सल्यान समाचारदाता
सल्यान, पुस ८ गते । स्थानीय सरकारले समुदायमा सेवालाई सर्वसुलभ बनाउन नयाँ नयाँ अभ्यासको थालनी गरेका छन् । पालिकाले गाउँघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, बिदाका दिन स्वास्थ्य संस्थाबाट सेवा प्रवाह, वडा र बस्तीमै पुगेर योजना सम्झौता जस्ता अभ्यास गर्न थालिएको छ ।
कपुरकोट गाउँपालिकाले गत वर्षदेखि वडाका बस्तीमै पुगेर योजना सम्झौता गर्दै आएको छ । सर्वसाधारणको सहजताका लागि तथा पालिकामा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले वडाबाटै योजना सम्झौता सुरु गरेको कपुरकोट गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा वडाबाटै योजना सम्झौताको कार्यलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८१/८२ मा सानाठुला गरी जम्मा ९७ वटा योजना रहेकोमा पाँच वटा पालिकाको आफ्नै मेसिनबाट सडक निर्माण गरिने भएको हो । २० वटा अमानतबाट, कार्यदेशबाट १७ वटा, उपभोक्ता समितिबाट ३३ वटा र विद्यालय व्यवस्थापन समितिबाट १२ वटा सम्झौता भई काम भइरहेको छ । अन्य १३ वटा योजनामा तत्काल सम्झौताको तयारी भएको छ ।
वडाबाटै योजना सम्झौता भएपछि कपुरकोट गाउँपालिका–२ का वडाध्यक्ष ईश्वर बुढाले उपभोक्तालाई पालिकासम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । यस्तै त्रिवेणी गाउँपालिका सल्यानले पनि वडाबाटै योजना सम्झौताको काम थालनी गरेको छ । चालु आवदेखि पालिकाले वडाबाटै सम्झौता सुरु गरेको हो । पालिकाले छ वटा वडामध्ये ४ र ५ मा सम्झौताको काम सकिएको छ भने अन्यमा सम्झौता प्रक्रियालाई अगाडि बढाएको छ ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले सेवाग्राहीले विगतमा विभिन्न किसिमका समस्या भोग्दै आएको र सानोतिनो योजनाका लागि पालिका आउनुपर्ने बाध्यताको अन्त्य गर्न वडाबाटै योजना सम्झौताको काम गरिएको बताउनुभयो । उहाँका अनुसार वडामै योजना सम्झौता गर्दा योजनाबारे लाभग्राहीमा अपनत्व र पारदर्शिता कायम हुने छ ।
शारदा नगरपालिका सल्यानले वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । शारदा नगरपालिकाले १५ वटै वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता वितरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्रका छ हजार १३० जना लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण भएको छ ।
शारदा नगरपालिकाका अधिकांश ज्येष्ठ नागरिक र अशक्तहरू वडामा बैङ्क नहुँदा सदरमुकाम तथा श्रीनगर बजार जानुपर्दा विभिन्न सास्ती भोग्दै आएका थिए । शारदा नगरपालिका–९, सुनचौरका ८३ वर्षीय हर्कबहादुर बस्नेतले झन्डै दुई घन्टा हिँडेर जिल्ला सदरमुकामस्थित बैङ्कमा आउनुपर्ने बाध्यता हटेको बताउनुभयो । घरबाट बैङ्कसम्म आउँदा करिब दुई घन्टा हिँड्नुपर्ने र भिडभाडका कारण बैङ्कमा लामो समय पालो कुर्नपर्ने बाध्यताको अहिले अन्त्य भएको छ ।
शारदा नगरपालिका–८, मार्के बरगाँकी ६० वर्षीय अपाङ्गता भएकी महिला कमला नेपालीले बैङ्कका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाटै भत्ता पाउन थालेपछि सहज भएको बताउनुभयो ।