कालीकोट समाचारदाता
कालीकोट, पुस ७ गते । साबिक कर्णालीका गाउँबस्तीका घर धेरै जसो स्थानीय वस्तुले निर्माण भएका छन् । धेरै वर्षअगाडिदेखि यहाँका बस्ती निर्माणमा प्रयोग भएका रैथाने वस्तु अहिले आधुनिकतासँगै बिस्तारै विस्थापित हुँदै छन् । पछिल्लो समय यहाँका घरका काठका छाना विस्थापन गरेर जस्तापाताको प्रयोग बढिरहेको छ । कालीकोटको तिलागुफा नगरपालिकाभित्रका प्रायः बस्तीका घरको छाना काठले छोपिएका थिए ।
तिलागुफा नगरपालिका–३ को फोइमहादेव, कटिङ गरेका ढुङ्गा, सेतो कमेरो माटो वा ढुङ्गे चुनाले पोतेका घरका पर्खाल तथा आँगनमा बिछाइएका ढुङ्गाका ठुला जस्ता (पाट) अनि रातो माटोले घरको दैलो पोत्ने परम्परा अहिले छुट्दै गएका छन् । परम्परागत सिँगार हराउँदै जाँदा गाउँबस्ती बिरानो लाग्न थालेको स्थानीय बताउँछन् ।
फोइमहादेव गाउँका बारेमा यहाँका बुढापाकाको फरक अनुभव छ । बाक्लो हिमपात हुने भएकाले घरको छानामा जमेको हिउँ छिट्टै पग्लियोस् भनेर काठका छाना बनाउने गरिएको रहेछ । स्थानीय ऐनबहादुर शाहीका अनुसार यहाँ ढुङ्गाको ठुला जस्ता जस्तै पणा (पाट) पनि हुन्छन् । यसैमा लामो समय हिमपात हुँदा जम्ने भएकाले काठले छाना छोप्ने गरेको उहाँले सुनाउनुभयो । आगो बाल्दा धुवाँले काठका छानामा जमेको हिउँ छिट्टै पग्लिने र घरलाई पनि भार कम हुने भएकाले घरमा काठको छाना प्रयोग गर्ने गरिएको शाहीको भनाइ छ ।
अर्कोतर्फ खाने नुन लिन राजापुर, नेपालगन्ज, रुपैडिया जाने भएकाले त्यहाँबाट जस्तापाता ल्याएर घरका छाना छोप्ने अवस्था पनि थिएन । अहिले घरका काठका छाना हटाएर निलो रङको छाना मात्र देखिने गरेको छ । काठ जस्तो न्यानो र बलियो जस्तापाता नहुने हुँदा यसमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव उहाँको छ । स्थानीय सरकारले आफ्नो यहाँको पहिचान देखाउने, यहाँ आउने पर्यटकलाई देखाउने नयाँ वस्तुको इतिहास बचाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
स्थानीय युवा जीवन शाहीले गाउँको सुन्दरता जस्तापाताले भन्दा परम्परागत काठ र ढुङ्गाको बनोटले हुने भए पनि जङ्गलको विनाश र दक्ष जनशक्तिको अभावले परम्परा हराउँदै गएको सुनाउनुभयो । स्वास्थ्यकर्मी बासमती शाहीले पहिलेका घरका छाना काठ र ढुङ्गाको हुने भए पनि अहिले जस्ताले रङ्ग्याइएको बताउनुभयो । जस्ताले छाएको भन्दा काठले बनेका, छाना काठका भएका घरमा हिमपात हुँदा पनि न्यानो हुने उहाँको भनाइ छ ।