• ६ माघ २०८१, आइतबार

चिसो मौसममा आँखामा हुने समस्या र उपचार विधि

blog

काठमाडौं, माघ ६ गते । चिसो मौसममा वायुमण्डलमा देखिएको अदृश्य जलवाष्पका कारण सापेक्षिक आद्रता कम हुँदै जाने गरेको छ । उक्त मौसममा हावा बढी चल्ने पनि गर्दछ । मानिसले पानी प्रशस्त मात्रामा नपिँउदा शरीर सुख्खा हुँदै जाने गर्दछ ।

 चिसोको समयमा आँखा सुख्खा बढी हुन्छ ।  चिसो मौसममा भाइरसको सक्रियता बढी हुन्छ । शरीरको रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । जसका कारण भाइरल कन्जन्टिभाइटिस  इन्फेक्सन हुन्छ जसलाई आई फ्लू भनिन्छ । आई फ्लू एक प्रकारको सरुवा रोग हो । उक्त रोग एक आँखाबाट अर्को आँखामा सर्छ ।  सङ्क्रमित व्यक्तिको चिप्राबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्दछ  ।

 यसैगरी, चिसो मौसममा सिजनल एलर्जी (आई एलर्जी) आँखा रातो हुने, चिलाउने, बिजाउने, पोल्ने, दुख्ने, आँसु आउने, आँखाको डिलहरू सुनिने र कडा किसिमको चिप्रा आउने समेत हुन्छ ।

 चिसो मौसममा मानिस धेरै बाहिर ननिस्किने र घरमै बसेर मोबाइलमा बढी सक्रिय हुँदा (कम्युटर भिजन सिन्ड्रम) देखिन्छ । जसमा आँखा बढी थाक्ने, टाउको दुख्ने, आँखा सुख्खा हुने, आँखाबाट आँसु आउने हुन सक्छ । 

चिसो बढेसागै मोतिविन्दुका शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । चिसोले गर्दा मोतिविन्दुका बिरामी बढी हुन्छ भन्ने होइन । आँखाको शल्यक्रिया चिसो मौसमा गर्दा उपयुक्त हुन्छ भन्ने जनविश्वासका अनुसार मोतिविन्दुका बिरामी बढ्दै गएका छन् । 

हिमपात हुने क्षेत्रमा चिसो मौसमका बेला आँखाको नानीमा घाउ हुनसक्ने आँखा दुख्ने, आँसु बढी आउने देखिन्छ । 

यसलाई फोटोकेराटाइटिस भनिन्छ । यो भनेको सूर्यको किरण हिमपातमा ठोकिएर आँखामा रिफ्फ्लेट हुने भएकाले आँखामा यो समस्या आउने गर्छ । योबाट बच्नका लागि हिमाली क्षेत्रमा जाडो मौसममा एन्टि रिफ्लेक्टिभ वा पोलारोइड ग्लासेस लगाउन आवश्यक छ । 

सुख्खा आँखाबाट बच्नका लागि सकेसम्म चिसो मौसममा घर बाहिर ननिस्किँदा राम्रो हुन्छ । यदि निस्कनै परेमा आँखामा रक्षाका लागि उचित किसिम र साइजको चश्मा लगाउन उपयुक्त मानिन्छ ।  आँखा धेरै नै सुख्खा भएमा डाक्टरको सल्लाह अनुसार झोल औषधी (आर्टिफिसिय टियर्स) प्रयोग गर्न सकिन्छ । त्यसभन्दा बाहेक घरभित्र बस्दा धेरै समय सुख्खा हिटरको प्रयोग नगर्ने, हिटर वा आगोको नजिक नजाने, यदि बस्नै परेमा आगो वा हिटर बाल्दा कोठामा एउटा भाडामा पानी राख्नुपर्छ । यसका अलावा कोठमा हावा आवत जावत गर्न हुने गराउनुपर्छ । 

आई फ्ल्यूबाट बच्नका लागि धेरै भिडभाडमा नजाने, समय समयमा साबुन पानीले हात धोइराख्ने, हातलाई आँखामा नलैजाने ।  

त्यति गर्दागर्दै पनि समस्या देखिएमा डाक्टरसँग सल्लाह गरेर आवश्यक उपचार लिन सकिन्छ । सिजनल एलर्जीले बच्चालाई बढी असर गर्ने गरेको देखिन्छ । त्यसैले सकेसम्म बच्चालाई चिसोमा लिएर नजाने, तातो पारेर राख्ने, एलर्जीको समस्या देखिहालेमा दक्ष चिकित्सकसँग सल्लाह गरी उपयुक्त उपचार गर्नुपर्ने हुन्छ । 

कम्युटर भिजन सिन्ड्रम हुँदा कम्युटर धेरै नचलाउने र चलाउनै परेमा २०-२०-२० नियम पालन गर्ने गर्नुपर्छ ।  

उक्त नियम भनेको २० मिनेट मोबाइल वा कम्युटर चलाएपछि २० सेकेन्डका लागि कम्प्युटरबाट उठेर २० फिट टाढाको वस्तु हेर्ने हो ।  

सँगै आँखालाई २० देखि २४ पटक खोल्ने चिम्लिने गर्नुपर्छ । यसबाहेक प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ भने ब्लू कट चश्माको पनि प्रयोग गर्न सकिन्छ ।

 मोतिविन्दु देखिएको भएमा डाक्टरको आवश्यक सल्लाहमा शल्यक्रिया गर्न सकिन्छ । अत्यधिक मोबाइल र कम्युटरको प्रयोगले बालबालिकामा दृष्टिदोष (मायोपिया) पनि बढेको पाइन्छ । त्यसैले बच्चालाई अत्यधिक मात्रामा मोबाइल र कम्प्युटरको प्रयोग गर्न दिनुहुँदैन । 

(डा‍. पञ्जियार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ नेत्र रोग विशेषज्ञ हुनुहुन्छ ।)