काठमाडौँ, पुस ९ गते । नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सातौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियिनसिप बुधबारदेखि ललितपुरमा सुरु हुँदैछ ।
च्यासल स्थित तुल्सीलाल प्रतिष्ठानमा हुने च्याम्पियिनसिपको सम्पूर्ण तयारी पूरा भएको नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले जानकारी दिनुभयो । विश्ववुद्धिचाल महासङ्घ (फिडे) को नियमअनुसार खेलाइने प्रतियोगिताको खेल क्लासिकल स्ट्यान्डर्ड ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्टको हुनेछ ।
प्रतियोगितामा २० टोलीको सहभागिता रहने छ । जसमा साविक विजेता दोलखा चेस होम्स सहित आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महानगरपालिका, पूर्व विजेता थापाथली चेस पार्क, दोलखा जिल्ला बुद्धिचाल सङ्घ, काठमाडौँ चेस क्लब, महालक्ष्मी नगरपालिका ललितपुर, कास्की जिल्ला बुद्धिचाल सङ्घ र कोशी प्रदेश बुद्धिचाल सङ्घ रहेको छ ।
यस्तै प्रतियोगितामा गोदावरी नगरपालिका ललितपुर, भक्तपुर जिल्ला बुद्धिचाल सङ्घ , पुल्चोक इन्जिनियरिङ कलेज, मध्यपुर ठिमी चेस एसोसिएसन, बुकास डटकम कुमारीपाटी, सुदुरपश्चिम प्रदेश सङ्घ, डाइनामिक चेस क्लब लहान, पेभेलियन चेस एकेडेमी, हिमालयन चेस एकेडेमी, माउन्ट एभरेष्ट चेस एन्ड सोसियल क्लब र हिमालयन चेस एकेडेमीले पनि प्रतिस्पर्धा गर्नेछ ।
हरेक टिममा पाँच खेलाडी र एक व्यवस्थापक रहनेछ । सातौँ चरणसम्म चल्ने लिगबाट शीर्ष चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेलको विजेतालाई उपाधिसहित दुई लाख र उपविजेता टिमलाई एक लाख २० हजार रुपियाँ पुरस्कार प्रदान गरिने महासङ्घले जनाएको छ ।
कुल चार लाख ७० हजार नगद पुरस्कार रहेको प्रतियोगितामा तेस्रो हुने टिमलाई ६० हजार, चौथोलाई ४० हजार र सान्त्वना पुरस्कार १० हजार रुपियाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न चार लाख ७० हजार रुपियाँ मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्ने हरेक बोर्डका ५ जना खेलाडीले नगद १० हजार सान्त्वना पुरस्कार हात पार्नेछ । कुल नगद पुरस्कार ४ लाख ७० हजार रहेको छ ।
नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले टिम गेम्स मार्फत चेस खेलाडीहरूलाई व्यावसायिक बताउन महासङ्घ अग्रसर रहेको बताउनुभयो । उहाँले महासङ्घले पूर्व घोषणा गरेको राष्ट्रिय प्रतियोगिता सम्पन्न भई रहेको पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा तुल्सीलाल प्रतिष्ठानका अध्यक्ष एवं पूर्व खेलकुदमन्त्री गोपाल शाक्य, महासङ्घका उपाध्यक्ष श्याम ब्यञ्जनकार, अन्तर्राष्ट्रिय प्रमुख निर्णायक यज्ञप्रसाद पन्त, फिडे आर्विटर सोराज ताम्राकार, फिडे वर्डकप खेलेका एफएम रुपेश जैसवाल लगायतको उपस्थिति रहेको थियो ।