नेपालगन्ज समाचारदाता
नेपालगन्ज, पुस ४ गते । नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । पाँच महिनाअघिबाट मात्र कर्निया सर्जरी सुरु भएको सो अस्पतालमा मङ्सिर मसान्तसम्म १५६ जनाको आँखाको नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठले बताउनु भयो ।
यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेबाल आँखा अस्पतालमा डा. श्रेष्ठले यो सेवाको सुरुवात गर्नुभएको हो । उहाँका अनुसार सानो समयमै यस क्षेत्रका र भारतका धेरै जनाको आँखाको नानी प्रत्यारोपण गर्न सकिएको जनाउँदै यहाँ कर्निया सर्जरी सुरु गरिएपछि बिरामीलाई सहज भएको छ ।
आँखाको प्रकृति अनुसार २२ हजारदेखि ३३ हजार रुपियाँसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको फत्तेबाल आँखा अस्पतालले जनाएको छ । १० देखि ८० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएकोसमेत जानकारी अस्पतालका कर्निया विशेषज्ञ डा. श्रेष्ठले बताउनुभयो । प्रत्यारोपण भने जुनसुकै उमेर समूहका व्यक्तिमा पनि गर्न सकिने उहाँले बताउनुभयो ।
काठमाडौँस्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा मात्र ‘आई बैङ्क’ सञ्चालनमा रहेका कारण तिलगङ्गा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण सेवा प्रदान भइरहेको जनाइएको छ । फत्तेबाल आँखा अस्पतालमा आँखाको उपचारका लागि भारतका विभिन्न स्थानबाट दैनिक ठुलो सङ्ख्यामा उपचारका लागि आउने गरेका अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिकले बताउनुभयो ।
उहाँले सो अस्पतालले बाँकेलगायत विभिन्न जिल्लाका पालिकामै पुगेर निःशुल्क आँखा उपचार शिविर आयोजना गरी आँखा परीक्षण तथा उपचार गर्दै आएको बताउनुभयो ।