• ४ पुस २०८१, बिहिबार

चाक्लीघाटमा पुग्यो सञ्चार

blog

घोराही समाचारदाता

घोराही, पुस ४ गते । घोराही उपमहानगरपालिकाको विकट बस्तीका रूपमा रहेको चाक्लीघाटमा सञ्चार सेवा विस्तार भएको छ । घोराही उपमहानगरपालिका–२ स्थित चाक्लीघाट क्षेत्रमा मोबाइल सेवा (टावर) सञ्चालनमा आएको छ ।

नेपाल टेलिकम र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा वडा नम्बर २ को झुलेडाँडामा टावर स्थापना गरेपछि चाक्लीघाट क्षेत्रमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा सुरु भएको हो । घोराही–लमही सडकखण्डको बेलदमारदेखि उत्तरपूर्वमा पर्ने चाक्लीघाट क्षेत्रमा फोन सेवा भरपर्दो नहुँदा नागरिकले सञ्चार सेवा उपभोग गर्न निकै समस्या हुने गरेको थियो ।

नेपाल टेलिकमको ५० लाख र घोराही उपमहानगरपालिकाको १५ लाख रुपियाँ लगानी गरेर झुलेडाँडामा टावर स्थापना गरेपछि सञ्चारको सहजता भएको घोराही उपमहानगरपालिका–२, चाक्लीघाटका स्थानीय वीरबहादुर वलीले स्थानीय सरकार घोराही उपमहानगरपालिका र नेपाल टेलिकमले फोन सेवा सञ्चालन गरेर स्थानीयलाई सहज भएको बताउनुभयो । पहिले फोन गर्नका लागि जङ्गलमा अग्लो स्थानमा उक्लनुपर्ने रहेकोमा टावर सञ्चालनसँगै त्यो बाध्यता हटेको बताउनुभयो । कार्यव्रmममा घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले भूगोलका कारण अनेक समस्या भए पनि त्यसलाई पार लगाउँदै सञ्चार सेवा प्रयोगमा नागरिकलाई जोड्न सफल भएको बताउनुभयो ।

 चाक्लीघाटबाट झुलेडाँडामा विद्युत् विस्तारका लागि घोराही उपमहानगरपालिकाले १५ लाख रुपियाँ खर्च गरेको बताउनुभयो । विकट चाक्लीघाटलाई सुगमसँग जोड्न स्थानीय सरकारले अब बाटो तथा पुललाई प्राथमिकतामा राखेको बताउनुभयो । 

नेपाल टेलिकम काठमाडौँका वरिष्ठ अधिकृत केशवराज देवकोटाले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसँग समन्वय गरेर चाक्लीघाटका स्थानीयलाई सञ्चार सेवामा जोड्नका लागि पहिलादेखि नै पहल गर्दै आएको बताउनुभयो । नेपाल टेलिकम राष्ट्र निर्माणको अभियानमा रहेको चर्चा गर्दै उहाँले आफूहरूको जिम्मेवारी अनुसार स्थानीय सरकारसँग मिलेर चाक्लीघाटका जनतालाई सञ्चारको पहुँचमा जोड्न सफल भएको बताउनुभयो । कार्यव्रmममा नेपाल टेलिकम घोराहीका प्रमुख सुरेशकुमार शर्माले चाक्लीघाटमा फोन सेवासँगै स्थानीयलाई  नमस्तेको प्रिपेड सिम निःशुल्क वितरण गरिएको बताउनुभएको छ ।