• ७ पुस २०८१, आइतबार

पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ६८ किलोमिटर कालोपत्र सम्पन्न

blog

पूर्वीखण्डमा डेबल लेयरको सडक कालोपत्र गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस ७ गते । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डको काम धमाधम भइरहेको छ । यस खण्डको काम ७१ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ । 

हाल कालोपत्रे गर्ने काम तदारुकताका साथ भइरहेको ६८ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । चार लेनको ३१-३१ गरी ६२ किलो मिटर, दुई लेनको छ किलोमिटर गरी ६८ किलोमिटर कालोपत्रे भईसकेको उहाँले बताउनुभयो ।  

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दुरीमा ७१ प्रतिशत भौतिक प्रगति भएको पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्र गतिमा अगाडि बढेको छ । 

कालोपत्र गरिएको ६८ किलोमिटर मध्ये २० किलोमिटर सडकमा डबल लेयर (अन्तिम कालोपत्र) सकिएको छ । बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप चार सेन्टिमिटर थप्ने कार्य धमाधम गरिएको छ । पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ । पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्रको कामलाई अगाडि बढाइएको छ । 

दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्र विन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम भईरहेको छ । यो खण्डमा १४ साना पुल निर्माण सकिएका छन् । 

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम  ५० प्रतिशत पुरा भएको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।