• १० पुस २०८१, बुधबार

रैथाने स्रोतबाटै चेपाङ महिला उद्यमशील

blog

मनहरी–४, मुसेधापमा बसोबास गर्ने लोपोन्मुख वनकरिया तथा चेपाङ समुदायका महिलाद्वारा उत्पादित साबुन ।

अनिल पराजुली 

हेटौँडा, पुस १० गते । घरबारी र जङ्गलमा पाइने रैथाने उत्पादनलाई उद्यमशील अभियानमा जोडेर मकवानपुरका लोपोन्मुख समुदायका महिला आफैँ उद्यमशील बनेका छन् । सामाजिक जागरण र आर्थिक रूपान्तरणको बलियो धरातल स्थानीय स्रोतलाई बनाएर आफ्नो समुदायलाई आर्थिक रूपमा समृद्ध बनाउने अभियानमा देहातका रैथाने महिला जोडिएका हुन् ।

मकवानपुरको हेटौँडा, मनहरी र मकवानपुरगढीका लोपोन्मुख वनकरिया तथा चेपाङ समुदायका महिला स्थानीय स्तरमा पाइने कच्चा पदार्थकै प्रयोग गरेर उद्यमशील अभियानमा लागेका छन् । चुलाचौकामै सीमित हुनुपर्ने बाध्यतालाई उद्यमको सङ्घर्षमा रूपान्तरण गरेका महिलाले वनजङ्गलमा खेर गइरहेका तितेपाती, घ्युकुमारी, सामुदायिक वनको खाली जग्गामा बेसार खेती, वनमा आधारित काष्ठकला र स्थानीयस्तरमा उत्पादन हुने सागको परिकार बनाएर बिक्री गरी अर्थोपार्जनको बलियो स्रोत निर्माण गरेका छन् । 

मकवानपुरको मनहरी–४, मुसेधापमा बसोबास गर्ने लोपोन्मुख वनकरिया तथा चेपाङ समुदायका महिलाले खेर गइरहेको जडीबुटीबाट अर्गानिक साबुन उत्पादन गरिरहेका छन् । तीन दशकअघिसम्म जङ्गलमा फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख वनकरिया समुदायका महिलाले घ्युकुमारी, तितेपाती र निमको पातबाट भाँडा माझ्ने, लुगा धुने र नुहाउने साबुन उत्पादन गर्छन् । वनकरिया समुदायकी अगुवा महिला सन्तोषी वनकरियाका अनुसार महिनामा ५० रुपियाँ बचत गरेर २० हजार रुपियाँको लगानीमा १४ जना वनकरिया तथा चेपाङ समुदायका महिला मिलेर वनकरिया तथा चेपाङ महिला साबुन उद्योग दर्ता गरेर सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सानो, मध्यम र ठुलो साबुन उत्पादन गरेका वनकरिया महिलाले प्रतिगोटा २० देखि ६० रुपियाँसम्ममा साबुन बेच्ने गर्नुभएको छ । उहाँले यहाँको साबुन हेटौँडा र काठमाडौँमा बिक्री गर्ने गरेको बताउनुभयो ।

बेसार खेतीले मनग्गे आम्दानी

मकवानपुरको मकवानपुरगढी–५ का महिला मिलेर एक हेक्टर क्षेत्रफलमा सामूहिक बेसार खेती गरेर आयआर्जन गरिरहेका छन् । बुँदल सामुदायिक वनको खाली जग्गामा २०७७ देखि बुँदल महिला कृषि आयआर्जन समूहमार्फत बेसार खेती गरेर यहाँका महिलाले आयआर्जन गरिरहेका हुन् ।

बुँदल महिला कृषि आयआर्जन समूहकी अध्यक्ष विनिता लामिछानेले भन्नुभयो, “४० जनाको समूह छ, हामी मिलेर पालैपालो काम गर्छौं, वनको खाली र खेर गइरहेको जग्गामा बेसार खेती गरेका छौँ ।” उहाँले ९–१० महिनामा खेती गरिएको बेसार खन्ने, जरा छुट्याउने, माटो फाल्ने र सफापश्चात् पिसानी गरेर बिक्री गर्दै आएको बताउनुभयो । यहाँ उत्पादन भएको बेसार र बेसारको चाना स्थानीय स्तरमै खपत हुने गरेको छ । वार्षिक रूपमा यहाँ ५० क्विन्टल बेसार उत्पादन हुँदै आएको छ । वार्षिक रूपमा बेसार खेती गरेर महिलाले दुईदेखि साढे दुई लाख रुपियाँसम्म वार्षिक आम्दानी हुन्छ । 

हेटौँडा उपमहानगरपालिका–१२, घलेगाउँमा महिलाले सामूहिक रूपमा अर्गानिक गुन्द्रुक उत्पादन गरेका छन् । कञ्चनजङ्घा कृषि सहकारी संस्था लघु उद्यमी उद्योग दर्ता गरेर यहाँका महिलाले गुन्द्रुक र गुन्द्रुकको अचार उत्पादन गरिरहेका छन् । 

कञ्चनजङ्घा कृषि सहकारी संस्था अध्यक्ष चिनीमाया गुरुङले कृषि सहकारीमार्फत ऋण लिएर एक लाखको लगानीमा स्थानीय ११ जना महिला मिलेर १५ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक सागको खेती गरेर सुरुवात गरिएको बताउनुभयो । हेटौँडा उपमहानगरपालिका र ग्रिन फाउन्डेसन नेपालको सहयोग र तालिम पाएपछि घरको काम भ्याएर फुर्सदको समयमा सागबाट गुन्द्रुक उत्पादन गरेर आयआर्जनसँग जोडिएको गुरुङको भनाइ छ ।

उहाँले पछिल्लो समय गुन्द्रुकको माग बढेपछि ३० कट्ठा जग्गा भाडामा लिएर सागको खेती गरिरहेको बताउनुभयो । २०८१ असोजबाट सुरु गरिएको उद्योगले वार्षिक छ क्विन्टलभन्दा बढी गुन्द्रुक र मकै बिक्रीबाट वार्षिक तीन लाख रुपियाँभन्दा बढी आम्दानी गरिरहेको उहाँको भनाइ छ । 

लघु उद्यमी उद्योगले हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमार्फत गुन्द्रुक उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन अनुमति पाएपछि यहाँ उत्पादन भएको गुन्द्रुक हेटौँडा, काठमाडौँ, जापान र अस्ट्रेलियामा समेत बिक्री भइरहेको छ ।

त्यस्तै हेटौँडा–५ स्थित २०७२ सालदेखि ५० जना महिलाले नौमहिने काष्ठकला तालिम लिएर २०७४ सालमा श्रमजीवी महिला काष्ठकला उद्योग दर्ता गरेर सञ्चालन गरिरहनुभएको छ । अस्मिता नेपालसँगको सहकार्यमा हाल १५ जना महिलाले स्थानीय वनमा पाइने काठको प्रयोग गरेर दारको ठेकी, फोटो फ्रेम, घन्टी फ्रेम, मायाको चिनो बनाएर आयआर्जन गरिरहनुभएको हो । श्रमजीवी महिला काष्ठकला उद्योग अध्यक्ष विष्णुकुमारी राईले महिनामा घन्टी फ्रेम एक सय बढी उत्पादन हुने र यस्को माग काठमाडौँमा धेरै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिकेको सिपले निरन्तर अगाडि बढेका छौँ, चुलोचौकामा मात्रै सीमित हुने महिला अहिले खर्च कटाएर मासिक १५ हजारसम्म कमाउने भएका छौँ ।” 

पुरुषले गर्ने काम महिलाले पनि गर्न सक्षम रहेको बताउँदै काष्ठ हस्तकलाको बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ । मन्त्रालय, सङ्घसंस्था, सहकारीले वार्षिक भेलामा स्थानीय स्तरमा उत्पादन भएको काष्ठ (मायाको चिनो) प्रयोग गरिदिए यहाँ उत्पादन हुने सामग्रीले सहज रूपमा बजार पाउने विश्वास व्यक्त गर्दै स्थानीय सरकारले नीति बनाएर स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

ग्रिन फाउन्डेसन नेपालका केन्द्रीय प्रतिनिधि आरती पाठकले सामुदायिक वनको संरक्षण सँगसँगै महिलालाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाको अधिकार स्थापित गर्नका लागि आर्थिक सशक्तीकरण आवश्यक रहेको बताउँदै गुणस्तरीय सामग्री उत्पादन, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न संस्थाले सक्दो सहयोग गर्ने बताउनुभयो ।