सल्यान समाचारदाता
सल्यान, पुस ६ गते । भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक पूर्वाधारको पुनर्निर्माण तथा पुनस्र्थापना गर्ने उद्देश्यले सल्यानको दार्मा गाउँपालिकामा ‘भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक पूर्वाधारको पुनर्लाभ परियोजना’ सञ्चालनमा आएको छ । जाजरकोटलाई केन्द्र बनाएर गत वर्ष कात्तिक १७ गते गएको भूकम्पका कारण क्षति भएका संरचनाको यस परियोजनाबाट निर्माण कार्य थालनी गरिएको छ ।
पुनर्लाभको काम सुरु भएसँगै रोजगारीका अवसर सिर्जना भएको छ । दार्मा गाउँपालिका–२ का पीताम्बर शर्माले भूकम्प प्रभावित संरचनाको निर्माण सुरुवातसँगै रोजगारी पाएको बताउनुभयो । भूकम्पबाट दार्मा गाउँपालिकामा चार हजार ८० सर्वसाधारणको घरमा क्षति पुगेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसमबहादुर वलीले भूकम्पवाट ३६ विद्यालय, नौ स्वास्थ्य संस्था, दुई वडा कार्यालय, १२ खानेपानी, सिँचाइ र सडक गरी ५९ वटा सार्वजनिक संरचनामा आंशिक क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार सरकारले पर्याप्त बजेट विनियोजन नभएकाले अहिलेसम्म क्षति भएका १६ सार्वजनिक संरचना मात्रै पुनर्निर्माणको काम भइरहेको र दुई प्रक्रियामा रहेका छन् ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय जाजरकोटले तीन करोड रुपियाँ विनियोजन गरेर वडा नं. १ दार्माकोटस्थित स्वास्थ्यचौकी, वडा नम्बर ५ काँगुनोहाल्नस्थित स्वास्थ्य एकाइ केन्द्र भवन निर्माण प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास कार्यालय सल्यानले भने भूकम्प प्रभावित संरचना निर्माणका लागि आएको तीन करोड बजेटमध्ये एक करोड ५० लाखबाट अन्धनाशक आधारभूत विद्यालय ढाकाडाम र कालिका आधारभूत विद्यालय निर्माणको प्रक्रिया अघि बढाएको छ । विश्व खाद्य कार्यक्रमले पूर्ण लाभ परियोजना सञ्चालन गरी विनियोजन गरेको झन्डै आठ करोड बजेटबाट चार सिँचाइ कुलो, पाँच खानेपानी, दुई सडक, एक विद्यालय, एक वडा कार्यालय, एक पदमार्ग गरी १४ योजना निर्माण भइरहेका छन् ।
दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले विश्व खाद्य कार्यक्रमले श्रममा आधारित, रोजगारी सिर्जना गर्न सक्ने र क्षतिग्रस्त संरचनालाई प्राथमिकतामा राखेर भूकम्पबाट क्षतिग्रस्त संरचना निर्माणको काम गरिरहेको बताउनुभयो । दार्मा गाउँपालिका–२ का वडाध्यक्ष सार्कु खत्रीले पालिकामा सूचीकृत बेरोजगार व्यक्तिलाई पुनर्लाभ कार्यक्रममा सहभागी गरिएको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमको नेतृत्वमा बेलायत सरकार (बेलायती राजदूतावास काठमाडौँ) को आर्थिक सहयोगमा २०८१ वैशाखदेखि सुरु भएको परियोजना २०८१ चैतसम्म सञ्चालन हुने छ । यो परियोजनाले भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माण मात्र नभई दिगो विकासका लागि रोजगारीका अवसर सिर्जना गर्दै स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य राखेको छ ।