• ५ पुस २०८१, शुक्रबार

१० औं राष्ट्रिय खेलकुद : खेलाडी दर्ता पुस ९ गतेसम्म

blog

प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीबारे जानकारी दिनुहुँदै । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

कास्की, पुस ५ गते । गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुस ९ गतेसम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ । १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषद्ले बोलाएको प्रारम्भिक छलफलमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उक्त जानकारी दिनुहुँदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरु सहभागL बन्न नपाउने बताउनुभयो ।

“१० औं राष्ट्रिय खेलकुदको निर्देशिका अन्तिम निर्माणको तयारीमा छ । पुस ९ गते सम्म आ–आफ्ना जिल्ला खेलकुद विकास समितिमार्फत दर्ताका लागि हामीले आह्वान गरेका छौं । दर्ता नभएका खेलाडीहरु आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने छैनन्,” उहाँले भन्नुभयो ।

यसैगरी दर्ता र नवीकरण नभएका खेल सङ्घहरुलाई आगमी चैत २० गतेसम्म नवीकरण र दर्ताका लागि आह्वान गरेको छ । चैत २० गतेसम्म दर्ता र नवीकरण नगर्ने खेल सङ्घहरुलाई दर्ता रद्द गर्ने जनाउँदै बैठकमा सदस्य सचिव शर्माले दर्ता खारेज हुने खेल सङ्घहरुलाई लेटर प्याड र छाप प्रयोगमा समेत रोक लगाइने बताउनुभएको छ ।

खेल सङ्घका पदाधिकारीहरुको छलफलमा १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि खेल सामग्रीहरुको समुचित वितरण, खेल प्रशिक्षकहरुको नियुक्ति, खेल मैदानहरुको सुधारलगायतका विषयमा आफ्ना धारणा राखेका थिए । उनीहरुले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्राप्त गरेको शाखलाई गुम्न नदिन परिषदले योजनाबद्ध रुपमा आफ्ना कार्यक्रमहरु तय गर्नुपर्ने सुझाव दिए ।

१९ औं एसियाली खेलकुदमा नेपालको झण्डा अन्तर्राष्ट्रिय ऐरिनामा फहराउन सफल खेल प्याराग्लाइडिङलाई समेत १० औं राष्ट्रिय खेलकुदमा समावेश गर्न जोड दिइएको छ । सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङले  ११ वटै जिल्लामा खेल सङ्घहरुको विस्तार गर्दै पालिकास्तरमा समेत खेलका गतिविधि बढाउन खेल सङ्घहरुलाई आग्रह गर्नुभयो ।

कार्यकारी सदस्य दिलबहादुर गुरुङले १० औं राष्ट्रिय खेलकुदमा प्राप्त शाखलाई जोगाउन सबै खेल सङ्घले ध्यान केन्द्रित गर्न आग्रह गर्दै खेल सङ्घहरुको समस्या समाधान गर्न परिषद् सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।