लमजुङ, पुस ३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लालाई यो वर्ष पूरै सूचना प्रविधि मैत्री बनाउने बताउनु भएको छ । नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुवाती थलोको रुपमा आफ्नै गृह जिल्ला लमजुङबाट सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
लमजुङको मालिङमा बिहीबार क्व्होलासोथार गाउँपालिकाको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको नव निर्मित भवन उद्घाटन पछि बोल्दै गुरुङले लमजुङका प्रत्येक घर घरमा इन्टरनेट र टेलिफोन सेवा पुराउने बताउनुभयो ।
सञ्चार मन्त्रालयले देशैभरी इन्टरनेट कनेक्सन र टेलिफोन विस्तार गर्ने अभियानमा छ । यसै सन्दर्भमा यो वर्ष लमजुङ जिल्लामा पुरै प्रविधि मैत्री बनाउन इन्टरनेट तथा टेलिफोन सुविधा विस्तार गर्न लागिएको मन्त्री गुरुङले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “छिट्टै नेपाल टेलिकमका कर्मचारी आएर यहाँको टेलिफोन नेटवर्कको सर्वे गर्छन्”, उहाँले भन्नुभयो,“अब लमजुङका सबै घरमा इन्टरनेट र टेलिफोन सेवा सुचारु हुन्छ ।” उहाँले इन्टरनेट र टेलिफोन विस्तार पछि सरकारी कार्यालयमा सूचना प्रविधिमार्फत सेवा प्रदान गरेर आधुनिक प्रशासन प्रणालीमा जोड दिन लागिएको समेत जानकारी गराउनुभयो । अहिलेको समय आइटीको समय भएकाले विद्यालय शिक्षा प्रविधियुक्त बनाउन लमजुङका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब उपलब्ध गराउने समेत बताउनुभयो । मन्त्री गुरुङको सचिवालयका अनुसार, हालसम्म १० सामुदायिक विद्यालयमा १०-१० थान कम्प्युटर उपलब्ध गराइसकेको समेत उहाँले सुनाउनुभयो ।