• १९ पुस २०८१, शुक्रबार

आहा  ! लेउका परिकार

blog

लेउ भन्ने बित्तिकै हरियो काम नलाग्ने र फोहोर वस्तुका रूपमा त्यसलाई धेरैले बुझ्ने गरेका छन् । यसरी सतही रूपमा लेउको मूल्याङ्कन गर्दा लेउमाथि नै अन्याय पर्न जान्छ । 

विश्वमा पाम तेलको विकल्पका रूपमा लेउको प्रयोग बारेमा अनुसन्धानसमेत सुरु भएको छ । लेउ विभिन्न प्रकार हुन्छन् । यो विश्वका अधिकांश भागमा पाइन्छ । लेउलाई फ्याटी एसिड, प्राकृतिक खाद्य रङ, खाना, मल, बायोप्लास्टिक, रासायनिक फिडस्टक (कच्चा सामग्री), जनावरका लागि प्रोटिनयुक्त खानेकुरा, इन्धनका रूपमा समेत प्रयोग गरिन्छ । विश्वमा लेउको धेरैभन्दा धेरै प्रयोग कसरी गर्न सकिन्छ भनेर खोज भइरहेका छन् । 

लेउलाई सही रूपमा प्रयोग गर्न सकेमा आर्थिक उपार्जन गर्न सकिन्छ भने मानव स्वास्थ्यलाई समेत यो लाभदायक हुन्छ । नेपालमा पाइने एक विशिष्ट लेउ, जुन पहाडी जिल्लामा सफा भएर बग्ने साना खोला र खोल्सामा पाइन्छ, लाई सङ्कलन गरेर त्यसको परिकार बनाउन सकेमा त्यो आर्थिक उपार्जनको महत्वपूर्ण माध्यम बन्न सक्छ ।

‘लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ ।’ भन्ने आमबुझाइ छ, लेउका बारेमा तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की हुने गरेको कमै मानिसलाई थाहा होला । मध्यपहाडी जिल्ला काभ्रेपलाञ्चोकको रोसी खोला, बेथानचोक, ढुङ्खर्क र काठमाडौँको फुल्चोकी पहाड वरिपरि भएर बग्ने ससाना ठाडा खोलामा पाइने लेउ स्वादिलो हुने भएकाले दरबार र पाँच तारे होटलको भान्सासम्म पुग्ने गरेका थिए । पनौतीका बजारमा अझै पनि लेउ किन्न पाइन्छ भने पनौतीका केही होटलमा सिमलीबाट बनेका परिकारसमेत उपलब्ध हुन्छन् । एक वर्षअघि बनेपामा भएको कृषि महोत्सवमा समेत लेउ बेच्न राखिएको थियो । जसलाई स्थानीयले सिमली भन्ने गर्छन् ।

लेउका बारेमा विभिन्न खोज पनि भएका छन् । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागको राष्ट्रिय हर्वेरियम तथा वनस्पति विभागले लेउ (एल्गी) को आर्थिक महत्वका बारेमा खोज तथा अनुसन्धान गरेको छ । सो अध्ययनले लेउलाई खानाका रूपमा समेत प्रयोग हुने गरेको र यसको प्रयोग लामो समयदेखि भएको प्रमाणसमेत जुटाएको थियो । 

नेपालमा पाइने एक विशिष्ट लेउ, जुन पहाडी जिल्लामा सफा भएर बग्ने साना खोला र खोल्सामा पाइन्छ, लाई सङ्कलन गरेर त्यसको परिकार बनाउन सकेमा त्यो आर्थिक उपार्जनको महत्त्वपूर्ण माध्यम बन्न सक्छ ।

तिहारका बेलामा पनौती क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइलाई लेउको विशेष परिकार बनाएर खुवाउने गरेका छन् । दिदीबहिनीले तेल वा घिउमा लेउलाई पापड जस्तै तारेर दाजुभाइलाई दिने चलन छ । लेउको परिकार खायो भने नसा र पिसाबसम्बन्धी रोग पनि निको हुने विश्वास गरिन्छ । आफ्ना दाजुभाइलाई नसा र पिसाबसम्बन्धी रोग नलगोस् भनेर तिहारमा सिमलीको परिकार खुवाउने प्रचलन रहिआएको छ । यो तामाङ समुदायमा धेरै प्रचलित देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो हुने र असला माछाको जस्तै स्वाद पाइने भएकाले सिमली पनौतीमा रुचाइएको खानेकुरामा पर्दछ । 

कात्तिकदेखि फागुनसम्म पाँच महिना घाम लाग्ने सफा उच्च प्रवाहमा बग्ने पानीभित्र ढुङ्गामा टाँसिएर रहने सिमलीलाई नै  लेउ भनिन्छ । यो लेउ एक हजार पाँच सयदेखि दुई हजार मिटर उचाइका खोलामा पाइन्छ । नेपालमा ९९८ प्रकारका लेउ पाइने वनस्पति विभागले जनाएको छ । 

खोलाको ढुङ्गामा टाँसिएर रहेको लेउलाई स्थानीयले सङ्कलन गरी बिस्कुन सुकाउने मान्द्रामा राखेर करिब आठ इन्चको वर्गाकार पापड बनाउने गर्छन् । पापडलाई राम्रोसँग घाममा सुकाएर भण्डारण गर्छन् । उनीहरूले रुचि र स्वाद अनुसार फरक फरक परिकार बनाएर खान्छन् । स्थानीयले घरायसी प्रयोजनसँगै सिमलीलाई आयआर्जनको वस्तुका रूपमा पनि कारोबार गर्छन् । 

वनस्पतिविद् डा. मोहनलाल वनर्जीले सन् १९५५ मा जर्नल अफ दी बम्बे नेचुरल हिस्ट्री सोसाइटीमा प्रकाशित लेखमा सिमली इन्द्रचोकको बजारमा पाइने उल्लेख गरेका थिए । त्यसैलाई पछ्याउँदै ६२ वर्षपछि सन् २०१७ मा राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा त्यसको अनुसन्धान सुरु गरिएको थियो । 

त्यो अनुसन्धानले पनौतीका किराना पसलमा अझै पनि सिमली पाइने तथ्य फेला पारेको छ । सबै पसलमा नपाइए पनि मङ्सिर र पुसमा केही पसलमा सिमली पाउने कुरा त्यसमा उल्लेख गरिएको छ । 

पनौती पर्यटन केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार  असला माछा लोप हुने अवस्थामा पुगेसँगै सिमली पनि लोप हुने अवस्थामा पुगेको छ । असला माछाको मुख्य आहार नै सिमली रहेकाले त्यसको स्वाद असला माछाको जस्तै हुन्छ । 

पनौतीमा पर्यटक भित्र्याउन एउटा उपयोगी सामग्रीका रूपमा सिमली पनि पर्न सक्ने भएकाले यसको संरक्षण र चासो अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । 

आफूले किराना पसल सञ्चालन गर्दा हिउँदमा सिमली ल्याएर बेच्ने गरेको, अहिले भने सिमली पाउन नै मुस्किल पर्न थालेको उनले जानकारी दिए । २०५५ सालसम्म मज्जाले सिमली पाउने गरेको उनको भनाइ छ । 

त्यसपछिका दिनमा विकास निर्माणले खोलामा अतिक्रमण सुरु गरेपछि लेउ मासिन थालेको उनले स्पष्ट पारेका छन् ।   

“२०५५ सालसम्म स्थानीय मास्के धउ बाज्याले त राणा र राजाको दरबारसम्म सिमली लगेर बेच्ने गर्नुहुन्थ्यो । उहाँको निधनपछि पनौतीबाट सिमली दरबारमा जान छाडेको हो,” कर्माचार्य भन्छन् । पनौतीसँग राजदरबारको घनिष्ठ सम्बन्ध सिमलीले बनाएको उनको दाबी छ ।  

वनस्पति विभाग प्रयोगशाला, ललितपुरले गरेको अध्ययन अनुसार सिमलीमा प्रोटिन, कार्बोहाइड्रेट, बोसो, रेसा, क्षार र फलाम तत्व पाइन्छ ।  

पानीमा बढिरहेको प्रदूषणले नै सिमली लोप हुने अवस्थामा पुगेको भन्न सकिन्छ । सिमली पाइने क्षेत्रमा क्रसर उद्योग स्थापना भएसँगै पानी धमिलो हुन थालेपछि सिमलीको अस्तित्व नै मेटिने अवस्थामा पुगेको छ । गत असोजको बाढीले वितण्डा मच्चाएपछि यस वर्ष सिमली कम पाइने अनुमान गरिएको छ । 

पनौतीका विवेक भट्टराई भन्छन्, “ढुङ्गाखानीका कारण रोसीको पानी प्रदूषित हुँदै जाँदा सिमली सङ्कटमा पर्दै गएको छ ।”

वनस्पति विभागले २०७७ सालमै गरेको एक अध्ययनले पनि खानीबाट ढुङ्गा निकाल्दा पानी धमिलो हुनेलगायतका समस्याले लेउ हराउँदै गएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।  बेथानचोक ढुङ्खर्कका बद्री तिमल्सिनाका अनुसार खोलामा माछा मार्न प्रयोग हुने रसायन, कृषिजन्य र घरेलु फोहोरले पानी प्रदूषित हुँदा लेउ सङ्कटमा परेको छ । 

अध्ययनका क्रममा गोदावरीमा पनि सिमली लेउ फेला परेको थियो तर गोदावरी खोलाको पानी खानेपानी तथा सिँचाइका लागि सङ्कलन गर्न थालिएपछि सिमली लेउ हराएको छ । लेउ उत्पादन हुने ठाउँभन्दा माथिबाट नै खानेपानीका लागि पानी सङ्कलन हुन थालेपछि लेउ सङ्कटमा परेको थियो । 

सिमली लेउको वृद्धिका लागि सूर्यको प्रकाश चाहिन्छ । गोदावरीमा झाडीले सूर्यको प्रकाश छेक्नाले समेत गोदावरीमा सिमली लेउ लोप हुने अवस्था आयो । यस्तो अवस्था पनौतीमा आउन नदिने हो भने सिमली लेउ संरक्षणमा विशेष पहल आवश्यक भएको छ । 

 –युवामञ्च