• १२ असार २०८१, बुधबार

सुदूरपश्चिममा काँग्रेसको अग्रता पछ्याउँदै एमाले र माओवादी

blog

धनगढी, जेठ ८ गते । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये ८१ पालिकाको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार नेपाली काँग्रेसले ३६, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २४, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले १४, नागरिक उन्मुक्ति पार्टीले चार, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दुई  र स्वतन्त्र एक जना पालिका प्रमुख विजयी भएका छन् । नेकपा (एमाले)बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका एक जनाले बैतडीको डिलासैनीको प्रमुख जितेका हुन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका ४२, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र) ११, नागरिक उन्मुक्ति पार्टी तीन, नेकपा (एकीकृत समाजवादी) दुई र एक स्वतन्त्र विजयी भएका छन् । कञ्चनपुरका चार, कैलाली र अछाम एक-एकसहित छ पालिकामा मतगणना जारी छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्वाचन आयोगले चुनाव गर्ने कि वैशाख ३० गतेको मतगणना गर्ने भन्ने निर्णय गरेको छैन ।  

लम्कीचुहा प्रमुख र उपप्रमुख महिला 

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा महिला विजयी भएका छन् । टीकापुर समाचारदाताका अनुसार लम्कीचुहा नगरपालिकाको प्रमुखमा सुशीला शाही र उपप्रमुखमा जुना चौधरी विजयी हुनुभएको छ । काँगे्रस नेतृ शाहीले गठबन्धनका तर्फबाट  १२ हजार ७१३ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)का महादेव बजगाईंले १० हजार ४३५ मत प्राप्त गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा लम्कीचुहाको प्रमुखमा बजगाईं विजयी हुनुभएको थियो । उपप्रमुखमा नेकपा (एमाले)का जुना चौधरीले ११ हजार ७०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले गठबन्धनकी उम्मेदवार जानकीकुमारी सिंहलाई दुई हजार चार सय मतान्तरले पराजित गर्नुभएको हो । नेकपा (माओवादी केन्द्र)का तर्फबाट गठबन्धनकी उम्मेदवार सिंहले आठ हजार ३०८ मत प्राप्त गर्नुभएको थियो । 

प्रमुखमा विजयी शाही नेपाली काँगे्रसकी क्षेत्रीय प्रतिनिधि, लम्की जेसिज (लेडिज)को संस्थापक अध्यक्ष हुनुहुन्छ । त्यस्तै नेकपा (एमाले)बाट उपप्रमुखमा विजयी चौधरी राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुरमा १७ वर्ष अध्यापन गर्नुभएको थियो । शिक्षण पेसा छाडेर नेकपा (एमाले) राजनीतिमा सक्रिय चौधरी नवनिर्वाचित प्रमुख शाहीको गुरुसमेत हुनुहुन्छ । राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुरबाट शाहीले माध्यमिक शिक्षा पूरा गर्नुभएको हो । लम्कीचुहाका १० वटा वडामा नेपाली काँगे्रसले पाँच, नेकपा (एमाले)ले  दुई, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रले एक–एक वडामा जित प्राप्त गरेका छन् ।

उन्मुक्ति पार्टीको चौथो जित

नवगठित नागरिक उन्मुक्ति पार्टीले कैलालीस्थित जानकी गाउँपालिकामा विजय प्राप्त गरेको छ । उन्मुक्तिको चौथो जित हो । यसअघि टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा विजय हासिल गरिसकेको छ ।

जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी  सात हजार १५१ मत ल्याई विजयी हुनुभएको छ । चौधरी नेपाली काँगे्रस र नेकपा (माओवादी केन्द्र)बीच जानकी गाउँपालिकामा गठबन्धन भएको थियो । गठबन्धनका परशुराम महत्तौलाई एक हजार ९०९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । 

महत्तौले पाँच हजार २४२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका लालमतीदेवी कठरिया नेकपा (एमाले)का गीता चौधरीलाई एक हजार ७०४ मतले पछि पार्दै विजयी हुनुभएको छ । कठरियाले छ हजार ५६२ मत प्राप्त गर्नुभएको छ । दुई दशक पत्रकारितामा बिताएका गणेश चौधरी चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्नुभएको हो । अध्यक्षमा विजयी चौधरीले यस क्षेत्रको जातीय, क्षेत्रीय रूपमा विभाजित मनोविज्ञानलाई परिवर्तन गर्ने र पहिचानसहितको विकासमा जोड दिने बताउनुभएको छ । उहाँले स्थानीय सरकारका समस्या र सञ्चालनमा भइरहेका कमजोरीका बारेमा आफू जानकार रहेकाले पालिकाको दिगो विकासमा कमी नहुने प्रतिबद्धता जनाउनुभयो ।

जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले पाँच वडा, नेकपा (एमाले)ले चार वडा जितेको छ । नेपाली काँगे्रसले छ वडा सदस्य मात्र जितेको छ ।नागरिक उन्मुक्ति पार्टीले जोशीपुर र जानकी गाउँपालिकाका गाउँ सभामा पनि बहुमत पाएको छ । नयाँ पार्टीको उदयले कैलालीमा ठूला राजनीतिक दललाई धक्का दिएको छ । 

यस पटक नागरिक उन्मुक्ति पार्टी विजयी भएका पालिका यसअघि नेपाली काँगे्रस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले जितेका थिए । २०७४ सालमा प्रमुख, उपप्रमुख दुवै पद नेकपा (माओवादी केन्द्र)ले जितेको भजनी नगरपालिका, अध्यक्ष उपाध्यक्षसहित सातै वडा नेपाली काँगे्रसले जितेको जोशीपुर गाउँपालिका, नगरप्रमुख नेकपा (एमाले)ले जितेको टीकापुर नगरपालिका र अध्यक्ष-उपाध्यक्ष तत्कालीन फोरमले जितेको जानकी गाउँपालिका यस पटक उन्मुक्तिको पोल्टामा गएको छ । यी पालिका नेकपा (एकीकृत समाजवादी)का नेता गरिमा शाह, नेपाली काँगे्रसका नेताहरू रामजनम चौधरी, ईश्वरी न्यौपाने, रणबहादुर रावल, जनकराज चौधरी, नारायणदत्त मिश्रलगायतका क्षेत्र हुन् ।

कैलालीमा उन्मुक्ति शक्तिशाली 

धनगढी समाचारदाताका अनुसार नेपालीमा एउटा उखान छ–‘नपत्याउने खोलाले बगाउँछ ।’ कैलालीमा भएको छ पनि त्यस्तै । पाँच महिनाअगाडि दर्ता भएको नागरिक उन्मुक्ति पार्टी आफ्नै चुनाव चिह्नमा स्थानीय तहको चुनाव लड्ने कुरालाई धेरैले पत्याएनन् । दलका कतिपय नेताले त खिल्ली नै उडाए तर दलहरूले नपत्याएको त्यो पार्टीलाई मतदाताले पत्याएका छन् । गठबन्धन, ठूला दल र मधेसवादी दललाई पाखा लगाउँदै नागरिक उन्मुक्ति पार्टी यहाँ पहिलो शक्ति बनेको छ । 

१३ स्थानीय तह रहेको कैलालीमा हालसम्म १२ स्थानीय तहको नतिजा आउँदा सबैभन्दा बढी चार पालिकामा जित हासिल गरेर नागरिक उन्मुक्ति पार्टी पहिलो शक्ति बनेको हो । यो पार्टीले मुलुककै ध्यान तान्ने टीकापुर नगरपालिकामा मेयर, भजनी नगरपालिकामा मेयर र उपमेयर दुवै जितेको छ । यसैगरी जोशीपुर गाउँपालिकामा काङ्ग्रेसको गढ भत्काउँदै अध्यक्ष, उपाध्यक्ष दुवै र जानकी गाउँपालिकामा गठबन्धनलाई पाखा लगाउँदै अध्यक्ष, उपाध्यक्ष दुवै जितेको छ । १२ पालिकाको नतिजा आउँदासम्म नेपाली काँग्रेसले गोदावरी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका गरी तीन पालिका जितेको छ । 

नेकपा (एमाले)ले चुरे र बर्दगोरिया गरी दुई, नेकपा (माओवादी केन्द्र)ले गौरीगङ्गा नगरपालिका र मोहन्याल गाउँपालिका गरी दुई पालिकामा प्रमुख जितेका छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी)ले घोडाघोडी नगरपालिकामा मात्रै प्रमुखमा जित हात पारेको छ । 

अन्तिम नतिजा आउन बाँकी रहेको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल जितनजिक हुनुहुन्छ । २०७८ पुस २० मा नागरिक उन्मुक्ति पार्टी दर्ता भएको थियो । यसको नेतृत्व रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठले गरिरहनुभएको छ । रेशम टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहनुभएको छ । नागरिक उन्मुक्ति पार्टीले फागुनमा मात्रै चुनाव चिह्न पाएको थियो । चुनाव चिह्न पाएको तीन महिनामै कैलालीमा पहिलो शक्तिका रूपमा नागरिक उन्मुक्ति पार्टी उदाएपछि धेरै व्यक्ति चकित छन् । 

आफ्नो पार्टीले बोकेको एजेन्डा, उठाएको मुद्दाका कारण जनताले विश्वास गरेको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितको भनाइ छ । “जनताले विश्वास गर्छन् भन्ने हामीलाई थाहा थियो । अझ धेरै पालिका जित्न सक्थ्यौँ तर छोटो समयमा सबैतिर पुग्न नसकेका कारण चार पालिकामा केन्द्रित भयौँ,” उहाँले भन्नुभयो । 

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना आपराधिक नभई राजनीतिक रहेको, रेशम चौधरी निर्दोेष रहेको जस्ता मुद्दालाई उठाएको छ । २०७२ को आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन रहेको सो पार्टीको ठहर छ र जनताको जनमतले पनि आन्दोलन राजनीतिक र रेशम निर्दोष रहेको पुष्टि गरिसकेको प्रवक्ता पण्डित भन्नुहुन्छ । 

“२०७२ को थरुहट आन्दोलनलाई जबर्जस्ती आपराधिक आन्दोलन ठहराइए पनि  अधिकारसँग जोडिएको त्यो आन्दोलन राजनीतिक रहेको जनमतले प्रस्ट पारिसकेको छ,” उहाँले भन्नुभयो, “यसले रेशम निर्दोष रहेको पनि पुष्टि गरिसकेको छ ।” 

जनताले नागरिक उन्मुक्ति पार्टीलाई अहिले दिएको मत राजनीतिक आन्दोलनको अभिमत, रेशमप्रतिको अभिमत र पहिचानको मुद्दाप्रतिको अभिमत रहेको प्रवक्ता पण्डितको बुझाइ छ । “टीकापुर घटनापछि जनतामाथि ठूलो दमन भयो, अन्याय, अत्याचार भयो,” उहाँ भन्नुहुन्छ, “त्यसको विरोधको मत जनताले हाम्रो पार्टीलाई दिएका छन् ।” 

स्थानीय तहको निर्वाचनमा हतारमै होमिए पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सङ्गठन अझ विस्तार गरेर लड्ने नागरिक उन्मुक्ति पार्टीको ठहर छ । 

कञ्चनपुर सामाचारदाताका अनुसार कञ्चनपुरमा गणना भएका पाँच पालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले) दुई÷दुई र नेकपा (माआवादी केन्द्र)ले एक पालिकामा विजय हासिल गरेको छ । अझै चार पालिकाको गणना जारी छ । गणना भएकामा दोधाराचाँदनी र लालझाडी नेकपा (एमाले), बेलडाँडी र वेदकोट नेपाली काँग्रेस र बेलौरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले जित हात पारेका हुन् । 

यस्तै नेपाली काँग्रेसले तीन र नेकपा (एमाले)ले दुई पालिकाका उपप्रमुख  जिताउन सफल भएको छ । कञ्चनपुरमा पाँच पालिका र ६९ वडाको मतगणना सकिएको छ । कञ्चनपुरमा ९२ वडा रहेका छन् । गणना भएकामध्ये नेपाली काँग्रेसले ३१, नेकपा (एमाले)ले २०, नेकपा (माओवादी केन्द्र)ले १४, राप्रपाले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक वडा जितेको छ । 

जसअनुसार बेलडाँडी गाउँपालिकामा पाँच वडामध्ये चारमा काँग्रेस र एक वडामा एमालेले जित हात पारेको छ । १० वडा रहेको दोधाराचाँदनीमा छ वडामा एमाले, दुईमा राप्रपा, काँग्रेस र  माओवादीले एक÷एक वडामा जित हासिल गरेको छ । यस्तै लालझाडी गाउँपालिकामा तीन एमाले, दुई माओवादी केन्द्र र एक वडामा काँग्रेसले जित हात पारेको छ । १० वडा रहेको वेदकोटमा काँग्रेसले आठ र एमालेले दुई वडा जितेको छ । 

यस्तै १० वडा रहेको बेलौरी नगरपालिकामा एमाले र माओवादी चार÷चार तथा  काँग्रेस दुई वडामा विजयी भएको छ । यसैगरी भीमदत्त नगरपालिकाका १९ वडामध्ये नौ वडाको मतगणना पूरा भएको छ । आठ वडामा काँग्रेस र एक वडामा माओवादी केन्द्र विजयी भएको छ । १२ वडा रहेको शुक्लाफाँटामा नौ वडाको गणना सकिएको छ । जसमा एमाले, माओवादी र काँग्रेस तीन÷तीन वडामा विजयी भएका छन् । 

यस्तै ११ वडा रहेको पुनर्वासमा पाँच वडाको मतगणना सकिएको छ । तीमध्ये काँग्रेस, एमाले, एकीकृत समाजवादी, राप्रपा र माआवादीले एक-एक वडामा जित हात पारेका छन् । यसैगरी नौ वडा रहेको कृष्णपुरमा पाँच वडाको गणना पूरा भएको छ, जसमा तीन वडामा काँग्रेस र दुई वडामा माओवादी केन्द्र विजयी भएका छन् । कञ्चनपुरमा आइतबार रातिसम्ममा सबै पालिकाको मतगणना पूरा गर्ने लक्ष्य लिइएको प्रमुख निर्वाचन अधिकृत मदनबहादुर धामीले बताउनुभयो । 

पदभार ग्रहणसँगै जनमुखी निर्णय 

बैतडी समाचारदाताका अनुसार दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले शुक्रबार पदभार ग्रहण गर्दै वडास्तरमा स्वास्थ्य शिविर सञ्चालन, नगरभित्र निःशुल्क शववाहन र नागरिकका गुनासा सुन्न हरेक शुक्रबार दिउँसो ३ बजेदेखि  फोनमार्फत जनगुनासो राख्न सक्ने निर्णय गर्नुभएको छ । 

सुशासन कायम गर्न उपभोक्ता समितिमार्फत हुने कामलाई निरुत्साहित गर्दै १० लाख रुपियाँभन्दा माथिका योजना ठेक्का प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिका प्रमुख जोशीले बताउनुभयो । जोशी नेकपा (एमाले)बाट विजयी हुनुभएको हो ।

प्रमुख जोशीले नगरपालिकामा कार्यरत जनशक्ति तथा करारमा कार्यरत कर्मचारीको विवरण माग गरेर चालू आर्थिक वर्षमा पूरा भएका योजना र बाँकी रहेका योजनाको विवरण तयार गर्नसमेत उहाँले कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

दशरथचन्द नगरपालिका उपप्रमुख कौशिला चन्दले पदभार ग्रहण गर्दै न्यायिक समितिलाई गति दिन न्यायिक परमार्शदाता नियुक्त गरेर न्यायिक समितिको काम प्रभावकारी बनाउने बताउनुभएको छ । उपप्रमुख चन्द नेपाली काँग्रेसबाट विजयी हुनुभएको हो । 

यस्तै पदभार ग्रहणकै क्रममा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले सुत्केरी महिला, गरिब, असहाय, ज्येष्ठ नागरिक र दुर्घटनामा परेका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको छ । 

गाउँपालिकाभित्रका गरिब, ज्येष्ठ नागरिक, दुर्घटनामा परेका व्यक्ति र सुत्केरी महिलालाई उपचारमा सहज होस् भनेर निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको अध्यक्ष कुँवरले बताउनुभयो । अध्यक्ष कुँवर नेकपा (एमाले)बाट विजयी हुनुहुन्छ । पदभार ग्रहण गरेकै दिन दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिका प्रमुखले जनमुखी निर्णय गरेको भन्दै नागरिकले स्वागतयोग्य निर्णय भएको बताएका छन् । 


Author

सुदूरपश्चिम ब्युरो