• १७ पुस २०८१, बुधबार

फिदिममा फाल्गुनन्द गोल्डकपको क्रेज

blog

नारायण तुम्बापो

फिदिम, पुस १४ गते । फिदिममा आयोजना हुने गरेको फाल्गुनन्द गोल्डकप प्रतियागिताको क्रेज पुनर्जीवित भएको छ । कोभिड–१९ महामारी र फिदिमको खेल मैदान मर्मत कार्यका कारण स्थगित यो प्रतियोगिताले छ वर्षपछि आफ्नो पुरानै लोकप्रियतामा फर्किएको छ । 

फिदिम स्पोर्टिङ क्लबद्वारा २०६५ सालबाट आयोजना हुँदै आएको  यो प्रतियोगिता सुदूरपूर्वी पहाडको प्रतिष्ठित प्रतियोगिता हो । विगतबाट नै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तथा क्लव सहभागी गराउँदै सामाजिक विकास प्रवर्धन हुने गरि प्रतियोगिता आयोजना हुने गरेको छ । 

यस कारण प्रतियोगिताप्रतिको आकर्षण लोभलाग्दो हुने गरेको छ । २०७५ बाट स्थगित यो प्रतियोगिता २०८१ पुसबाट ११औँ संस्करणको रुपमा पूर्ववत् अवस्थामा फर्किएको हो । यसले स्थानीय खेलप्रेमीहरूको लामो समयको प्रतीक्षापछि फुटबलको क्रेजलाई पनि पुनर्जीवित गरेको छ । 


फाल्गुनन्द गोल्डकप प्रतियोगिता भइरहँदा यसप्रति स्थानीयकाे आकर्षण उत्साहजनक रहने गरेको छ । प्रतियोगिता सफल पार्न आर्थिक, नैतिक हिसाबले सहयोग गर्न पनि स्थानीयवासी अग्रसर हुने गरेका छन् ।

फाल्गुनन्द गोल्डकपको ११औँ संस्करणले फिदिममा फुटबलको चहलपहल पुनः फर्काएपछि फिदिमको मैदानमा पहिलेको जस्तै दर्शकको घुइँचो लाग्ने अवस्था सृजना भएको छ । प्रत्येक खेलको दौरान प्याराफिट प्रायः भरिभराउ हुने गरेका छन् । 

यो माहोलले फुटबल प्रेमीहरूको लागि एक उत्सव जस्तो बनेको छ । यसले जिल्लावासीका साथै पूर्वी पहाडी छिमेकी जिल्लाहरूबाट समेत खेल हेर्न आउनेहरूको सङ्ख्या विगतका संस्करणहरु जस्तै बाक्लो छ ।

पुसे जाडो, धुलो र अस्थायी बाँसे प्याराफिटको पर्वाह नगरी प्रतियोगितमा रमाउन दर्शक झुम्मिने गरेका छन् । यसले फाल्गुनन्द गोल्डकप प्रतियोगिता प्रतिको क्रेज दर्शाउछ । 

प्रतियोगिताको उद्देश्य र योगदान

फाल्गुनन्द गोल्डकपले पूर्वी पहाडको खेलकुदमा मात्र नभई सांस्कृतिक र सामाजिक पक्षमा समेत गहिरो प्रभाव पारेको छ । यो प्रतियोगिता क्षेत्रीय पहिचानको अभिवृद्धि गर्नेदेखि खेल पर्यटनलाई प्रवर्धन गर्ने माध्यम बनेको छ ।

प्रतियोगिताको नाम नेपालका १६औँ राष्ट्रिय विभूति तथा किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको सम्मानमा राखिनाले प्रतियोगिताले गहिरो सामाजिक महत्व राख्दछ ।

महागुरु फाल्गुनन्द सामाजिक सुधारका प्रेरक व्यक्तित्व मात्र नभई स्थानीय पहिचान, संस्कृतिको संरक्षण र सद्भावको प्रतीक पनि मानिन्छन् । त्यसैले पनि यस प्रतियोगिताले समाजमा सद्भाव, खेलकुदमा समर्पण र स्थानीय पहिचानलाई सशक्त बनाउने प्रयास गरिरहेको छ । 


प्रतियोगिताको आयोजनाले पाँचथर मात्र नभई छिमेकी जिल्ला झापा, इलाम, ताप्लेजुङ र तेह्रथुममा समेत खेलकुदप्रेमीहरूको आकर्षण बढाएको छ । यस अवधिमा, फिदिम बजारमा फुटबल चाडको झल्को दिने चहलपहल देखिनु, स्थानीय व्यवसाय प्रवद्र्धन हुनु र नयाँ पुस्तामा खेलप्रति उत्साह जागृत हुनु यसको प्रमुख उपलब्धि हो ।

पुनरागमनको महत्व

कोभिड–१९ महामारी र फिदिमको खेल मैदान मर्मत कार्यका कारण स्थगित भएको प्रतियोगिता पुनः सञ्चालनमा आउनु स्थानीय खेलकुद प्रेमीहरूमा ठूलो उत्साह पैदा गरेको छ । फाल्गुनन्द गोल्डकप प्रतियोगिताले आफ्नो पुरानो रौनकता मात्र फर्काएको छैन, प्रतिष्ठा अझ सुदृढ बनाएको छ ।

प्रतियोगिता पुनरागमनका साथै, पुरस्कार राशिको वृद्धि र आकर्षक प्रोत्साहनहरूले प्रतियोगितालाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाएको छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताको आकर्षण र सुनिश्चिता बढाउने विश्वास गरिएको आयोजक अध्यक्ष दीपेन्द्र थापामगरले बताउनुभयो । 

सामाजिक एकता प्रवर्धन

फाल्गुनन्द गोल्डकपको आयोजनामा व्यक्तिगत, सस्थागत र व्यापारिक समूहहरूको सक्रिय सहयोग देख्न सकिन्छ । ११औँ संस्करणको मुख्य प्रवर्तक रहेको फिदिम नगरपालिकाले मात्र यस आयोजनालाई १० लाख रुपियाँ सहयोग गरेको छ । 

तुम्बेवा, कुम्मायक, फाल्गुनन्द लगायत गाउँपालिकाले सहयोगको हातेमालो छ । देश विदेशमा रहेका सयौँ नेपाली फुटबलप्रेमी दाजुभाइले पाँचदेखि ५० हजार रुपियाँसम्म सहयोग गरेका छन् । 


त्यसैगरि दर्जनौँ विभिन्न व्यापारिक समूहबाट ठूलो रासिको आर्थिक सहायता जुटिरहेको छ । प्रतियोगिताको शोभा बढाउन  प्रत्येक खेल हेर्न तीन हजारभन्दा बढी दर्शक दुई सय ५० रुपियाँको टिकट काटेर आएका छन् । यसबाट प्रतियोगिता सफल पार्न ठूलो सहयोग पुगिरहेको छ । 

फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्दै

६ वर्षको अन्तरालपछि पुन: सुरु गरिएको फाल्गुनन्द गोल्डकपको ११औँ संस्करणको  प्रतियोगता २०८१ पुस ५ गतेबाट सुरु भएको हो । १० टोलीको सहभागिता रहेको यस प्रतियोगिताको फाइनलमा सोमबार मच्छिन्द्र र चर्च ब्वाइज क्लबबिच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपियाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान इलेक्ट्रिक स्कुटर र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।