• ६ पुस २०८१, शनिबार

थुनुवालाई छुटाउने भनेर रकम लिने तीन पक्राउ

blog

थुनुवालाई छुटाउने भनेर रकम लिएपछि पक्राउ परेकाहरु । तस्बिर : जिल्ला प्रहरी कार्यालय

अविनाश चौधरी
धनगढी, पुस ६ गते ।
लागूऔषध मुद्दामा थुनामा रहेका व्यक्तिलाई थुनामुक्त गराइ दिन्छु भनेर रकम लिने तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउँद, २२ वर्षीय रमेश साउँद र १९ वर्षीय हर्क साउँद रहेका छन् । थुनुवाको परिवारबाट लिएको ३९ हजार पाँच सय  भारुसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । धनगढी उपमहानरपालिका–१ बाट लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिका परिवारबाट उनीहरुले रकम लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

थुनुवा मुक्त गर्ने भनेर थुनुवाका परिवारबाट रकम लिनेहरुलाई पक्राउ गरेर सोधपुछ गर्दा बाँकी रकम थुनुवालाई छुटाइसकेपछि लिने भनेर मोलमोलाइ भएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।