वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, पुस १४ गते । हिउँदे मौसममा लगाइने तोरी खेती सुनसरीका किसानले कम लगाउन थालेका छन् । तोरी खेतीभन्दा मकै खेतीबाट फाइदा हुन थालेपछि किसानको आकर्षण मकै खेतीतर्फ बढ्न थालेको छ । जसका कारणले जिल्लामै तोरी खेती यस वर्ष कम भएको छ । हिउँदे बालीमा मकैमा राम्रो आम्दानी हुने भएपछि किसानको आकर्षण मकै खेतीतिर बढ्दै गएको यहाँका स्थानीय किसानले बताएका छन् ।
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार तोरी खेतीभन्दा मकै खेतीमा किसानको आकर्षण बढ्दा जिल्लामा यस वर्ष तोरी खेती घटेको हो । तोरी खेतीभन्दा मकै खेतीमा फाइदा हुने भएपछि किसान तोरी खेती घटाएर मकै खेती गर्न थालेका उहाँले जानकारी दिनुभयो ।
सुनसरीमा गत वर्ष नौ हजार २७० हेक्टर क्षेत्रफलमा तोरी खेती भएकोमा यस वर्ष नौ हजार १७० हेक्टर क्षेत्रफलमा मात्रै तोरी खेती भएकोे कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत श्रेष्ठले बताउनुभयो । गत वर्षभन्दा यस वर्ष तोरी खेती गरिने क्षेत्रफल पनि घटेको छ भने खेती गर्ने किसानको सङ्ख्या पनि घटेको छ ।
अन्य हिउँदे बाली छाडेर मकै खेती लगाउन थालेको वराहक्षेत्र नगर कृषि विकास शाखाका कृषि प्राविधिक निरबहादुर राईले बताउनुभयो । वराहक्षेत्र नगरपालिका क्षेत्रमा एक हजार ७०० हेक्टर क्षेत्रफलमा तोरी खेती हँुदै आएकोमा यस वर्ष तोरी खेती गर्ने कृषक घटेको वराहक्षेत्र नगर कृषि विकास शाखाले जनाएको छ ।
जिल्लाको इनरुवा, वराहक्षेत्र, रामधुनी, भोव्रmाहा नरसिंह, हनिनगर, कोशी, देवानगन्ज, बर्जु, गढी गाउँपालिकामा व्यावसायिक रूपमा किसानले मकै खेती पनि गर्दै आएका छन् । जिल्लामा गत वर्षको पछिल्लो तथ्याङ्क अनुसार किसानले १० हजार ६४१ हेक्टर क्षेत्रफलमा मकै खेती लगाएकोमा ८३ हजार १२ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
तोरी बाली समशीतोष्ण जलवायु बाली भएकाले यसले धेरै चिसो र कुहिरो सहन सक्दैन । बढी चिसो र कुहिरो लागेका बेला उत्पादनमा कमी आउने गर्दछ । तोरीमा ४० देखि ४५ प्रतिशत तेल हुने भए पनि जलवायु परिवर्तनका कारण रोग, किरालगायतको समस्या देखिन थालेपछि तोरी लगाउने कृषकलाई समस्या हुने गरेको छ । उत्पादनमा समेत कमी हुँदा किसानले तोरी खेती छाडेर मकै खेती गर्न थालेको प्रकाशपुरका कृषक सीताराम चन्द्रवंशीले बताउनुभयो ।