• ५ पुस २०८१, शुक्रबार

भूकम्पपीडित पुनर्निर्माणको आसमा

blog

भूकम्पले घर भत्किएर सुनसान बनेको सदरमुकाम खलङ्गास्थित पिपलडाँडा । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, पुस ५ गते । गत वर्षको कात्तिक १७ गतेको भूकम्पले घर क्षतिग्रस्त भएका सर्वसाधारणले नयाँ घर बनाउन पाएका छैनन् । उनीहरूले पुनर्निर्माणका लागि रकम पनि पाउन सकेका छैनन् । जाजकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त निजी आवास बनाउन नसकेपछि पीडित समस्यामा परेका हुन् । 

भूकम्पले ढलेका घर बनाउन पुनर्निर्माण पर्खिबसेका पीडित अवस्था बिजोग भएको छ । भूकम्प गएको १३ महिना बिते पनि आवास बनाउन नसकेपछि चिसो मौसममा जस्ताको छानामुनि बस्नु परेको छ । श्रम रोजगारीबाट जीविकोपार्जन गरेका पीडितले सरकारबाट रकम आउला र घर बनाउँला भनी पर्खिबसेपछि निराश छन् । ज्याला मजदुरी गरेर गाँस, बासको गर्जो टारेका उनीहरू सरकारले दिने रकम नपाउँदा घर बनाउनसमेत सकेका छैनन् । 

भेरी नरपालिका–३ का तेजविक्रम शाहले पाँच वटा घर भूकम्पले भत्किएपछि अहिले जस्ताको टहरामा बस्नु परेको बताउनुभयो । सरकारले पुनर्निर्माणको कामलाई अघि नबढाउँदा निजी लगानीबाट बनाउन नसक्ने अवस्था भएकाले घर भएको स्थान भग्नावशेषमा परिणत छन् । भूकम्पपीडित सन्तोष शाहले सरकारबाट रकम पाउला र घर बनाउँला भनेर कुर्दाकुर्दै एक वर्ष नाघेको उल्लेख गर्दै गर्नुभयो । उहाँले यस वर्षको चिसो पनि जस्तामुनि बिताउनुपर्ने भयो भन्दै दुःखेसो व्यक्त गर्नुभयो । 

भेरी नगरपालिका–३, पिपलडाँडाका सबै घर भूकम्पले भत्किएपछि पीडित अस्थायी टहरामा बास बस्न बाध्य भएका छन् । अस्थायी आवासका लागि सरकारले दिएको दोस्रो किस्ता नपाउँदा टहरा निर्माण गरेको रकम तिर्न मुस्किल भएको छ । भेरी नगरपालिका–५ की रोशनाकुमारी सिंहले जति न्यानो कपडा भए पनि जस्ताको छानामुनि चिसो हुने बताउनुभयो । धेरै चिसो भएपछि चर्किएको घरमै फर्कनु परेको उहाँको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीका अनुसार बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुसे गाउँपालिकामा दोस्रो किस्ताको रकम स्थानीय विपत् व्यवस्थापन कोषमा जम्मा गरिएको छ । नलगाड नगरपालिकालगायत अन्य पालिकाबाट दोस्रो किस्ताको रकम माग भएकाले केही दिनभित्र रकम पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । स्थानीय तहले भूकम्पबाट चर्किएका घर भत्काएपछि दोस्रो किस्ताको रकम दिने निर्णय गरेपछि पीडित बिचल्लीमा परेका छन् । सरकारले पुनर्निर्माणको काम अघि नबढाउँदा ज्याला मजदुरीबाट छाक टारेका पीडित आगो तापेर रात बिताउन बाध्य छन् ।