• १० पुस २०८१, बुधबार

सार्कलाई सक्रिय बनाऔँ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको बताउनुभएको छ । साथै उहाँले सार्क सदस्य मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओली र नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीबिच मङ्गलबार भएको शिष्टाचार भेटका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र हितका विविध विषय व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपत् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

कुनै दुई मुलुकबिचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्क जस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयो । नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको पनि प्रधानमन्त्री ओलीले राजदूत हासमीसँग बताउनुभयो ।  

राजदूत हासमीले आफूहरू पाकिस्तानमा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको प्रधानमन्त्रीसमक्ष अवगत गराउनुभयो ।