• ५ पुस २०८१, शुक्रबार

थानकोट–चित्लाङ सडक एक महिना बन्द

blog

मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको निर्माणाधीन मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) । तस्बिर: गोरखापत्र

राममणि दाहाल

हेटौँडा, पुस ५ गते । मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) एक महिनाका लागि बन्द हुने भएको छ । सडक सुधार कार्यको लागि थानकोट–चित्लाङ सडक लामो समय बन्द गर्न लागेको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौँले एक सार्वजनिक सूचना जारी गर्दै थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रगिरिभञ्ज्याङ खण्ड पुस ७ गते आइतबारदेखि आगामी माघ ६ गतेसम्म पूर्ण रूपमा आवागमन बन्द हुने जनाएको छ ।

यसअघि कार्यालयले सडक बन्द गर्ने बारेमा परामर्श बैठकसमेत गरेको थियो । तर उपयुक्त विकल्प नदिई सडक बन्द गरिएको भन्दै उक्त बैठक औपचारिकताका लागि मात्र गरेको आरोप लगाइएको छ ।

सडक डिभिजन काठमाडौँले सडक पूर्ण रूपमा बन्द हुने अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न भनेको छ ।सडक पूर्ण रूपमा बन्द गरिँदा आवतजावतमा समस्या हुने भन्दै स्थानीयले आपत्ति जनाएका छन् । यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक पनि बन्द हुने भएको छ । 

कालोपत्रेको कामका लागि सडक बन्द गरिने भएपछि उक्त मार्ग भएर सञ्चालन हुँदै आएका सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौँडा अन्तर्गत स्तरोन्नति भइरहेको कुलेखानी–सिस्नेरी–छैमला–दक्षिणकाली सडकको दक्षिणकाली–छैमला सडक खण्डमा कालोपत्रेको काम तोकिएको समयमा पूरा नभएपछि कामलाई निरन्तरता दिन वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो । 

दक्षिणकाली नगरपालिकाले उक्त सडक खण्डको गत मङ्सिर १३ गतेदेखि २९ गतेसम्म सवारी आवागमन रोकी कालोपत्रे गर्ने कार्य भइरहेकोमा सो अवधिमा कालोपत्रेको सम्पन्न नभएकोले थप समय आवश्यक भएको भन्दै यही पुस ११ गतेसम्म वैकल्पिक मार्ग प्रयोगमा सरोकारवालाहरूलाई सहजीकरण गरिदिन आग्रह गरेको छ । 

उक्त सडक खण्डमा गुड्ने अत्यावश्यक बाहेकका सवारी साधनलाई वैकल्पिक मार्गमा डाइभर्सन गराई सडक कालोपत्रे कार्यमा आवश्यक सहजीकरण गरिदिन नगरपालिकाले भनेको छ । कुलेखानी–सिस्नेरी–छैमला–दक्षिणकाली सडकको विभिन्न खण्डमा कालोपत्रेसहित स्तरोन्नतिका क्रममा पटक पटक बन्द हुँदै आएको छ ।