हरिप्रसाद कोइराला
उर्लाबारी, पुस १५ गते । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि मोरङको पथरीशनिश्चरे –१० जिरिखिम्तीमा बसेको निर्माण कम्पनीको अस्थायी क्याम्पले स्थानीय बासिन्दालाई दुःख दिन थालेको छ ।
स्थानीय जग्गाधनी र साँधसधियारको सहमतिबिना बसेको क्याम्पले सुरुमा एउटा सम्झौता गरेर हाल सम्झौतामा उल्लेख भएका काम नगरेको स्थानीयले बताएका छन् । पथरीशनिश्चरे –१० जिरिखिम्तीका गङ्गाबहादुर कट्वाल, गणेश कट्वाल, ओविन कट्वाल लगायतको झण्डै आठ बिघा जमीन ८ वर्षका लागि लिजमा लिएर निर्माण कम्पनी बसेको छ ।
क्याम्प बस्नुअघि जग्गाधनी र कम्पनी सञ्चालकले स्थानीयलाई पौडीपोखरी, शौचालय, ब्याडमिन्टन कोर्टलगायत बनाइदिने र त्यो स्थानीयले प्रयोग गर्न पाउने भनिएको थियो । गत साउन १ गते यता स्थानीयले ब्याडमिन्टन र पौडी खेल्न होइन, क्याम्प परिसरभित्र छिरेर आफ्ना समस्या समेत राख्न नपाएको बताएका छन् ।
स्थानीय सरकार मात्र होइन, कम्पनी रजिष्ट्रार कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले समेत सामान्य उद्योग खोल्नुपूर्व साँध संधियारको सहमति माग्छ । सहमति प्राप्त भएपछि सर्जमिन गरी वडाको सिफारिस लगेपछि उद्योग दर्ताको प्रमाणपत्र पाइन्छ ।
स्थानीय विदुर बस्नेतले भन्नुभयो, “हाम्रो सहमतिबिना क्याम्प बस्यो, हामीले केही पनि भनेनौं । हाल आएर पानी ल्याउने राज कुलो पुरिदिएको छ । हामीले पटक पटक कुलोको व्यवस्था गरिदिनु पर्ने माग राख्यौं । हाम्रो कुराको सुनुवाई भएन ।”
स्थानीय डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि निरौलाले भन्नुभयो, “हामी विकास विरोधी होइनौं । विकास हुनुपर्छ । मानव स्वास्थ्यमा असर नपारिकन काम गर्नुपर्ने हाम्रो माग हो ।”
पूर्वपश्चिम राजमार्ग विस्तार आयोजना पश्चिम खण्डका आयोजना प्रमुख जगत प्रजापतिले स्थानीय र कम्पनीबिचको विवादबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।
निर्माण कम्पनी वेदालय कन्ट्रक्सन प्रालिका अध्यक्ष सीताराम अर्यालले भन्नुभयो, “उहाँहरू एउटा समिति बनाएर समस्या लिई आउने भन्नुभएको छ । उहाँहरूको माग पूरा गर्न हामी तयार छौं ।”