• १० पुस २०८१, बुधबार

विषादी अवशेष जाँच्ने प्रयोगशाला सञ्चालन

blog

ढल्केबर समाचारदाता

ढल्केबर, पुस १० गते । धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सञ्चालनमा आएको छ । बजारमा बेच्न ल्याइएका हरियो तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच्न प्रयोगशाला एकाइ सञ्चालनमा ल्याइएको हो । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले एकाइको स्थापना गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले बताउनुभयो । उहाँले मङ्गबार एक कार्यक्रमबिच जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन ठाकुर र केन्द्रीय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीले उद्घाटन गरेपछि प्रयोगशाला विधिवत् सञ्चालनमा आएको जानकारी दिनुभयो । 

कार्यक्रममा केन्द्रीय कृषि प्रयोगशाला प्रमुख कार्कीले खेतबारीमा कति मात्रामा विषादी छर्कने र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबारे जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण विधिमा विषादीको अवशेष ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ । विषादी मात्रा ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ । 

कार्कीले प्रयोगशालाले बजारमा आएका तरकारी तथा फलफूल दैनिक आठ/नौ वटा फरक फरक ठाउँबाट नमुना लिएर परीक्षण गर्न सकिने बताउनुभयो । सभापति ठाकुरले मापदण्डभन्दा बढी विषादी प्रयोग गरिएको पाइएमा तरकारी तथा फलफूल नियन्त्रणमा लिएर नस्ट गर्नुपर्ने बताउनुभयो । 

ढल्केबरस्थित कृषिउपज बजार सस्तो मूल्यमा हरियो तरकारी तथा फलफूल पाइने बजारका रूपमा चिनिन्छ । हप्ताको तीन दिन लाग्ने यस बजारमा काठमाडौँ, पोखरा, सिन्धुली, जनकपुरलगायतका सहरका व्यापारी आएर तरकारी तथा फलफूल खरिद गर्ने गरेका छन् ।