• ६ पुस २०८१, शनिबार

विद्यार्थी नपाउँदा विद्यालय बन्द

blog

मुगु समाचारदाता 

मुगु, पुस ६ गते । जिल्लामा केही वर्षअघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेमा चाँडो रोजगारी पाइन्छ भन्ने मान्यता थियो तर हिजोआज प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल भएपछि जिल्लामा  प्राविधिक विद्यालय धमाधम बन्द हुन थालेका छन् ।

शिक्षा समन्वय एकाइ मुगुको अनुसार जिल्लाको छायानाथ रारा नगरपालिका, सोरू गाउँपालिका, खत्याड गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकाका गरी जम्मा नौ वटा माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापन गर्ने भनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुर्खेतबाट अनुमति लिएको तथ्याङ्कमा उल्लेख रहेको छ । चार वटै स्थानीय तहका धैरै जसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण नहुँदा धेरै जसो विद्यालय बन्द भएको समन्वय शिक्षा एकाइ मुगुका सूचना अधिकारी खड्कराज भ्यालले जानकारी दिनुभयो । 

जिल्लाको छायानाथ रारा नगरपालिका–७ स्थित श्री कर्णाली माध्यमिक विद्यालय टोप्लाका प्रधानाध्यापक चन्द्रबहादुर बडुवालका अनुसार कृषि विज्ञान पढ्ने विद्यार्थी नपाउँदा अहिले यो विद्यालय बन्द छ । उहाँले भन्नुभयो, “विद्यार्थीको पढाइ शुल्कले शिक्षकलाई पारिश्रमिक दिन नसकेर छ वर्षयता बन्द रहेको छ ।”  हिमाली जिल्लाका विद्यालयमा प्राविधिक शिक्षालय दीर्घकालसम्म सञ्चालन आउनलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले शिक्षकको  व्यवस्थापनमा अनुदान दिनुपर्ने उहाँको अनुभव रहेको छ ।

विद्यालयमा विद्यार्थी आकर्षण गर्नका लागि प्राविधिकतर्फ चाहिने पुस्तकालय, कम्प्युटर, ल्याब तथा प्रविधियुक्त सुविधासम्पन्न प्रयोगशाला, सर्भे क्याम्प, शैक्षिक भ्रमण तथा अवलोकनका माध्यमबाट सम्बन्धित स्थानमै पुगेर प्रयोगात्मक शैलीको अध्ययनलाई विशेष जोड दिइएको छ ।