गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ५ गते । वैदेशिक रोजगारीबाट फर्किएका महिला विदेशमा आर्जेको पुँजी, ज्ञान, सिपलाई स्वदेशमा लगानी गरेर आत्मनिर्भर हुन चाहन्छन् तर देशमा त्यो खालको वातावरण नहुँदा कतिपय दोहोर्याएर पुनः विदेश जान्छन् भने कोही काम गर्ने हुटहुटी हुँदाहुँदै पनि कता के गर्ने भन्ने ज्ञान नहुँदा त्यत्तिकै खुम्चिएर बस्न बाध्य हुन्छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा वैदेशिक रोजगारीबाट फर्किएका महिलाको संस्था पौरखी नेपालले बिहीबार राजधानीमा आयोजना गरेको श्रमिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा सहभागी मिङ्मा लामाले वैदेशिक रोजगारीका क्रममा लेबनान, साउदी अरब र जर्मनीमा गरी १२ वर्षसम्म काम गरेर फर्केको चार/पाँच वर्ष भएको र रेस्टुरेन्टमा काम गर्ने राम्रै अनुभव हुँदाहुँदै बजारबारे जानकारी नहुँदा त्यत्तिकै बस्नु परेको बताउनुभयो ।
हाल भने उहाँले पौरखी नेपालमा वित्तीय साक्षरता तालिम लिएर मासुको आचार बनाएर बजारमा पठाउन थाल्नुभएको छ । उहाँसँग हाल पर्याप्त पुँजी छैन तर पनि आफूले उत्पादन गरेको अचारको माग बजारमा राम्रो भएकाले आफूमा काम गर्ने आँट बढेको छ । उहाँले तयार पारेको अचारको माग विदेशबाट पनि हुन थालेको छ । त्यसैले उहाँ भर्खर उद्योग दर्ता गरेर चलाउन लाग्नुभएको छ ।
उहाँ जस्तै सिर्जना राना पनि लेबनानमा १० वर्षसम्म घरेलु श्रमिकका रूपमा काम गरेर फर्केर पाँचरछ वर्ष त्यत्तिकै बस्नुभयो । दुई वर्षअघि वित्तीय साक्षरता तालिम लिएपछि खाद्यवस्तु उत्पादन गरेर बजार पठाउन थाल्नुभयो । विदेशमा कमाएको थोरै पुँजी लगानी गरेर सुरु गरेको उहाँको व्यवसायबाट लगानी अनुसारको आम्दानी भएकाले सन्तुष्ट हुनुहुन्छ ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बन्न चाहनेलाई सरकारले नीतिगत रूपमा सहुलियत ऋणको व्यवस्था गरे पनि त्यो आफू जस्ता महिलाको पहुँचमा नभएको सिर्जनाले बताउनुभयो ।
पौरखीमा रहेर स्वरोजगार उद्यमी महिलासँग काम गर्दै आएका सुवास खत्रीले वैदेशिक रोजगारीमा जुनसुकै काम गरेर फर्किएका भए पनि उनीहरूले स्वदेशमै केही गर्नु पर्छ भन्ने संस्कार सिकेर आएको आफूले पाएको अनुभव सुनाउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएर स्वरोजगार उद्यमी बनेका महिलालाई उद्योग दर्तामै धेरै समस्या झेल्नु परेको, थोरै पुँजी लगानी गरेर खोलिएका उद्योग दर्ताका लागि ठुलो परिणामको खर्च हुने गरेको, उनीहरूको उत्पादनले बजारमा प्राथमिकता नपाउनेलगायतका थुप्रै समस्या छन् ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकले आर्जेको सिप, पुँजी र प्रविधिलाई एकीकृत रूपमा सञ्चालन नगरेसम्म देशको विकास सम्भव नहुने बताउनुभयो ।