• १० पुस २०८१, बुधबार

वडास्तरबाट सेवा प्रदान

blog

गाउँघरमा बैङ्क खाता खोलिँदै ।

वालिङ समाचारदाता

वालिङ, पुस १० गते । स्याङ्जाको गल्याङ नगरपालिकाले गाउँ गाउँमा पुगेर सेवा प्रदान गर्न थालेको छ । नागरिकलाई सेवा लिनका लागि कार्यालयमा पुग्नैपर्ने बाध्यताको अन्त्य गर्न पालिकाले वडातहमा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो ।  शिविरमा योजना सम्झौता, बैङ्क खाता सञ्चालन, स्वास्थ्य परीक्षण, माटो परीक्षण पशु तथा कृषि प्राविधिकलगायतका सेवा सञ्चालन गरेको हो । 

साना योजना सम्झौताका लागि दुई/तीन दिन खर्चेर पालिकाको कार्यालयमा पुग्नुपर्ने बाध्यता हटेपछि गल्याङका बासिन्दा खुसी भएका छन् । गल्याङ नगरपालिका–११ का सीता कँडेलले भन्नुभयो, “गाउँमा नै योजना सम्झौता र बैङ्कमा खाता खोल्न पाइयो, धेरै खर्च बचत भयो ।” कँडेल मात्रै होइन, नगरका ११ वटै वडामा सञ्चालन भएका योजनाको सम्झौता गाउँ गाउँमा पुगेर गरिएको छ । ससानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँ गाउँ जनताको दैनिकीलाई सहज बनाउन घुम्ती शिविर सञ्चालन गरेका हौँ ।” 

गाउँघरमा पुगेको सेवाका कारण नगरपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सफलता मिलेको उहाँको भनाइ छ । गाउँमा पुगेको शिविरबाट दुई हजार ७६७ जनाले उपचार पाएको र एक हजार १८० जनालाई निःशुल्क औषधी दिइएको भन्दै प्रमुख भट्टराईले जानकारी दिनुभयो । उपचारका लागि गल्याङ नगर सदरमुकामसम्म पुग्न नसक्ने र आर्थिक अभावका कारण स्वास्थ्यको पहुँचसम्म पुग्न नसक्नेका लागि यो कार्यव्रmमले सहज भएको बताउनुभयो । एकीकृत घुम्ती शिविरमा २४१ योजनाको सम्झौता गरिएको छ भने योजनाका लागि १९५ वटा खाता खोलिएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो । 

शिविरमा कृषि सेवा अन्तर्गत १८० जना कृषकको माटो परीक्षण गरिएको छ भने २३० जना कृषकले लगाएको बाली परीक्षण गरिएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । पशु सेवा अन्तर्गत एक हजार ८६१ जना पशुपालक कृषकले सेवा लिएका छन् र एक हजार २२७ जना कृषकलाई निःशुल्क औषधी वितरण गरिएको नगरपालिकाले जनाएको छ । सबै वडामा सञ्चालन गरिएको शिविरमा पाँच हजार ४७४ जनाले सेवा लिएका छन् भने दुई हजार ४०७ जनाले निःशुल्क औषधी पाएका नगरपालिकाले जनाएको छ ।