• १२ पुस २०८१, शुक्रबार

पर्यटन प्रबर्द्धन गर्न लुम्बिनीमा शान्ति पदयात्रा

blog

लुम्बिनी प्रेसक्लबले आयोजना गरेको शान्ति पद यात्रामा सहभागीहरु । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे

लुम्बिनी, पुस ११ गते । भगावन बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रबद्र्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो १० औं स्थापना दिवसको अवसरमा बिहीबार भैरहवाको लुम्बिनी गेटदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म संचार यात्रा गरेको हो ।

‘पर्यटनका लागि शान्ति, शान्तिका लागि संचार यात्रा’ नारासहित गरिएको दोस्रो बौद्ध संचार यात्राले लुम्बिनी क्षेत्रमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ । भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण गरी एक सय बढी पदयात्रामा सहभागी भए । ठाउँठाउँमा स्थानीय र पर्यटन व्यवसायीले स्वागत गरेका थिए । सहभागीहरु बुद्ध धुनको गुन्जनसँग पद यात्रा गर्न पाउँदा निकै हर्षित भए । खासगरी शान्ति, अहिंसा र पंचशीलको सन्देश विश्वमाझ फैलाउने र बुद्ध जन्स्थल लुम्बिनी, पर्यटन क्षेत्र र संचारलाई सँगैसँगै अगाडि बढाउँदा लाभ उठाउन सकिन्छ भन्ने उद्देश्य दिन संचार यात्रा गरिएको प्रेस क्लबका अध्यक्ष कमल रायमाझी बताउनुभयो ।

 बौद्ध संचार यात्राले स्थानीय, प्रदेश, राष्ट्रियस्तरमा मात्रै नभई विश्वमाझ शान्तिको सन्देश फैलाउन र पर्यटन प्रबर्द्धनमा टेवा पुगेको उहाँले बताउनुभयो  ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भैरहवादेखि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीसम्मको यात्राले सकरात्मक ऊर्जा पैदा गरेको बताउनुभयो । पैदलयात्रा गरेर लुम्बिनी पुगेका प्रमुख जिल्ला अधिकारी घिमिरेले २४ किमिको दूरीको यात्राले शरीर थाके पनि मनमा थप ऊर्जा पैदा भएको बताउनुभयो।


लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले गृहत्याग गरेदेखि हिँडेर जीवन बिताएको उल्लेख गर्दै त्यहीबेलाको सन्देश बोकेर सञ्चारकर्मीहरुले पैदलयात्रा गरेकोमा धन्यवाद दिनुभयो । उहाँले बौद्ध सञ्चार यात्राले लुम्बिनी र शान्तिको सन्देशबारे सकारात्मक सन्देश दिएको समेत बताउनुभयो ।

बिहान ७ः२० मा भैरहवाको लुम्बिनी गेटबाट सुरु पदयात्रा १२ः०५ मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो । यो बीचमा ठाउँठाउँमा पदयात्राीले स्थानीय, पर्यटन व्यवसायीले स्वागत गरेका थिए । मायादेवी मन्दिरमा सहभागीलाई भिक्षु श्रीबजिरले १० मिनेट ध्यान गराउनु भएको थियो ।