छविलाल पाण्डे
बुटबल, पुस ९ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले संविधान संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले मङ्गलबार बुटबलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्नुहुँदै नेत्री सङ्ग्रौलाले कांग्रेसले सञ्चालन गरेको सय दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले अझै पनि विकासको अनुभूति नगरेको आफूहरुले पाएको बताउनुभयो ।
उहाँले कांग्रेसले सञ्चालन गरेको अभियान पार्टी सङ्गठनलाई मजबुत बनाउन, जनताको घरदैलोमा पुगेर समस्या पहिल्याउन र समाधान गर्नका लागि केन्द्रित रहेको बताउनुभयो ।
नेत्री सङ्ग्रौलाले देशभर प्रतिनिधि खटिएर क्रियाशील सदस्यता वितरण पनि अगाडि बढाएको जानकारी दिनुभयो ।
क्रियाशील वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी पनि सुरु भएको बताउनुुहुँदै उहाँले समयमै कांग्रेसको महाधिवेशन हुने कुरामा आफू विश्वस्त भएको बताउनुभयो ।
नेत्री सङ्ग्रौलाले वर्तमान सत्ता गठबन्धन सत्ताका लागि मात्र होइन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि कांग्रेस एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको उल्लेख गर्नुभयो ।
निर्वाचन प्रणााली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडि बढेको नेत्री सङ्ग्रौलाको भनाइ छ ।
वर्तमान सरकार विधिको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्ने र भ्रष्टाचार गर्ने जो कोही भएपनि कसैलाई छोड्न नहुनेमा उहाँको जोड छ ।
पूर्वसांसद समेत रहेकी नेत्री संग्रौलाले कांग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने बताउनुभयो ।
कांग्रेस र एमालेको गठबन्धन २०८४ सालसम्म नै रहने भएको बताउँदै उहाँले चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने उल्लेख गर्नुभयो ।
माओवादीले जनतालाई पटक–पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने उहाँको धारणा छ ।
संविधान संशोधन गर्दा ४० प्रतिशत महिलाले प्रत्यक्षतर्फ उमेदवारी दिन पाउनुपर्ने र कांग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउने गरी बहस गर्ने बताउनुभयो ।
कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।