• १० पुस २०८१, बुधबार

वर्षा र हिमपातले बढ्यो जाडो

blog

सोमबार रातिदेखि हिमपात भएपछि मङ्गलबार बिहान हिउँले ढाकिएको हुम्ला सदरमुकाम सिमकोट क्षेत्र । तस्बिर: रासस

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १० गते । नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएको छ । यो प्रणाली भित्रिएसँगै नेपालका विभिन्न भूभागमा बदलीसँगै वर्षा, हिमपात सुरु हुँदा जाडो बढेको छ ।

सुदूरपश्चिम प्रदेश हुँदै नेपाल भित्रिएको प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मौसमविद् प्रतिभा मानन्धरका अनुसार उच्च हिमाली भेगमा राम्रै हिमपात भइरहेको छ । बागमती प्रदेशको पहाडी भूभागमा पनि कतै कतै फाट्टफुट्ट वर्षा र हिमपातको सम्भावना बुधबारसम्म रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो साताभर बदलीका कारण घाम देख्न मुस्किल हुने छ र चिसो बढ्ने छ ।” 

काठमाडौँका उच्च पहाडी भेगमा थोरै हिमपातको पनि सम्भावना छ । शनिबारसम्म अहिलेकै प्रणालीले गराएको वर्षा र हिमपातले चिसो बढ्ने छ । आइतबारदेखि फेरि अर्को प्रणाली नेपालतिर आउने सम्भावना उच्च रहेको जनाइएको छ । 

उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपातले देशव्यापी रूपमै चिसो बढाउने भएकाले सतर्क रहन भनिएको छ । तापक्रममा आउने गिरावटका कारण तराईमा शीतलहर र पहाडमा ठिही बढ्ने भएकाले वृद्धवृद्धा, सुत्केरी, बालबालिका र बिरामीको विशेष ख्याल गर्न विभागले सुझाएको छ । बदलीसँगै तराईमा हुस्सु, कुहिरो लाग्ने क्रम बढ्ने भएकाले ती क्षेत्रमा चिसो बढ्ने जनाइएको छ । त्यसैले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई विभागले अनुरोध गरेको छ ।