• ५ पुस २०८१, शुक्रबार

अवैध गतिविधि गर्नेलाई कारबाही

blog

नवलपरासी समाचारदाता

कावासोती,  पुस ५ गते ।  चितवन राष्ट्रिय निकुञ्जमा मङ्सिर महिनामा मात्रै दुई वटा गैँडा र एउटा बाघको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मङ्सिर महिनामा मात्रै दुई गैँडा र एउटा छ वर्षको वयस्क बाघको मृत्यु भएको हो । थापाका अनुसार मङ्सिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वनको क्षेत्रभित्र नारायणी नदीमा ३१ वर्षको पोथी गैँडा पानीमा डुबेर र मङ्सिर १३ गते राष्ट्रिय निकुञ्जको धुर्वे पोस्टनजिक करिब ३५ वर्षको पोथी गैँडा कालगतिले मरेको पाइएको छ । 

त्यसै गरी मङ्सिर १६ गते अमलटारी सेक्टर अन्तर्गत नन्दपुर घाटमा एकापसमा बाघको जुधाइमा अन्दाजी छ वर्षको बाघको मृत्यु भएको सूचना अधिकारी थापाले बताउनुभयो । योसँगै चालु आवमा मृत्यु हुने गैँडाको सङ्ख्या १२ पुगेको छ । यसैबिच निकुञ्जले एउटा बिरामी गैँडालाई उपचार गरेर पुनः जङ्गलमा फर्काएको छ । सूचना अधिकारी थापाले मङ्सिर २७ गते चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, नयाँ गोरख गण र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिकसहितको संयुक्त टोलीले कसरा सेक्टर अन्तर्गतको लामी तालनजिक एउटा घाइते गैँडालाई उपचार गरेर पुनः जङ्गलमै छाडिदिएको छ । 

सूचना अधिकारी थापाका अनुसार गत कात्तिक १३ गतेपछि मात्रै गैँडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कात्तिक १३ गतेदेखि मङ्सिर मसान्तसम्म अवैध गतिविधि नियन्त्रण कार्य अन्तर्गत बाघसँग सम्बन्धित कसुर गर्ने एक जना, अनुमतिबिना बँदेल पाल्ने दुई जना, बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस, दाउरा काट्ने ३० जनालाई नियन्त्रणमा लिइएको छ । त्यसै गरी माछा मार्ने २३ जना, परेवा मार्ने एक जना र बिनाअनुमति निकुञ्ज प्रवेश गरी निउरो टिप्ने आठ जना गरी ६५ जनालाई नियन्त्रणमा लिई नियमानुसार कारबाही गरिएको सूचना अधिकारी थापाले बताउनुभयो ।

यसै गरी वन्यजन्तुबाट हुने क्षतिको राहत अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ को श्रावणदेखि मङ्सिर मसान्तसम्म सत्ताइस लाख अठासी हजार नौ सय बयानब्बे रुपियाँ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका वन्यजन्तुबाट प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिएको छ । 

यसैबिच राससका अनुसार चितवन राष्ट्रिय निकुञ्जले घडियाल प्रजनन केन्द्र कसरामा हुर्काएका ४१ घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छोडेको छ । पाँच वर्षमाथिका घडियाललाई विभिन्न पटक गरी ४० पोथी र एक भाले राप्ती नदीमा लगेर छाडिएको निकुञ्जले जनाएको छ । 

 निकुञ्जले वन्यजन्तुको संरक्षण र चोरीसिकारी नियन्त्रणका लागि विभिन्न समयमा स्थानीयसँगको सहकार्यमा बैठक बस्ने तथा कार्ययोजना बनाएर काम गर्ने गरेको पनि जनाएको छ । यसैबिच निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु. १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ । निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार ७३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा ३२ हजार ८८० नेपाली तथा पाँच हजार ८५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । 

निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत पाँच महिनाको अवधिमा रु. १० करोड ६७ लाख एक हजार नौ सय राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या धेरै देखिएको जनाउँदै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । निकुञ्जको पश्चिम सेक्टर नवलपुर क्षेत्रमा गैँडाको सङ्ख्या धेरै पाइएकाले नारायणी नदीमा आउने बाढीले गैँडालाई बगाएर भारततर्फ लैजान सक्ने भएकाले गैँडा संरक्षणका लागि स्थानान्तरण आवश्यक भएको उहाँको भनाइ छ । 

गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त, राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणका गणपति, डिभिजनल वन अधिकृत, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्षहरू, पर्यटन समितिका पदाधिकारी साथै व्यवसायी, स्थानीय तहका प्रतिनिधिसहित सरोकारवालाको उपस्थितिमा गैँडाको आन्तरिक स्थानान्तरणका लागि पूर्वतयारी छलफल तथा अन्तर्क्रिया गरिएको अधिकृत थापामगरले बताउनुभयो ।