• ३ साउन २०८१, बिहिबार

सरकारको साझा नीति तथा कार्यक्रमबारे बालुवाटारमा छलफल

blog

फाइल तस्बिर

काठमाडौं, जेठ ८ गते। सत्तारुढ पाँच दलका शीर्ष नेताको उपस्थितिमा नयाँ आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमबारेमा शीर्ष तहमा वृहत् छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलका शीर्ष नेताको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रमबारेमा छलफल भएको प्रधानमन्त्रीका प्रमुख प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। गठबन्धनका शीर्ष नेताको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षासमेत भएको छ। 

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्य सचिव शङ्करदास वैरागी छलफलमा सहभागी हुनुहुन्थ्याे।

सरकारले आगामी आर्थिक वर्षका नेपाल सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संसद्को संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको छ। सरकारको नीति तथा कार्यक्रम सदनमा पेस भएपछि सांसदले दिएका सुझावलाई समेत ध्यानमा राखेर वार्षिक बजेट ल्याउने प्रचलन छ।

नेपालको संविधान अनुसार, हरेक वर्षको जेठ १५ गते सरकारको वार्षिक आयव्ययको विवरण बजेट सदनमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।