प्रायः मानिसले ‘थर्ड वर्ल्ड’ वा तेस्रो विश्व शब्दावली प्रयोग गरेको हामीले सुन्छौँ वा पढ्छौँ । जुन शब्दले विश्वको गरिब वा विकासशील देशलाई जनाउने गरिन्छ ।
यसविपरीत अमेरिका तथा पश्चिम युरोपली देशलगायतका धनी देशहरूलाई ‘फस्र्ट वल्र्ड’ अर्थात् प्रथम विश्व भनिन्छ । प्रश्न उठ्छ आर्थिक अवस्था र समृद्धिका आधारमा विश्वका देशलाई यसरी फरक शब्दावली प्रयोग गरेर छुट्याउने काम कसले र कहिले गरेको होला ? हामीले कहिलेकाहीँ ‘सेकेन्ड वल्र्ड’ शब्दावलीसमेत सुन्ने गरेका छौँ ।
शीतयुद्धमा भूमिका खेल्ने देशहरूलाई चित्रण गर्नका लागि २०औँ शताब्दीको मध्यमा भूराजनीतिका ‘तीन विश्व’ शब्दावली सर्वप्रथम प्रयोगमा आएका थिए । यस अवधारणाको उद्गम स्पष्ट छैन तर इतिहासकारहरूले प्रायः यसको श्रेय फ्रान्सेली जनसाङ्ख्यिकीविद् अल्फ्रेड सावीलाई दिन्छन् । उनले सन् १९५२ मा आफूले लेखेको लेख ‘थ्री वल्र्डस्, वन प्लानेट’ मा ‘थर्ड वल्र्ड’ शब्दावली प्रयोग गरेका थिए । यस मूल सन्दर्भमा प्रथम विश्वमा अमेरिका र उसका पुँजीपति सहयोगी राष्ट्र जस्तै पश्चिम युरोप, जापान र अस्ट्रेलिया समावेश गरिए ।
दोस्रो विश्वमा साम्यवादी सोभियत सङ्घ र उसका सहयोगी पूर्वी युरोपेली राष्ट्रलाई चिनियो । यसै गरी शीतयुद्धकालमा पहिलो र दोस्रो विश्वका गुटमध्ये कसैमा पनि सक्रिय रूपमा समावेश नभएकाहरूलाई तेस्रो विश्व भनियो । युरोपेलीहरूका निर्धन पूर्वउपनिवेश तथा अफ्रिका, मध्यपूर्व, ल्याटिन अमेरिका र एसियाका लगभग सबै राष्ट्र तेस्रो विश्वमा समावेश गरिए ।
अचेल पनि पश्चिमका शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रलाई कहिलेकाहीँ पहिलो विश्व भन्ने गरिएको छ तर सोभियत सङ्घ विघटनपछि दोस्रो विश्व शब्दावली प्रयोगमा छैन । तेस्रो विश्व शब्दावलीचाहिँ पूर्ववत् प्रयोगमा छ तर यसको अर्थचाहिँ असंलग्नबाट परिवर्तन भएर विकासोन्मुख भएको छ ।
–युवामञ्च