• ८ पुस २०८१, सोमबार

चिसोको प्रभाव

ग्यासको खपत बिस प्रतिशतले वृद्धि

blog

काठमाडौँ, पुस ८ गते । चिसो मौसम सुरु भएसँगै बजारमा खाना पकाउने एलपी ग्यासको खपत बढ्न थालेको छ । अन्य समयको तुलनामा चिसो समयमा ग्यासको प्रयोग धेरै हुने हुँदा खपत बढेको हो । चिसो मौसममा खाना पकाउनुका साथै ग्यास गिजरको प्रयोग पनि बढ्छ । 

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले अन्य समयको तुलनामा चिसो मौसममा १५ देखि २० प्रतिशत ग्यासको खपत बढ्ने बताउनुभयो । विगतका वर्षमा चिसो समयमा २५ देखि ३० प्रतिशत ग्यासको माग बढ्ने गरेकोमा पछिल्लो समय २० प्रतिशतमा झरेको उहाँको भनाइ छ । चिसो समयमा बजारमा ग्यासको माग बढ्दै गए पनि सो अनुपातमा आपूर्ति नियमित नहुँदा अभाव देखिने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार चार वर्षदेखि ग्यासको कोटा बढाइएको छैन तर ग्यास सिलिन्डर प्रमाणीकरण गरी थप सिलिन्डर सङ्ख्या २३ लाख पुगेको छ । सङ्घका अनुसार बजारमा एक करोड ५७ लाख सङ्ख्यामा सिलिन्डर रहेका छन् ।

अध्यक्ष घिमिरेले भन्नुभयो, “मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा रहेकाले पनि जाडो समयमा माग बढ्दा ग्यासको अभाव देखिन्छ ।” केही दिनयता भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यासको कम लोड हुँदा बजारमा ग्यासको आपूर्तिमा सामान्य अभाव देखिएको उहाँको भनाइ छ । दुई वर्षअघिको तुलनामा हाल बिजुुलीको प्रयोग बढ्दै गएकाले बजारमा ग्यासको खपतमा पनि सामान्य कमी आएको उहाँको भनाइ छ ।

ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा विद्युतीय चुलोको प्रयोग बढ्दै छ तर बेला बेला बिजुली जाने समस्याले गर्दा पनि भरपर्दो ग्यास नै बन्ने गरेको छ । निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ । अन्य समयमा ग्यासको खपत कम हुँदा ग्यास पर्याप्त हुने र चिसो समयमा ग्यासको माग बढी हुने गर्छ । 

नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष चन्द्र थापाले पनि बजारमा ग्यासको माग बढ्दा आपूर्ति नियमित नहुँदा सामान्य अभाव देखिएको बताउनुयो । 

निगम प्रवक्ता मनोजकुमार ठाकुरले ग्यासको आपूर्ति नियमित भइरहेकाले बजारमा अभाव नभएको बताउनुभयो । केही दिनअघि भारतीय रिफाइनरी केन्द्रबाट ग्यासको कम लोड भएकाले सामान्य अभाव देखिए पनि हाल आपूर्ति नियमित भएकाले बजारमा अभाव नभएको उहाँको भनाइ छ । नेपाल ग्यास विक्रेता महासङ्घका अनुसार माग बढेसँगै नियमित आपूर्ति नहुँदा नेपाल ग्यास, एचपीलगायतका कम्पनीको ग्यासमा सामान्य अभाव देखिएको छ ।

निगमले ग्यासको खरिद आदेश जारी गरेपछि ग्यास उद्योगीले भारतीय आयल कर्पोरेसन्स (आइओसी) को बरौनी, दुर्गापुर, पारादीप, हल्दिया, मथुरा रिफाइनेरीबाट ग्यास आयात गर्ने गर्छन्  । ५९ वटा ग्यास उद्योगले भारतका विभिन्न रिफाइनरी केन्द्रमा गएर ग्यास ल्याएर नेपालमा वितरण गर्दै आएका छन् । ग्यासको ढुवानी भने भारतीय ट्रान्सपोर्टरमार्फत ग्यास ढुवानी हुन्छ । निजी क्षेत्रसँग आठ हजार मेट्रिक टन ग्यासको भण्डारण क्षमता रहे पनि निगमसँग ग्यासको भण्डारण छैन । जसको कारणले नियमित रूपमा बजारमा ग्यासको आपूर्ति नभए अभाव हुने गर्छ ।