मीना कंडेल
कावासोती, पुस ८ गते । नवलपुर आउने पर्यटकका लागि लाठीनाच आकर्षण बन्ने गरेको छ । लठ्ठीलाई एकार्कामा जुधाएर र घुमाएर नाचिने यो नाच पछिल्लो समय सबैको रोजाईमा पर्ने गरेको छ ।
थारु, बोटे, माझी र मुसहर समुदायले सञ्चालन गरेका ती घरबासमा आउने पर्यटकलाई यहाँ प्रस्तुत गरिने लाठीनाच आकर्षण बनेको छ । अहिले यसलाई बाजासँग जोडेर नाच्ने गरिएको छ । बाजाको तालमा लठ्ठी नचाउँदा रमाइलो हुन थालेपछि लाठीनाचको रुपमा विकास भएको छ । जसले एकातिर थारु समुदायको संस्कृतिको जर्गेना भएको छ भने अर्कातर्फ युवाको आम्दानीको राम्रो स्रोत लाठीनाच हुने गरेको छ । यहाँ सञ्चालित घरबासमा १५÷२० जनाको लाठीनाच देखाउने युवाको समूह नै छ । समुदायमा हराउँदै जान थालेका विभिन्न परम्परागत कलासंस्कृतिको संरक्षणमा समेत घरबास पर्यटनले भूमिका खेलेको छ ।
लाठीनाच थारु समुदायको संस्कृति संरक्षणका साथै आम्दानीको माध्यम समेत भएपछि यसमा लाग्ने युवाको समूह दिनप्रतिदिन बढ्दै गएको अमलटारी घरबासका व्यवस्थापक धनमाया महत्तोले बताउनुभयो । घरबासमा आउने पर्यटकले रुचिका साथ नाच हेर्न खोजेपछि झण्डै लोप हुने अवस्थामा पुगेका थारु, बोटे, माझी र मुसहर समुदायको संस्कृति संरक्षणमा समेत सहयोग पुगेको उहाँको भनाई छ । सो समुदायमा नाचिने झर्रा, मेडरी, ठेकरी, घैला, झाम्टा, डम्फु र झुम्रा नाच मुख्य हुन् । झर्रा, ठेकरा, मेडरी जस्ता नाचमा पनि लाठी नचाउने गरिएको छ ।
आफ्नो सुरक्षासहित जङ्गली जनावरबाट खेतीबाली जोगाउन लठ्ठीको प्रयोग गर्ने गरिएकोमा सामान्य तरिकाले सुरक्षा नहुने भएपछि लठ्ठीलाई कसरी कलात्मक र रक्षात्मक रुपमा मजबुत तरिकाले खेलाउन सकिन्छ भनेर लठ्ठी खेलाउने गरिएको कावासोतीका जितनारायण थनेतले बताउनु भयो । उहाँले भन्नुभयो, “सानासाना भाई बहिनी देखी युवाले यो नाच देखाउने गरेका छन् । पहिला तेति थाहा थिएन पछि यो नाचका रुपमा विकास हुँदै गएको हो । मेरो आफ्नै रेष्टुरेण्ट छ हरेक दिन साझ लाठीनाच देखाउने गरेको छु । समूहमा मिलेर युवा साथीहरुले देखाउँनु हुन्छ । ” घरबासमा आएका आन्तरिक तथा बाह्य पाहुना, शैक्षिक भ्रमणमा आउने विद्यार्थी देखी अभिभावक सबैले लाठीनाच रमाउने गरेको उहाँले बताउनुभयो ।
हरेक साँस्कृतिक कार्यक्रममा लाठीनाच देखाउने गरिएको छ । थारु समुदायका महिला तथा पुरुषले आफ्नो भेषभुसामा सजिएर यो नाँच देखाउने गर्दछन् । ‘स्टिक डान्स’ बाट घरबासमा आउने पाहुनालाई मनोञ्जन प्रदान गर्नाका साथै आम्दानी र सस्कृतिको संरक्षणमा समेत टेवा पुगेको महतोले बताउनुभयो । यहाँका अमलटारी घरबास, बोटे घरबास, पिप्रहर घरबास लगायतका घरबास पर्यटन चलेको छ ।