रवीन्द्र उप्रेती
बर्दीबास, पुस ९ गते । स्यालको आक्रमणमा परी महोत्तरीको ग्रामीण भेगमा ४ महिलासहित ६ जना गम्भीर घाइते छन् । स्यालले ३ थान चौपायालाई पनि टोकेर घाइते पारेको छ । घाइतेका अनुहारका विभिन्न भागबाट मासु लुछिएकाे छ र घाइतेको अवस्था बीभत्स छ ।
प्रहरीका अनसार स्यालको आक्रमणमा परी गौशाल ११ लक्ष्मिनियाँकी ५० वर्षीया मनमाया पोखरेलको नाकमा टोकेको छ । त्यस्तै ७० वर्षीया मतीदेवी यादव, २७ वर्षीया ललिता शर्मा, ४५ की निलिमदेवी साह र ५५ वर्षीय रामचन्द्र यादवको मुखमा टोकेर घाइते पारेको छ ।
इलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक सूर्य रानाकाअनुसार घाइतेलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक असपताल भर्ना गरिएको छ ।
स्यालले तिघ्रामा टोकेको सोही ठाँउका १९ वर्षीय रोशन यादवको भने गौशाला क्लिनिकमा उपचार भएको छ ।
त्यस्तै, सोही ठाँउका रामदन यादवको गोरु, राजकुमार यादवको भैंसी र ललन पासवानको बाख्रालाई पनि सोही स्यालले मुखमा टोकेर घाइते पारेको प्रहरी निरीक्षक रानाले बताउनु भयो ।
गौशाला नपा ११ का वडाध्यक्ष रामपृत महतोका अनुसार मङ्गलबार साँझ मेलापात गर्न खेतवारी गएका गाउँलेलाई स्यालले पालैपालो टोकेको थियो । गाउँकोे दक्षिणतर्फबाट झम्टेर टोक्न सुरु गरेको स्यालले घाँसपात गर्न गएका गाउँलेलाई लखेटी लखेटी आक्रमण गरेको पीडितले बताएका छन् ।
घाइतेहरुले सहयोगका लागि गुहार लगाएको सुनेर गाउले समूह घटनास्थल पुगेपछि स्याल उखु घारीमा लुकेको थियो । स्याल अझै नियन्त्रणमा आइ नसकेकाले अर्को आक्रमणको त्रासले गाउँले घरबाहिर निस्कन नसकेको वडाध्यक्ष महतोले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘स्यालले घरमै पसेर पनि आक्रमण गर्न सक्ने सम्भावनाका कारण सबै डराएका छन् । महिला, बालबालिका तथा चौपायाको सुरक्षाको चिन्ता बढेको छ । घटनापछि समसाँझै गाउँघर सुनसान भएको छ ।’