• ११ पुस २०८१, बिहिबार

स्वास्थ्य पूर्वाधार प्राथमिकतामा

blog

बुलबुले समाचारदाता

सुर्खेत, पुस ११ गते । कर्णाली प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा बहुवर्षीय र स्रोत सुनिश्चितता भएका ठुला पूर्वाधार योजनालाई अघि बढाउने नीति अनुरूप स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई अघि बढाउन लागिएको हो । जीर्ण भवनबाट सेवा प्रवाहमा निकै समस्या हुने गरेको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ, पहुँचयोग्य र प्रभावकारी बनाउन स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले जनाएको छ । नयाँ पूर्वाधार निर्माणभन्दा पनि बनिरहेका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर निर्माण भवन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । चार वटा जिल्ला अस्पताल भवन निर्माणको निरन्तरताका लागि यो वर्ष बजेट विनियोजान गरिएको छ । 

उक्त भवन निर्माणको निरन्तरताका लागि २५ करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य शाखा प्रमुख वृषबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणको निरन्तरताका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख, रूकुमपश्चिम, हुम्ला र सल्यानका लागि बजेट विनियोजन गरिएको छ । पर्याप्त भवन नहुँदा प्रभावकारी सेवा दिन नसकिएको समेत जनाइएको छ । यो वर्ष बहुवर्षीय र स्रोत सुनिश्चितता भएका योजनामा मात्र बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता शाहीले जानकारी दिनुभयो । 

सरकारले पर्याप्त बजेट विनियोजन गरे पनि निर्माण व्यवसायीको लापर्बाहीका कारण जिल्लाका अस्पताल भवन निर्माणमा भने ढिलाइ भइरहेको छ । जिल्ला अस्पताल दैलेखमा म्याद थप गरेर भवन निर्माणको काम भइरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणको निरन्तरताका लागि १० करोड बजेट पठाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. रत्नवीर सुनारले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

जिल्लामा पूर्वाधारको अभाव छ । भवनकै समस्या छ । २०४५ सालमा बनेको पुरानो भवनबाट अस्पतालले सेवा दिइरहेको छ । सेवाग्राहीको चाप हुँदा उक्त भवनबाट सहज रूपमा सेवा प्रदान गर्न कठिनाइ भएको कार्यालय प्रमुख डा. सुनार बताउनुहुन्छ । १५ शय्याको अस्पताललाई स्तरोन्नति गर्ने योजना अघि सारिएको छ । ५० शय्याको बनाउने गरी तीन वटा भवन निर्माणको काम अघि बढाइएको छ । अहिले अन्तिम पटक २०८१ भदौमा म्याद थप गरिएको हो । २०८२ भदौमा भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने छ । हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने ५५ प्रतिशत काम बाँकी छ । 

अस्पताल भवन निर्माण निकै सुस्त गतिमा भइरहेको छ । जसले गर्दा सेवा प्रवाहमा समस्या हुने गरेको हो । जिल्ला अस्पताल हुम्लाको समेत भवन निर्माण भइरहेको छ । बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको अस्पतालका सूचना अधिकारी नन्द शाहीले बताउनुभयो ।

प्रदेश सरकारले सङ्घीय सरकारको सहकार्यमा पनि भवन निर्माण योजनालाई प्राथमिकतामा राखेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र र मेहेलकुना अस्पतालको भौतिक पूर्वाधारको निरन्तरताका लागिसमेत बजेट विनियोजन गरिएको छ । सरकारले बहुवर्षीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने नीति अवलम्बन गरेको हो ।