिएर उपभोग गर्दै आएको छ । सञ्चालन अधिकृत अधिकारीले काठमाडौँमै ६५ रोपनी जग्गा पुर्‍याउने प्रक्रियामा रहेको जानकारी गराउँदै भन्नुभयो, “तिलगङ्गामा प्रतिष्ठानले उपभोग गर्दै आएको १३ रोपनी जग्गाबाहेक सोही क्षेत्रमा जग्गा दिन स्थानीय तयार छन् । अन्यत्र गरेर ७० रोपनी जग्गा हाल प्रतिष्ठानको अधीनमा छ ।”