राधाकृष्ण डुम्रे
वालिङ, पुस ७ गते । स्याङ्जाको वालिङ नगरपालिका–२ का सुन्तला कृषक बिष्णु घर्ती निक्कै उत्साहित हुनुहुन्छ । विगतका वर्षको तुलनामा यो वर्ष सुन्तलाले राम्रो मूल्य पाए पछि उहाँ उत्साहित हुनुभएको हो ।
उहाँले भन्नुभयो, “गएको वर्षमा व्यापारी बगैँचामा नै पुग्थे र एकमुष्ठ ठेक्का बोल्थे तर यो वर्ष जोखेर बेच्न पाइयो ।” सुन्तला उत्पादनका आधारमा मूल्य पाउने भएपछि घर्ती मात्रै होइन स्थानीय सुन्तला कृषकहरु उत्साहित भएका हुन् ।
स्थानीय महिलाहरुले गठन गरेको चक्रदेवी स्वावलम्वी सुन्तला उत्पादक महिला कृषक समूहले यो पटक सामुहिक रुपमा सुन्तलाको बजारीकरण गरेको हो । सामुहिक रुपमा सुन्तला बिक्री गर्दा राम्रो मूल्य पाएको समूहकी अध्यक्ष शोभा पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सामुहिक रुपमा काम गर्याैं र उत्पादनका आधारमा मुल्य पनि पायौं । व्यापारीसँग सुन्तलाको दानाको अवस्थाका आधारमा ६० देखि ७० रुपिँया प्रति किलोको रुपमा बिक्री गर्न सुरु गरिएको उहाँको भनाइ छ ।
सामुहिक रुपमा सुन्तला बिक्री गर्दा सवैलाई राम्रो फाइदा भएको वडा नं.२ का वडा सदस्य तथा महिला कृषक हिरादेवी ढुंगानाको भनाइ छ । "गएको वर्ष पनि यसैगरी सुन्तला बिक्री गर्न पाएको भए आफूहरुको आम्दानी राम्रो हुने रहेछ", उहाँले भन्नुभयो ।
ढुंगानाका एक हजार पाँच सय सुन्तलाका बोट छन् । गएको बवर्ष १५ लाख आम्दानी गर्नुभएकी ढुंगानाले यो बर्ष सुन्तला कम फले पनि आम्दानी नघट्टने बताउनुभयो । यो वर्ष जोखेर सुन्तला बिक्री गर्दा आम्दानी घट्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न आफूहरु समुहमा आवद्ध भएको समूहका सदस्यहरुले बताएका छन् । उत्पादन भएको बस्तुलाई उचित मूल्य पाउने अवस्थामा पु¥याउन पालिकाले विभिन्न साझेदार संस्थासँग मिलेर काम गरिरहेको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणको भनाइ छ । उत्पादन र बजारीकरणको काम सँगसँगै लैजाँदा कृषकलाई फाइदा हुने भन्दै परियोजना मार्फत गाउँगाउँमा काम सुरु गरिएको उहाँको भनाइ छ ।
वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन गरिरहेको “वालिङ कृषि विकास परियोजना”सुन्तलाको बजारीकरणका लागि सहजीकरण गरेको हो । परियोजनाले व्यापारी तथा कृषकलाई समन्वय गर्दै उत्पादनका आधारमा मूल्य पाउने अवस्था तयार गरेको वडा नं.२ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो । व्यापारीहरुले मनलाग्दी ठेक्का लिने प्रवित्तिको अन्त्यको लागि राम्रो कामको सुरुवात भएको उहाँको भनाइ छ ।
परियोजनाका सामुदायिक सहजकर्ता सुस्मिता पौड्यालका अनुसार समूहमा ३० जना महिला आवद्ध रहेका छन् । समूहका सदस्यहरुले उत्पादन गरेको सुन्तलाको बिक्रीको लागि विभिन्न व्यापारीहरुसँग छलफल र सम्झौता भइरहेको छ ।